coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

४८ करोड रूपैयाँ हिमाली दस्तुर संकलन

यो वर्ष सरकारले हिमाल आरोहण अनुमतिबापत ४८ करोड ७७ लाख रूपैयाँ सलामी दस्तुर संकलन गरेको छ।पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहण अनुमतिबाट ४८ करोड ७७ लाख २३ हजार आठ सय ९४ रूपैयाँ दस्तुर संकलन भएको हो। सरकारले आरोहणका लागि खुला गरेको हिमाल चढ्न हालसम्म ७३ समूहका ६ सय ५४ जनाले अनुमति पाएका छन्।

आरोहण दलका सदस्यमा पाँच सय ६ जना पुरुष र एक सय ४८ जना महिला छन्। यो मुख्यतः सगरमाथा आरोहणको सिजन हो। हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका तीन सय ६६ जनाले अनुमति पाएका छन्। सगरमाथा आरोहणको तयारीमा दुई सय ७९ जना पुरुष र ८७ जना महिला छन्।

त्यस्तै, आठ हजार मिटरमाथिका मनास्लु, अन्नपूर्ण, धौलागिरि, लोत्से आरोहणमा समेत आरोहीको संख्या उत्साहजनक देखिएको छ। हालसम्म मनास्लु आरोहण गर्ने एकजना मात्रै आरोही देखिएका छन्। विभागका अनुसार अन्नपूर्ण आरोहण गर्न चार समूहका ४४ जनाले अनुमति लिएका छन्। जसमा ३६ पुरुष र आठजना महिला रहेको तथ्यांकमा उल्लेख छ।

धौलागिरि आरोहण गर्न चार समूहका ३० जना, लोत्से आरोहण गर्न ११ समूहका एक सय चारजना र मकालु आरोेहण गर्न दुई समूहका २० जना तयार देखिएका छन्। विभागका अनुसार नुत्से आरोहण गर्न तीन समूहका २३ जना, पुमोरीमा एक समूहका पाँचजना, तिलिचोमा एक समूहका आठजना र टुकुचेमा एकजनाले अनुमति पाएका हुन्। त्यस्तै, टेङ्गोचे चढ्न दुईजना, अमादब्लम चढ्न दुई समूहका २७ जना, बरुण चढ्न १२ जना, हिमलुङ चढ्न सातजना, मुस्ताङ चढ्न दुईजना र श्रीबुङ चढ्न दुई जनाले अनुमति पाएका छन्।

यसपटक गौगिरी, हिमलुङ, लाङटाङ, लुबुला, पाङ्बोचे पहिलो तथा दोस्रो, सरिबङ, थोरङ पिकमा आरोहण आकर्षण देखिएको छैन। विभागका अनुसार हालसम्म सगरमाथा आरोहण गर्नेबाट मात्रै ४४ करोड आठ लाख ६५ हजार हिमाली दस्तुर संकलन भएको छ। अन्नपूर्ण हिमालबाट ९१ लाख ६७ हजार, लोत्सेबाट दुई करोड १९ लाख ३३ हजार, मकालुबाट ४२ लाख ७८ हजार, धौलागिरिबाट ६२ लाख ७४ हजार, नुत्सेबाट १६ लाख आठ हजार, पुमोरीबाट दुई लाख ८९ हजार, तिलिचोबाट चार लाख ६८ हजार र टुकुचे हिमालबाट ४६ हजार एक सय ६ रूपैयाँ सलामी दस्तुर संकलन भएको देखिन्छ।  

त्यस्तै, अमादब्लमबाट १२ लाख ९२ हजार दुई सय २०, बरुणबाट सात लाख २० हजार रूपैयाँ आरोहण शुल्क संकलन भएको विभागले जनाएको छ। वसन्त ऋतुमा हिमाल आरोहण गर्दा सबैभन्दा बढी दस्तुर तिर्नुपर्छ। यो सिजन आरोहणका लागि अन्यभन्दा सुरक्षित मानिने भएकाले आरोहीको आगमनसमेत बढी हुने र हिमाली दस्तुरसमेत बढी संकलन हुँदै आएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App