coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध

स्थानीय भन्छन्ः सडक तत्काल बनाऊ

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ । सिन्धुलीका केही राजनीतिक दलहरुको दबाबमा नक्सा परिवर्तन गर्ने कोसिस भएपछि सो सडक खण्ड निर्माणमा अन्योल देखिएको हो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुली सदरमुकामको ६ किलोमिटर सडक निर्माण कार्य अघि बढिरहँदा उक्त काममा राजनीतिक दल र जनप्रंतिनिधिले समेत अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार तत्कालिन सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका वडा नं. ६ को धुराबजार हुँदै मिलन चोक, साङवाले खट्टार जोड्ने गरी राजमार्गको नक्साङकन तथा विस्तृत अध्यन प्रतिवेदन (डिपिआर) तयार भई ठेक्का लागेको भए पनि सो काममा सिन्धुलीका केही राजनीतिक दलहरुले अवरोध खडा गरिरहेका छन् ।

डिपिआर तयार भई ठेक्का लागेको रुटको धुराबजार क्षेत्रका केही घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भन्दै त्यसक्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरी अन्यत्र डाइभर्ट गर्न राजनीतिक दल तथा केही जनप्रतिनिधिहरुले आयोजनालाई नै दबाब दिइरहेका छन् । ‘केही व्यक्तिको स्वार्थको कारण राजमार्ग निर्माणको काम वर्षौदेखि अन्यौल बनेको छ,’ स्थानीय रमेश भण्डारीले भने।  

मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा पर्ने धुराबजारदेखि खट्टारसम्म विवाद भई सडक निर्माण नभएपछि धुराबजार बाहेक अन्यत्र काम गर्नैपर्ने स्थानीयको माग छ । उनीहरुले सो सडक खण्डमा भएको विवादको कारण आयोजनाले काम रोक्न नहुने बताएका छन् ।

सिन्धुली सदरमुकामबाहेक यस खण्डको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘बाटो निर्माण कार्य रोक्न कि स्थानीयको अवरोध चाहियो, होइन भने माथिको आदेश,’ स्थानीय भन्छन्।  उनीहरुले बिनाकारण सडक निर्माण रोकेर प्रशासनले गैर जिम्मेवार काम गरेको आरोप लगाएका छन् ।  

नक्साङ्कन भएकै स्थानबाट सडक निर्माण गर्न भन्दै स्थानीयले जिल्ला प्रशासनसहित सरोकारवालाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको स्थानीय भक्तहरि घिमिरेले बताए ।  केही जनप्रतिनिधिहरुले विपी राजमार्गको तत्कालिन हाज्माको २ नं. गेट हुँदै कुमाल फाँट(आर्दश टोल) साङवाले हुँदै खट्टार जोड्ने गरी सडक निर्माण गर्न पहल गरे पनि त्यस क्षेत्रका स्थानीयले खेतीयोग्य जग्गा मास्न नदिने बताउँदै आएका छन् ।

नक्साङ्कन भएकै स्थानबाट डिपिआर तयार भई सडक निर्माणको ठेक्का लागेपछि बनेका अधिकांश घरहरु सडकको मापदण्डलाई छोडेरै बनाएकाले राजमार्गको रुट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्थानीयको बुझाइ छ । ‘यहाँको कमलामाई नगरपालिकाले पनि सडक नक्सङकन भएकै स्थानबाट सेटब्याक नराखेर दायाँ १०, बायाँ १० मिटर गरी कुल २० मिटर चौडा भएको सडक निर्माण गर्न सहयोग गर्ने निर्णय गरेको छ ।’ स्थानीय माणिक ढकालले बताए ।

धुराबजारबाट राजमार्ग निर्माण गर्दा केही घरहरु क्षति हुने देखिएपछि केही भाग परिवर्तन गर्न पहल गरेको बागमती प्रदेश सदस्य बिनोद खड्काले स्वीकारे । ‘हेटौडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा धुरा क्षेत्रमा क्षति हुने भएकाले विकल्पको खोजी हुनु स्वाभाविकै थियो,  हामी उचित निर्णय गरेर राजमार्ग निर्माण गर्न अनुरोध गर्छौ ।’ उनले भने । डिपिआर भई ठेक्का लागि सकेको र मिलन चोकस्थित लब्दाहा खोलामा राजमार्गकै पुलसमेत बनेको अवस्थामा परिवर्तन गर्ने भन्दै जनप्रतिनिधिहरुले बखेडा निकालेको स्थानीयको आरोप छ ।  

प्रमुख जिल्ला अधित्रारी सुरेश न्यौपानेले राजमार्ग निर्माण गर्नका लागि छलफल सुरु भएको बताए । ‘आयोजना प्रमुख भर्खरै सरुवा भइ आउनुभएको छ, हामी छिट्टै राजमार्ग निर्माणका लागि पहल गर्छौ’, नागरिकसँग उनले भने । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ भने पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित: ५ वैशाख २०७८ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App