८ वैशाख २०८१ शनिबार
अर्थ

पाहुनाको सत्कार, पर्यटनको आधार

इलामको कन्याममा जातीय सांस्कृतिक पोसाकमा सजिएर सेल्फी खिच्दै आगन्तुक। तस्बिर: भीम/नागरिक

कोभिड–१९ को असरले करिब वर्षदिन ठप्प बनेको होटल व्यवसाय बिस्तारै लयमा फर्किंदैछ। मुख्य सिजन (कात्तिक–मंसिर)मा पर्यटकको संख्या अलि बढेकामा नयाँ वर्ष सुरु हुनलाग्दा पनि व्यवसायीमा आस पलाएको हो ।  

लामो समयपछि पर्यटन क्षेत्र उकालो लाग्ने सम्भावना भएपछि व्यवसायी पनि पर्यटनलाई भरपर्दो व्यवसाय बनाउने प्रयासमा जुट्दैछन्। जिल्लामा पर्यटक आकर्षित गर्ने, आएका पर्यटक टिकाउने र सन्तुष्ट बनाएर फर्काउने उपायबारे व्यवसायीले छलफल चलाउन थालेका हुन्। यहाँ आएका प्रत्येक पर्यटकलाई इलामको ‘ब्रान्ड एम्बेसडर’ बनाउने प्रयासमा व्यवसायीले पर्यटकलाई गर्नुपर्ने व्यवहारबारे समीक्षा भइरहेको छ।  

जिल्लामा पर्यटक भित्रिँदा सबैभन्दा पहिला यातायात मजदुरसँग उनीहरूको भेट हुन्छ । यातायात मजदुरले उनीहरूप्रति कस्तो व्यवहार गर्छन् भन्ने विषय पर्यटन विकासका लागि महत्वपूर्ण हुने व्यवसायी बताउँछन्। गाडीमा चढेर जिल्ला आउने पर्यटकले यातायात मजदुर, होटल र स्थानीयसँगसमेत सकारात्मक, सहयोगी व्यवहार अपेक्षा गर्छन्। इलाममा प्राकृतिक हिसाबले पर्यटक भुलाउने दर्जनौं गन्तव्य भएपनि उनीहरूसँग जोडिने स्थानीय व्यवसायीको व्यवहारले पर्यटकको बसाइ निर्धारण गर्ने व्यवसायी बताउँछन् ।  

व्यवसायी पविमाया गुरुङ पर्यटकलाई गरिने सत्कारले उनीहरूलाई यहाँ रहन, पुनः फर्केर आउन र अरूलाई पनि इलामको सकारात्मक पक्षबारे प्रचार गर्न सहयोग पुग्ने बताउँछिन्। ‘कुनै पर्यटक आए उसलाई फेरि आउने अथवा धेरै समय यहीं बिताउने वातावरण व्यवसायीले नै बनाउने हो,’ उनले भनिन्, ‘यात्रा गर्दा र होटल, होमस्टेमा बस्दा उनीहरूप्रति गरिने व्यवहारमा निकै ध्यान दिनुपर्छ।’  

 होटल व्यवसायमा लगानी गरेका व्यवसायीले कोभिड–१९ सुरु भएपछि लाखौं रुपैयाँको घाटा बेहोर्नुपरेको थियो। अहिले पर्यटकको संख्या बढ्न थालेपछि पुनः कोभिड–१९ को त्रास भएपनि पर्यटन व्यवसायलाई बचाउन आवश्यक रहेको व्यवसायी बताउँछन्। जिल्लामा यहाँको प्राकृतिक सौन्दर्य, जैविक विविधता, कृषि फार्म अवलोकन र विभिन्न अध्ययनका लागि पर्यटक आइपुग्छन्। अहिले विभिन्न जिल्लाबाट ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने र फर्किने पर्यटक पनि इलाम आएर बास बसिरहेका छन्।  

त्यतिमात्र होइन, यहाँका कृषि फार्म अवलोकन गर्ने पर्यटकको संख्या पनि बढ्दो छ। साखेजुङका किसान गंगा विष्ट आफ्नो किबी फार्ममा देशका विभिन्न स्थानका पर्यटक आउनेगरेको बताउँछन्। ‘यहाँको व्यावसायिक खेतीप्रणाली हेर्न पनि देशका विभिन्न स्थानबाट पर्यटक आइरहेका छन्,’ उनले भने, ‘आएका पर्यटकलाई गाउँकै होमस्टेमा राख्ने, उनीहरूप्रति सकारात्मक व्यवहार र उनीहरूले चाहेअनुसारको सेवा दिने हो भने पर्यटन व्यवसाय उक्सिन सक्नेरहेछ।’ उनले अब हिमाल, चियाबारी, अग्ला डाँडाकाँडामात्र होइन, यहाँका किसानको मेहनत, नयाँ–नयाँ खेती, पशुपालनलगायत अवलोकन गर्न पनि पर्यटक आउने सम्भावना बढेको बताए।  

