६ वैशाख २०८१ बिहीबार
अर्थ

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापना

नेपालमा पूर्वाधार, उत्पादनशील लगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ।  

अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रूपैयाँ र नेपाल सरकारको ५० करोड रूपैयाँ सेयर लगानी हुनेछ।  

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो।  

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे।

‘सरकार कानुनी र नीतिगत रूपमा विदेश पुँजी भित्र्याउन प्रतिबद्ध छ। ‘छरिएर रहेको पुँजीमात्र होइन, विदेशी पुँजी पनि ल्याउन चाहन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘लगानी वैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ।’ अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फन्ड स्थापनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे। नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रूपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए।  

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले होल्डिङ कम्पनीका रूपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। राजस्वसचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फन्डमा लगानीयोग्य रकम ५० अर्ब रूपैयाँभन्दा बढी पुर्‍याउने बताए।  

गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फन्डका अध्यक्ष उपेन्द्र महतोले पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकारसहित सबैको साथ सहयोगको अपेक्षा गरे।  

नेपाल सरकारको ५० करोड रूपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रवद्र्धक रहेको कम्पनीमा तीन अर्ब रूपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ। नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।  

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर निष्कासन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App