१ जेष्ठ २०७८ शनिबार
अर्थ

नागढुंगा–नौबिसे सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

कोभिड १९ को महामारीले २०७७ सालमा नेपालको पूर्वाधार निर्माण क्षेत्रमा अकल्पनीय क्षति पुग्यो । कोरोनाका कारण नेपालको पूर्वाधार क्षेत्रको लागि बिर्सनलायक वर्षको रूपमा रह्यो । कोभिड १९ को बाबजुद पनि २०७७ सालमा ‘कालोबादलभित्र सेतो चाँदीको घेरा’ भने जस्तै मुलुकै पहिलो पटक नागढुंगा– सिस्नेरी सुरुङमार्ग निर्माण कार्य सुरु भयो ।  

गत पुस ८ देखि नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण शुभारम्भ भएसँगै नेपालको पूर्वाधार क्षेत्रमा आशाको किरण जगाएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणले पूर्वाधार क्षेत्रमा कायापलट ल्याउने दाबी गर्छन् । ‘यो सुरुङमार्ग निर्माणले अब नेपालमा अन्य सुरुङमार्ग निर्माण गर्ने बाटो खोलेको छ,’ उनले भने ‘यो सुरुङमार्गले नेपालकै पूर्वाधार क्षेत्रमा ठूलो क्रान्ति ल्याउने अपेक्षा गरेका छौं ।’ निर्देशक शाक्यले नेपालको अधिकांश भूगोल पहाडै पहाडले घेरिएको हुँदा पनि छोटो र छिटो गन्तब्यमा पुग्नका लागि सुरुङमार्ग उत्तम विकल्प भएको बताए 

‘यो सुरुङमार्गले सुरुङ निर्माणको नयाँ अध्याय सुरु गर्नेछ,’ उनले भने, ‘सुरुङमार्गको निर्माणले नयाँ प्रविधि र ज्ञान पनि सँगसँगै भिœयाउनेछ । यसलाई मुलकको पूर्वाधार विकासमा लगाउन सकेमा आर्थिक फड्को समेत मार्न सकिन्थ्यो ।’ नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वाधार क्षेत्रमा सुरुङमार्गको निर्माण सुरु मात्रै होइन्, तीन दशकदेखिको उपत्यकावासीको मेलम्ची सपनासमेत साकार भएको छ।

कोभिड १९ को मारमा परेका राजधानीवासीको लागि यी दुवै परियोजनाले आशाको किरण छर्ने काम गरेका छन् । कोभिडले आक्रान्त उपत्यकावासीलाई मेलम्चीको पानी र सुरुङमार्गले केहीहदसम्म भए पनि मलम लगाउने प्रयत्न गरेको स्थानीयवासीको भनाइ छ । गत पुसदेखि निर्माण सुरु गरिएको सुरुङमार्गको अहिले तीव्र रूपममा निर्माण भइरहेको आयोजनाले जनाएको छ।  

‘संघीय राजधानी भित्रिने मुख्य सडकको प्रवेशद्वारमा अत्याधिक सवारी चापको कारणले घन्टौं सवारी जाममा पर्ने समस्यालाई दीर्घकालिन रूपमा समाधान गर्नकै लागि सुरुङमार्ग निर्माण गरिएको हो,’ आयोजना निर्देशक शाक्यले भने, ‘सुरुवाती चरणमा सुरुङमार्ग निर्माणको लागत केही बढी देखिए पनि दीर्घकालिन रूपमा सस्तो नै पर्नेछ।’ निर्देशक शाक्यले उपत्यका भित्रिने सिमानामा बढ्दो ट्राफिक जाम कम गर्न तथा इन्धन बचतका लागि सुरुङमार्ग अत्यावश्यक भइसकेको बताए।  

‘उपत्यका भित्रिने सवारीसाधनको संख्या बढीरहेका छन् । लामो दूरीका घुम्ती सडकमा सवारीसाधन चल्दा धेरै इन्धन खपत हुने गर्छ । त्यसैले छोटो र सहज पहुँचका लागि सुरुङमार्ग निर्माण गरिएको बताइएको छ। सुरुङमार्गको लागत धेरै भए पनि दीर्घकालीन रूपमा राज्यका लागि फाइदा हुने आयोजनाको दाबी छ।  

