coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उडान–अवतरणको लागि इलामको सुकिलुम्बा विमानस्थल तयार

उडान–अवतरणका लागि तयार भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल । तस्बिर : भीम/नागरिक

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ । सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ । प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायतका काम पूरा भएको बताए । ‘अब विमानस्थलमा विमान उडान–अवतरण गर्न चाहिँ सकिन्छ,’ उनले भने, ‘नाली निर्माण र सामान्य अरू काममात्र बाँकी छ । ती काम पनि भइरहेका छन् ।’  

इन्जिनियर भट्टराईले यही वैशाखभित्र उडान–अवतरण सुरु गर्न प्राधिकरणले तयारी गरिरहेको बताए । ‘यही वैशाखभित्र उडान–अवतरण गर्नेगरी प्राधिकरणले तयारी गर्दैछ,’ उनले भने, ‘उडान–अवतरण त गर्दा हुने भएको छ तर सामान्य काम पनि सकेर अफिसियल रूपमै टेस्ट फ्लाइट गर्ने तयारी गर्दैछौं ।’ विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको हो ।

इलाम नगरपालिकाले नगरको वडा ९ मा निर्माण भएको विमानस्थलका लागि जग्गा व्यवस्थापनको काम गरेको हो । नगरले विमानस्थल कालोपत्रे भइ उडानका लागि करिब तयार भइसकेकाले उडान–अवतरण सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । मेयर महेश बस्नेतले मन्त्रालयले चाँडै नै उडान–अवतरण व्यवस्थापन गर्ने जानकारी आएको बताए ।  

धावनमार्गमा १५ महिनाअघि कालोपत्रे निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन पनि निर्माण भइसकेको छ । ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘भर्खरै ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङलगायतको काम भइसकेको छ ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो । इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए ।  

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन् । यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ । ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन् । ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ ।  

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो । जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया खर्च भएको थियो ।  

प्रकाशित: ३१ चैत्र २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App