१५ चैत्र २०८० बिहीबार
अर्थ

बुद्ध एयरले पोखरालाई थप तीन गन्तव्यमा जोड्दै

पोखराबाट नेपालगञ्ज, विराटनगर र सिमरा उडान गर्दै

पोखरा विमानस्थलमा बुद्ध एयरका जहाज । फाइल तस्बिरः सन्तोष पोखरेल÷नागरिक

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडान थाल्ने तयारी गरेको छ । बैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्धले बताएको छ । आन्तरिक पर्यटकको आउजाउमा सहज पु¥याउने र भारतीय पर्यटकलाई पनि लक्षित गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ ।  

बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार पोखराबाट नेपालगञ्ज, बिराटनगर र सिमरा रुटमा उडान गर्ने तयारी भएको हो । त्यसबाहेक बुद्धले नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगर रुटमा पनि उडान गर्न थालेको हो । ‘वैशाख १८ गतदेखि हामीले ‘क्रस सिटी’ उडान गर्न थालेका छौं । यसले आन्तरिक पर्यटकको आउजाउमा सघाउ पुग्नेछ,’ जोशीले सोमबार पोखरामा पत्रकार भेटघाटमा भने, ‘यात्रुलाई सहजता पनि हुनेछ । सबैभन्दा बढी लाभ पर्यटन क्षेत्रले लिनेछ ।’

जोशीका अनुसार सुरुमा १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट यी रुटमा उडान सुरु गर्नेछ । सातामा तीनदिनका दरले उडान हुने र यात्रुको माग बढ्दै गएमा सातैदिन पनि उडान गर्न सकिने उनले बताए । यात्रु बढेको खण्डमा ठुलो आकारको जहाजबाट पनि उडान गर्न सकिने उनले बताए । पोखरालाई आधार बनाएर नयाँ रुटमा उडान गर्दा यात्रुलाई आउजाउमा सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताए । ‘काठमाडौंपछिको हव पोखरालाई बनाउने प्रयास भएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनै थालेकोले पनि पोखरालाई आधार बनाएर उडान गर्न थालेका हौ,’ उनले भने ।  

बुद्धले अहिले पोखरा–काठमाडौं दैनिक १० वटासम्म ७२ सिट क्षमताका एटिआर ७२–५०० सिरिजका जहाजबाट उडान गरिरहेको छ । त्यसबाहेक पोखराबाट भरतपुर र भैरहवामा समेत उडान गरिरहेको छ । पोखरा–भैरहवा रुटमा भने पछिल्लो समय ४७ सिट क्षमताका ‘एटिआर४२–३२०’ जहाजबाट उडान हुन थालेको उनले बताए । ‘पोखरा–भैरहवा रुटमा निकै नै यात्रुको माग बढ्न थालेको छ । अहिलेको कोरोना संक्रमण नहुँदो हो पोखराबाट भैरहवाको रुटमा उडान संख्या पनि थपिन्थ्यो,’ उनले भने । अहिले पोखराबाट भैरहवा दैनिक उडान भईरहेको छ ।

 पोखराबाट नेपालगञ्ज र सिमरा रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ । पोखरा–विराटनगर सोमबार, विहीबार र शनिबार उडान हुनेछ । पोखरा–नेपालगञ्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय तथा भरतपुर–भैरहवा २५ सय रुपैयाँ भाडा पर्नेछ । कुनैबेला यो भन्दा पनि सस्तोदरमा यात्रुले उड्न पाउने जोशीले बताए । उनका अनुसार अहिले तोकिएको भाडादर एटीआर–७२ को संचालन खर्चमा आधारित रहेको छ ।

पोखराबाट नेपालगञ्जमा अहिले सिता एयरको चार्टर उडान मात्र भईरहेको छ । अब बुद्धले पोखरा–नेपालगञ्जमा उडान गर्दा यात्रुलाई सहज हुने उनले बताए । ‘नेपालगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई काठमाडौं र पोखरा अउजाउमा निकै नै सहज हुनेछ,’ उनले भने । पोखरा–बिराटनगर र पोखरा–सिमराबाट पनि भारतीय पर्यटकको अपेक्षा गरेको उनले बताए । बुद्धले एकवर्ष अघि नै पोखराबाट बिराटनगर उडान सुरु गरेकोमा कोरोना संक्रमण बढेपछि रोकेको थियो । त्यसपछि सुरु हुन सकेको थिएन ।  

‘कोरोना भाइरस संक्रमणका कारण अहिले नै तेश्रो मुलुकका विदेशी पाहुना आउने छैनन । त्यसले आन्तरिक र केही भारतीय यात्रुको भरमा टिकाउ हुनुको विकल्प छैन,’ जोशीले भने, ‘विदेशी आउने ठेगान नहुँदा पनि आन्तरिक यात्रुबाट चल्न बाध्य छौ ।’ २०२१ को सेप्टेम्बरबाट विदेशी पाहुना आउने अपेक्षा गरेको भएपनि अहिले विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेकोले त्यो समयमा पनि आउन नसक्ने उनले बताए । ‘केही महिना नोक्सान खेपेर भएपनि उडान गर्छाैं,’ उनले भने, ‘एकैदिन सफल हुने होइन ।’

पोखराबाट जोमसोम तथा काठमाडौंबाट लुक्ला लगायतका रुटमा उडानका लागि योजना बनाएको बुद्धले कोरोना संक्रमणका कारण ती गन्तव्यमा उडान थाल्न नसकेको उनले बताए । ती रुटमा उडान गर्नका लागि अहिले रहेका भन्दा फरक जहाज आवश्यक पर्ने भएकोले तत्कालै ती रुटमा उडान नहुने उनले बताए  । भरतपुर–भैरहवा रुटमा छोटो दूरीको स्थलमार्ग भएपनि अहिले सडक बिस्तारको काम भईरहेकोले पनि छोटो समयको त्यो रुटमा उडान आवश्यक रहेको जोशीको भनाई छ ।  

बुद्धसँग अहिले ७२ सिट क्षमताका एटिआर७२–५०० सिरिजका नौवटा जहाज छन् । मे १५ भित्र थप एउटा जहाज भित्रिँदैछ । त्यस्तै ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी जहाज छन् । १४ जहाजबाट अहिले बुद्धले दैनिक १ सय २० भन्दा बढी उडान गरिरहेको छ । जहाज थपिएपछि पोखराबाट भद्रपुरसम्म उडान गर्ने लक्ष्य पनि राखेको बुद्धले बताएको छ । बुद्धले अहिले दैनिक ६५ सय हाराहारीमा यात्रुलाई उडाईरहेको छ ।

बुद्धले पोखरालाई आधार मानेर नयाँ गन्तव्यमा उडान गर्दा आन्तरिक र भारतीय पर्यटकलाई पोखरा ल्याउन सहज हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ‘नेपालगञ्ज, बिराटनगर, सिमरा पहिले नै माग हुँदै आएको हवाई रुट भएकोले यात्रु अभाव नहुने बताए । अहिले नै पोखरा–नेपालगञ्ज चार्टर उडान भईरहँदा सेड्यूल उडान हुँदा यात्रुको आउजाउमा सहज हुने उनको भनाई छ । 

प्रकाशित: ६ वैशाख २०७८ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App