८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा स्थानीयको अनिश्चितकालीन अवरोध

पटक पटक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय उपभोक्ताले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेका छन् । कम्तीमा कालोपत्रेसमेतको स्तरोन्नति गर्नुपर्ने माग गर्दै कटारी नगरपालिका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाबासी उपभोक्ताले अनिश्चितकालीन सडक अवरुद्ध पारेका हुन् ।  

सातादिनअघि सडक स्तरोन्नति संघर्ष समितिले डिभिजन सडक कार्यालयमा ज्ञापनपत्र बुझाउँदै एकहपताभित्र माग पुरा गर्न चेतावनी दिएको थियो । तर, आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको भन्दै संघर्ष समितिले सोमबारदेखि सडक अवरुद्ध गरेको समितिका संयोजक तथा कटारी ११ नं. का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । बुढाक्षेत्रीका अनुसार उपभोक्ताको बन्दपछि सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडकमा यातायात ठप्प भएको छ ।

टिपर र बढी भार क्षमताका हजारौं गाडी चल्ने गरेका कारण भत्केर जर्जर भएको सडक खण्डको तत्काल स्तरोन्नति गर्न माग गर्दै यसअघि पनि समितिले धेरै पटक माग गरेको थियो । तर, जत्ति माग गरे पनि बेवास्ता गर्ने गरेपछि कटारी ८ देखि १४ सम्मका ७ वटा वडाबासीले संघर्ष समिति गठन गरेका थिए । सो समितिले अन्तिम पटक चेतावनी दिदै चैत ३१ गते डिभिजन कार्यालय लाहानमा ज्ञापनपत्र बुझाएको थियो ।  

संयोजक क्षेत्रीका अनुसार कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडक खण्ड अत्यन्त जिर्ण भएकाले बारम्बार सवारी दुर्घटना हुदै आएको छ । सो खण्डको मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आउनुपरेको उनी बताउँछन् । सडक स्तरोन्नतिको माग गर्दै पटकपटक डिभिजन कार्यालय, नगरपालिका, प्रदेश सरकार, विभाग र प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदै आए पनि चासो नदिएको गुनासो समितिको छ ।  

सिराहाको मिर्चयादेखि कटारी नगरपालिकाका १४ वडामध्ये ५, ६ र ७ नं. बाहेक सबै वडालाई सडकले छोएको छ । यत्ति धेरै उपभोक्ता रहेको सडक खण्डको स्तरोन्नति दीगो र व्यवस्थित हुनुपर्नेतर्फ सरकारले कहिल्यै जिम्मेबारी बोध नगरेपछि बाध्य भएर यातायात आवागमन रोक्नुपरेको वडाध्यक्ष क्षेत्रीले बताए । सडक मर्मत कार्य तत्काल सुरु नगरेसम्म कुनै हालतमा यातायात सञ्चालन हुन नदिने अडान समितिले लिएको छ ।  

‘सडक स्तरोन्नतिको तत्काल काम सुरु नभए अनिश्चितकालीन सडक अवरुद्ध गर्ने भनेर ज्ञापनपत्र दिदै भनेका थियौं’ संयोजक क्षेत्रीले भने ‘तर, सातादिनसम्म कुर्दासम्म माग पुरा गर्ने कुनै छाँटकाँट देखिएन, तयसैले सडक अवरोध गर्न बाध्य भएका हौं ।’ यो कदम आफैलाई पनि अप्रिय लागेको तर, सरकारको ध्यान खिच्ने अर्को कुनै बिकल्प नभएको उनले बताए । वैशाख ५ गतेभित्र सडक स्तरोन्नति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएकोप्रति वास्तै नभएकाले यो कदम चाल्नु परेको समितिले जनाएको छ ।

‘हामीले बारम्बार सडक स्तरोन्नतिको माग गर्दै आएकै हो तर, सम्बन्धित निकायले कहिल्यै हाम्रो माग सुनुवाई गरेन’ संघर्ष समितिको गुनासो छ ‘सरकारको आँखा खोल्न, जिम्मेबारी बोध गराउन पनि सडक बन्द गर्न बाध्य भइयो ।’ अहिले पनि सरकारले माग सम्बोधन गरोस् भन्ने आफूहरुको चाहना भएको स्थानीयको भनाई छ । तर, माग पूरा गर्नेतर्फ ध्यान नदिए जस्तोसुकै समस्या बेहोरेर भए पनि बन्द नखोल्ने समितिले जनाएको छ ।  

समितिको सडक बन्दका कारण कटारीदेखि पहाडीभेगका मरुवा, पट्नाभञ्याङ गहुँबारी, बेतेनी, ठाँटी भन्ज्याङ हुँदै घुर्मी खण्डमा गाडी ठप्प भएको छ । सिराहाको मिर्चयादेखि सो रुट भएर ओखलढुंगा, सोलुखुम्बु र खोटाङ चल्ने सबै यातायात जाममा परेका छन् । विहान केहीवेर टिपर र ट्रक तथा साना सवारीसाधन चलाउन कोसिस गरे पनि दिउसोदेखि ठप्प हुन पुगेको स्थनीयले बताए । केही यातायात व्यवसायी र टिफरहरु चल्न कोसिस गरे पनि संघर्ष समितिले सम्झाई बुझाई गरेपछि आफै स्वतस्फुर्त बन्द गर्न राजी भएको उनीहरुको भनाई छ ।  

सडक बन्दका कारण कटारीदेखि माथिल्लो भेततर्फ हिडेका र घुर्मी हुँदै कटारीतर्फ आउँदै गरेका दर्जनौं सवारीसाधन बाटैमा अलपत्र परेका छन् । स्थानीय उपभोक्ताले शान्तिपूर्वक गाडी चल्न नदिने भनेपछि सबैले रोकेर विरोधप्रति सहमति जनाएका छन् । मोटरसाईकल, प्रेस र एम्बुलेन्स भने चल्न रोक लगाइएको छैन ।  

