coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२२ तले धरहरा ११ गते उद्घाटन हुने

काठमाडौं उपत्यकाको ऐतिहासिक धरोहर मानिएको धरहराको वैशाख ११ गते उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलील छिट्टै उद्घाटन गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीलाई ११ गतेभित्र धरहराको काम सक्न निर्देशन दिएसँगै हाल धरहरा निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ।  

तर धरहराको बाहिरी सौन्दर्यतासहित हालसम्म जम्मा ६१ प्रतिशत मात्रै काम भएको छ । धरहरास्तम्भको भने ९७ प्रतिशत काम सकिएको छ । अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने बताइएको छ । निर्माण कम्पनीका अनुसार हालसम्म २ अर्ब १६ करोड बजेट खर्च भइसकेको छ । हाल धरहराको फिनिसिङको काम भइरहेको छ । बाँकी काम ११ गतेसम्म सकेर उद्घाटन गर्ने योजना सरकारले राखेको छ।  

तर ठेकेदार कम्पनीले भने धराहरको बाहिरी सुन्दरताको काम गर्न अझै १ वर्ष लाग्ने जनाएको छ । रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले ११ गते उद्घाटन गर्नुपर्ने भएकाले धराहराको उचाईको काम सकेर फिनिसिङको काम भइरहेको जानकारी दिए । उनले भने, ‘बाहिर ब्यूटिफिकेशनको काम अझै धेरै बाँकी छ, यद्यपी भवनको काम भने भइरहेको छ, ११ गतेसम्म सक्ने योजना छ।’  

२०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएको थियो । विवादपछि सुरु भएको धरहराको काम तीव्र गतिमा भएपनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेन । म्याद थप गर्दै पुनर्निर्माण गर्दै आएको कम्पनीले धरहराको बाहिरी काममा अझै समय लाग्ने जनाएको छ।  

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गराएका थिए। तर १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो भने २०७२ सालको भूकम्पले धराहर फेरि भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पहिलेको ११ तले धरहराको उचाइ घटाएर ९ तलाको बनाउन लगाएका थिए। यद्यपी २०७२ सालको भूकम्पले फेरि धरहरा लडायो । जुद्धशमशेरले बनाएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्कायो।  

धरहरा भत्कँदा ५० जनाभन्दा धेरैको ज्यान गएको थियो । पछिल्लो समय पुनर्निर्माणमा विवाद हुँदा धरहरा पुनर्निर्माण अलपत्र पर्ने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाएपछि पुननिर्माण कार्य अघि बढेको थियो । प्रधानमन्त्री ओलीले २०७३ फागुन ४ गते भत्किएको धरहरा परिसरमा पुगेर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै पुनर्निर्माण गर्ने दाबी गरेपनि धरहरा पुनर्निर्माण भएन।  

धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले भ्याटबाहेक ३ अर्ब ८ करोडमा पाएको हो । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर गत चैत ११ गतेदेखि कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण देखाउँदै ठेकेदार कम्पनीले तोकिएको समयभित्र पुनर्निर्माणको काम सकेन । लामो विवाद र अल्झनपछि २०७५ सालमा धराहरा पुनर्निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य सुरु भएको झन्डै २ वर्षमा धरहराले २२ तला अग्लो उचाइ पाउँदै छ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरा पुनर्निर्माणको कामले गति लिएर सकिने अवस्थामा पुगेको बताए । उनका अनुसार अग्लो धरहरामा लिफ्ट राख्ने कार्य भइहेको छ । धरहराको भवन बनेपनि अन्य बाहिरी सुन्दरताको काम भने बाँकी छ । उक्त काम उद्घाटन पछि गरिने बताइएको छ । ‘भवनको काम लगभग सकिन लागेको छ, ११ गते उद्घाटन रहेकाले अहिले तीव्र गतिमा काम गरिरहेका छौं,’ उनले भने, ‘बाहिरी काम योजना अनुसार विस्तार हुन्छ ।’ उनले बाहिरी सुन्दरताको काम सकिएपछि मात्रै सर्वसाधारणको लागि खुला गर्न सकिने जानकारी दिए।  

निर्माण कार्य सकिन लागेको धरहरा बाहिरबाट हेर्दा ११ तला जस्तै देखिन्छ । तर यो उचाइ हालसम्मकै उच्च हो । २२ तला माथिबाट उपत्यकाको अधिकांश ठाउँ नियाल्न मिल्छ । २०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ । पुरानो धरहराको ठुटोलाई जस्ताको तस्तै पालले छोपेर राखिएको छ। पुरानो धरहरादेखि करिब १० मिटर पूर्वतर्फ नयाँ धरहरा बनेको छ । गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर रहेको बताइएको छ।  

नयाँ बन्ने धरहरामा लिफ्ट र भ¥याङ दुवै राखिएको छ । प्राधिकरणले क्षतिग्रस्त पुरानो धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा सिसाको फ्रेममा राख्ने जनाएको छ । प्राधिकरणका अनुसार अब बन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ। धरहराको तल्लो भागमा तीन तलाको पार्किङ तयार हुँदैछ। त्यस्तै छेउ छेउमा बगैंचा पनि बनाउने कार्य सुरु भएको छ। पार्किङमा ३ सय ४७ वटा चारपांग्रे गाडी राख्न मिल्ने बताइएको छ। धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगिन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिनेछ। 

प्रकाशित: १ वैशाख २०७८ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App