coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुद्धले पोखराबाट नेपालगन्ज, विराटनगर र सिमरा उडान गर्ने

नजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडान थाल्ने तयारी गरेको छ। वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्धले बताएको छ। आन्तरिक र भारतीय पर्यटकलाई लक्ष्य गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ।  

बुद्ध एयरका निर्देशक रूपेश जोशीका अनुसार पोखराबाट नेपालगन्ज, विराटनगर र सिमरा रुटमा उडान गर्ने तयारी हो। कम्पनीले भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगर रुटमा पनि उडान सुरु गर्ने जनाएको छ। ‘वैशाख १८ गतदेखि हामीले ‘क्रस सिटी’ उडान गर्न थालेका छौं। यसले आन्तरिक पर्यटकको आउजाउमा सघाउ पुग्नेछ,’ जोशीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने।  

जोशीका अनुसार सुरुमा १८ सिट क्षमताका बिचक्राफ्ट १९००डी सिरिजका जहाजबाट यी रुटमा उडान हुनेछ। सातामा तीन दिनका दरले उडान हुने र यात्रुको माग बढ्दै गए सातै दिन उडान गर्न सकिने उनले बताए। यात्रु बढेको खण्डमा ठूलो आकारको जहाजबाट पनि उडान गर्न सकिने उनले बताए। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन लागेकोले पोखरालाई आधार बनाएर उडान गर्न थालेको उनले बताए।  

बुद्धले अहिले पोखरा–काठमाडौं दैनिक १० वटासम्म उडान गरिरहेको छ। पोखराबाट भैरहवा दैनिक उडान छ। पोखराबाट नेपालगन्ज र सिमरा रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ। पोखरा–विराटनगर सोमबार, बिहीबार र शनिबार उडान हुनेछ। पोखरा–नेपालगन्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय तथा भरतपुर–भैरहवा २५ सय रूपैयाँ भाडा पर्नेछ।  

पोखरा–नेपालगन्जमा अहिले सीता एयरको चार्टर उडान मात्र छ। बुद्धले पोखरा–नेपालगन्जमा उडान गर्दा यात्रुलाई सहज हुने उनले बताए। ‘नेपालगन्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई काठमाडौं र पोखरा पुग्न सहज हुनेछ,’ उनले भने। पोखरा–विराटनगर र पोखरा–सिमराबाट पनि भारतीय पर्यटकको अपेक्षा गरेको उनले बताए। बुद्धले एक वर्षअघि नै पोखराबाट विराटनगर उडान सुरु गरेकोमा कोरोना संक्रमण बढेपछि रोकेको थियो। पोखराबाट जोमसोम तथा काठमाडौंबाट लुक्ला लगायत रुटमा उडान योजना बनाएको बुद्धले कोरोना संक्रमणका कारण उडान थाल्न नसकेको उनले बताए।

प्रकाशित: ७ वैशाख २०७८ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App