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक शाक्यले अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १० प्रतिशत सकिएको बताए । ‘अहिलेसम्म दुवैतर्फबाट मुख्य सुरुङको ८३ मिटर सुरुङ खन्ने काम सकिसकेको छ,’ उनले भने, ‘काठमाडौंतर्फबाट इभाक्युएसन टनेलतर्फ भने १ सय ३२ मिटर सुरुङ खन्ने काम भइरहेको छ।’  

आयोजनाका अनुसार धार्दिङ (पश्चिमतर्फ)को वर्किङ अडिटको १ सय १९ मिटर सुरुङ खन्ने काम सकिएको छ । धार्दिङतर्फको वर्किङ अडिट खन्ने काम सकिएसँगै अहिले धार्दिङतर्फबाट मुख्य सुरुङ खन्ने काम भइरहेको छ । धार्दिङतर्फबाट ३९ मिटर मुख्य सुरुङ खन्ने काम भएको छ। आयोजनाका अनुसार काठमाडौंतर्फबाट इभाक्युएसनतर्फ १ सय ३२ मिटर खनिएको छ। काठमाडौंतर्फबाट मुख्य सुरुङतर्फ ४४ मिटर खनिएको छ।

‘आयोजनाको सुरुङ खन्दाखेरी स्थानीयबाट केही अवरोध आएको थियो, तर अहिले त्यस्तै कुनै प्रकारको अवरोध छैन,’ उनले भने, ‘अहिले सुरुङ खन्ने काम धमाधम गतिमा भइरहेको छ ।’ आयोजनाका अनुसार अहिले दैनिक ६ मिटरभन्दा धेरै सुरुङ निर्माणको काम भइरहेको छ । आयोजनाका निर्देशक शाक्यले सुरुङमार्गको निर्माण तीन खण्डबाट भइरहेको बताए।  

‘दैनिक ६ मिटरभन्दा धेरै सुरुङ निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘सुरुङमार्गको दूरी छोटो भएकाले पनि टिबिएम मेसिनको प्रयोग गरिएको छैन ।’ निर्देशक शाक्यले छोटो दूरीको सुरुङमार्ग निर्माणमा टिबिएम मेसिन प्रयोग गर्दा लागत धेरै पर्ने भएकाले यो सुरुङमार्ग निर्माणमा प्रयोग नगरिएको बताए । ‘लामो दूरीको सुरुङ खन्नमा टिबिएम मेसिन प्रयोग गरिन्छ,’ उनले भने, ‘यो आयोजना निर्माणमा भने ड्रिल एण्ड ब्लास्ट अर्थात यो सुरुङमार्ग एनएटिएम विधिबाट खन्न लागिएको हो।’

आयोजनाका अनुसार मुख्य सुरुङ ८.२/१५ मिटरकोे हुनेछ । आयोजनाको काम रातदिन दुवै सिफ्टमा गरेर काम भइरहेको छ । आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ । यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो । यो सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे ९ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ निर्माण गर्न आयोजनाले सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ। यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ।

यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरि कुल साढे २२ अर्ब रुपैयाँ लाग्नेछ। आयोजनाका निर्देशक शाक्यले आयोजनाको मुख्य टनेल धादिङतर्फ र नेपाल आयल निगमको डिपोनजिकै फ्लाई ओभरको संरचना निर्माण सुरु गर्न लागिएको बताए । ‘अब फ्लाई ओभर तथा पहुँचमार्ग निर्माणले पनि छिट्टै गति लिनेछ,’ उनले भने।  

धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटरको पहुँचमार्ग निर्माण गर्नुपर्ने हुन्छ । सुरुङमार्ग तीन लेनको हुनेछ, जसका दुई लेनमा सवारीसाधन गुडाइनेछ । अर्काे लेनमा मर्मत गर्नुपर्ने सवारीसाधन राखिनेछ। आयोजनाले सुरुङमार्गको धार्दिङतर्फको खण्डमा सर्भिस सेन्टर समेत निर्माण गर्ने तयारी गरेको छ । आयोजना निर्देशक शाक्यले सुरुङमार्गको धार्दिङतर्फको प्रवेशमार्गको वरपर रेष्ट रूम, रेष्टुरेन्ट, डिर्पाटमेन्टल स्टोरलगायतका विभिन्न स्टल राख्ने बताए।

प्रकाशित: १ वैशाख २०७८ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?