coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्नपूर्ण प्रथममा नेपाली महिलाको सफल आरोहण

अन्नपूर्ण प्रथमको आरोहणको तयारीमा रहेको टोली । फाइल तस्बिरः नागरिक

अन्नपूर्ण प्रथम (८०९१ मि) को नेपाली महिलाले पहिलोपटक सफल आरोहण गरेका छन् । नेपाली महिला आरोहीको समुहले शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेको सेभेन समिट ट्रेक्सले बताएको छ ।  

सेभेन समिट ट्रेक्सका अध्यक्ष निग्मा शेर्पाका अनुसार दिउँसो साढे १ बजे नेपाली महिला समुहले आरोहण पुरा गरेका हुन् । उनका अनुसार आरोहणमा पूर्णिमा श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटि शेर्पा र पासाङल्यामु शेर्पा रहेका छन् । अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला परेको अध्यक्ष शेर्पाले बताए ।  

‘नेपाली महिलाले पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका छन् । दिउँसो साढे १ बजे उनीहरु चुचुरोमा पुगेका थिए,’ उनले भने, ‘नेपाली आरोही महिलाको यो साहसले सबैलाई खुसी बनाएको छ । नेपाली महिला आरोही पनि आरोहणमा सक्षम छन् भन्ने पुष्टि गरेको छ ।’  

अध्यक्ष शेर्पाका अनुसार अन्नपूर्ण प्रथम आरोहण निकै नै चूनौतीपूर्ण छ । विहीबार राती १० बजे ६९०० मिटरको क्याम्पबाट आरोहणको टोली हिडेको थियो । दिउँसो साढे १ बजे महिला सहितका आरोही टिम चुचुरोमा पुगेको उनले जानकारी दिए । सेभेन समिटबाट मात्र महिला सहित अरु विदेशी पनि आरोहणमा थिए । सेभेन समिटका अरु २२ जना विदेशीले पनि आरोहण गरेको उनले बताए ।

अन्य कम्पनिको व्यवस्थापनमा गएका आरोही पनि आरोहणको क्रममा रहेको उनले जानकारी दिए । अन्नपूर्ण आरोहणका लागि एकमहिना अघि नै विदेशी सहितको टोली आधारशिविर क्षेत्रमा पुगेर अभ्यास गरिरहेको उनले बताए । आरोहणको यो सफलताले नेपालको हिमाल आरोहण क्षेत्रको पहिचान बढाउने उनले बताए । ‘कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र सुस्ताएको थियो । अब भने आरोहण क्षेत्रमा सकारात्मक संकेत देखिएको छ,’ उनले भने ।  

अर्काे कम्पनि इमेजिन नेपालबाट गएका विदेशी र नेपाली गरि १५ जना आरोहीले पनि दिउँसो आरोहण पुरा गरेको इमेजिन नेपालकी म्यानेजर दावा फुटि शेर्पाले बताईन । उनका अनुसार ५ जना विदेशी र १० जना नेपालीले आरोहण पुरा गरेका हुन् । आरोही विदेशीमध्ये २ जना चिनियाँ, २ जना पाकिस्तानी र एकजना अमेरिकी छन् । बाँकी १० जना नेपाली पुरुष आरोहीले पनि आरोहण पुरा गरेका छन् ।  

पर्यटन विभागको पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यका अनुसार पूर्णिमा सहितको महिला टोलीले आरोहण गरेको जानकारी पाएपनि आधिकारिक पुष्टि हुन नसकेको बताईन । ‘पूर्णिमा सहितको नेपाली महिलाले सफल आरोहण गरेको जानकारी पाएका छौ । तर, आधिकारीक रुपमा पुष्टि भएको छैन,’ आचार्यले भनिन, ‘तर शुक्रबार दिउँसो धेरै नै आरोहीले आरोहण पुरा गरेको जानकारी भने पाएका छौ । आरोहणमा को  र कसले सफलता पाए भन्ने यकिन हुन मात्र बाँकी रहेको छ ।’ आचार्यले पनि आरोहणको आधिकारिक पुष्टि हुन बाँकी भएपनि नेपाली महिलाको पहिलो आरोहण हुने बताईन ।  

आचार्यका अनुसार अन्नपूर्ण प्रथमको चारवटा टोलीमा ४४ जना आरोही छन् । ती मध्ये ३६ जना पुरुष र ८ जना महिला रहेको उनले बताइन । सरकारबाट आधिकारीक रुपमा अनुमति लिएर गएका सबैजसो विदेशीले आरोहणको अन्तिम तयारीमा रहेको आफुले जानकारी पाएको उनले बताइन् । यो सिजनमा हिमाल आरोहणका लागि सबैगरि ५७७ जना विदेशीले अनुमति पाएको आचार्यले बताईन ।

प्रकाशित: ३ वैशाख २०७८ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App