इलाका प्रहरी कार्यालय कटारीका अनुसार स्थानीयको बन्दले ठूला र मालबाहक गाडीहरु पूर्णतःअवरुद्ध भएको जनाएको छ । मोटरसाईकल र केही साना गाडीहरु वाईपास गरेर चलाए पनि बस, टिफर र ट्रकहरु ठप्प रहेको इप्रका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए । उनका अनुसार सडक खोल्ने विषयमा प्रशासन र प्रहरीले संघर्ष समितिसँग छलफल गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईसहितको उपस्थितिमा छलफल भईरहे पनि सडक स्तरोन्नतिको कामको टुंगो नलागेसम्म कुनै हालतमा सडक सुचारु हुन नदिने अडान समितिले लिएकाले सहमति भईसकेको छैन ।  

‘सडक सुचार गराउनका लागि नगरपालिका, प्रशासन र प्रहरीले दुईपक्षीय छलफल अघि बढाएको छ’ डिएसपी भण्डारीले भने ‘तर, संघर्ष समितिले स्तरोन्नतिको कामको टुंगो नलगाएसम्म सुचारु हुन नदिने अडान लिएको छ । कमसेकम भौतिक मन्त्रालयबाट स्तरोन्नतिका लागि बजेट छुट्याउनुसम्म पर्ने बटम लाईन समितिले रोखेको छ ।’ यो समाचार तयार पार्दासम्म सडक सुचारु गर्ने विषयमा दुईपक्षीय छलफल भईरहेको तर, निश्कर्ष निस्केको छैन ।  

संघर्ष समितिले आर्थिकवर्ष २०७८/०७९ को बजेटमा लोकमार्ग सुरक्षित बनाउन बिकल्प दिन दुईलाईन सडक बनाउनुपर्ने माग पनि अघि सारेको छ । यो माग स्थानीयले एकदशकदेखि नै राख्दै आएका हुन् । त्यसको कार्यान्वयनका लागि मन्त्रालयले पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने, लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने, लोकमार्गलाई स्तरोन्नति कार्य गर्नेबारे निर्णय गर्नुपर्ने माग समितिले राखेको छ । त्यसैगरी २ लाईन सडक बनाउने निश्चित नभएसम्म सडक आउजाउ गर्न सहज पार्न बाहैकाल अवरुद्ध हुन नदिन स्काभेटर, जेसिबीजस्ता उपकरण तैनाथ राख्नुपर्ने र धुलो मार्न पानी छ्याप्ने ट्यांकरको व्यवस्था गर्न पनि समितिको माग छ । 

कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर खण्ड अत्यन्त जीर्ण भएकाले सवारी आउजाउमा धेरै समस्या हुने गरेको कटारीका ८ का वडाध्यक्ष कमल श्रेष्ठले बताएका छन् । उनका अनुसार उस्तै समस्या ९, १०, ११, १२, १३ र १४ मा पनि कायम रहेकाले सडक स्तरोन्नतिको माग गर्नु स्थानीयको बाध्यता हो । डिभिजन सडक, नगरपालिका, विभाग र मन्त्रालयदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर सो समस्याबारे अवगत गराउँदै आए पनि समाधान ननिस्केकाले यस्तो दुःखद कदम चाल्नु परेको वडाध्यक्ष श्रेष्ठले बताए । सिराहाको चन्द्रोदयपुरमा रहेको मारुती सिमेन्टको चुनढंगा सिन्धुलीको ककरुठाकुरदेखि ओसार्ने दैनिक हजार हाराहारी संख्याका टिपरले सडक जिर्ण बनाएको उनको भनाई छ ।  

२ वर्षयता सौर्य र कसमस सिमेन्टको चुनढुंगा कटारीकै पट्नाभन्ज्याङलगायत २ ठाउँबाट ओसार्ने सडक पनि त्यही भएकाले थप भारले बैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । सडक मर्मतमा वर्षेनी डिभिजनले लाखौं खर्च गर्दै आए पनि ३ महिनाभित्रै बिग्रेर जस्ताको तस्तै हुने गरेको स्थानीयको भनाई छ । वर्षेनी मर्मतमा बजेट खर्च हुने भएकाले टिफर चलाउन बैकल्पिक सडक खनेर लोकमार्गमा मोटरसाईकल र यात्रुबाहक गाडी मात्र चल्ने बनाउनुपर्ने माग स्थानीयको छ ।  

मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा, सोलुखुम्बु र खोटाङसम्म आउजाउ गर्न सजिलो भएको उक्त कालोपत्रेसहितको सडक नेपाली सेनाले ०५८ सालमा निर्माण गरेको हो । पुरानो प्रविधिमा बनेको उक्त सडक सैनिक जवानले कोदालो र झम्पलको भरमा खनेर निर्माण गरेकाले घुम्ती, भिरालो र साँघुलो रहेको छ । ५–६ वर्षसम्म कालोपत्रे टिकेको भए पनि सिमेन्टका लागि चुनढुंगा बोक्न टिपर चल्न थालेको ६ महिनादेखि नै कालोपत्रे उप्किएर धुलाम्य हुदै आएको छ । भत्केर जिर्ण भएकाले हिउँदमा धुलैधुलो र वर्षामा हिलैहिलो हुने सडकमा बारम्बार दुर्घटना भएर जनधनको क्षति हुँदै आएको प्रहरी भनाई छ ।

प्रकाशित: ६ वैशाख २०७८ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App