तर, व्यवसायीले सरकारले पनि निजी क्षेत्रसँग सहकार्य गरेमात्रै पर्यटन व्यवसाय उक्सिन सक्ने बताएका छन्। होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले स्थानीय सरकारले पर्यटन विकासका लागि निजी क्षेत्रसँग समन्वय गर्न नसकेको बताए। ‘कोभिड–१९ का कारण सबैभन्दा बढी घाटा बेहोरेका व्यवसायीसँग सरकारले पनि नयाँ योजनाका लागि सहकार्य गर्नुपथ्र्यो,’ उनले भने, ‘सरकार र निजी क्षेत्र आ–आफ्नै हिसाबले होइन, समन्वय र सहकार्य गरेर अघि बढेमात्रै पर्यटन विकासमा टेवा पुग्छ।’  

व्यवसायी मदन श्रेष्ठले पर्यटनको उच्च सम्भावना भएका स्थानमा होटल, रिसोर्ट खोल्न चाहेपनि लगानी सुरक्षा अभावले व्यवसायी हतोत्साही भएको बताए । ‘व्यवसाय सुरक्षित भएमात्रै होटलमा लगानी बढ्छ,’ उनले भने, ‘लगानी राम्रो भएमात्रै पर्यटकलाई उनीहरूले चाहेअनुरूप सेवा प्रदान गर्न सकिन्छ।’  

जिल्लाका विभिन्न स्थानीय तहले पछिल्लो समय पर्यटन विकासका लागि पूर्वाधारका काम गरिरहेका छन् । कतै सडक निर्माण गरिँदैछ भने कतै भ्युटावर, सडकमा रेलिङ, पोखरी सौन्दर्यीकरण, पदमार्ग छेउछाउमा रंगरोगनलगायत काम भइरहेका छन्। इलाम नगरपालिकाले जिल्लामै नयाँ हुनेगरी बञ्जीजम्पको सम्भावना पहिल्याउँदैछ भने द्रुतमार्ग निर्माण, धार्मिक पर्यटकीय पूर्वाधार विकास काम गर्दैछ। नगरका मेयर महेश बस्नेत नगरले पूर्वाधार विकासमात्र होइन, पर्यटन क्षेत्रमा हुने लगानीको सुरक्षा ग्यारेन्टीसमेत गर्ने प्रतिबद्धता गर्छन्। ‘इलाममा के पर्यटकीय छ भन्नुभन्दा पनि के चाहिँ पर्यटकीय छैन भनेर हेर्नुपर्छ,’ उनले भने, ‘यतिको सम्भावना भएको ठाउँमा पर्यटनका लागि लगानी सुरक्षित नै हुन्छ।’

दिनमै सयौं आन्तरिक पर्यटक आउने जिल्लाका पर्यटकीयस्थल गतवर्षको चैत–वैशाखयता शून्यझैं थियो । चैतयता बन्द होटल र होमस्टे साउनपछि तंग्रिए पनि पर्यटक आएनन्। कात्तिकमा आइपुग्दा झन्डै अरूबेलाकै हाराहारीमा पर्यटक आएका थिए। तर, यहाँको व्यवसाय पुरानै लयमा फर्किन सकेको थिएन।  

कन्याम चियाबारीको सौन्दर्य इलाम आउने पर्यटकको एउटा आकर्षण हो । मौसम खुलेका बेला हर्कटे, पाथीभरा र कन्याम चियाबारीबाट कञ्चनजंघासहितका हिमाल नजिकै देखिन्छन्। यो सिजनमा कन्याममा वनभोज खान आउनेको धुइरो लाग्छ। पर्यटकहरू घोडामा चढेर, स्थानीय जातजातिका पोसाक लगाएर रमाउँछन्। नजिकै पाथीभरादेवीको मन्दिर पनि रहेकाले यहाँ अरू दिनभन्दा शनिबार र मंगलबार चाहिँ पर्यटकको भिड लाग्ने गरेको छ।  

झापा र इलामको सीमा जोरकलशदेखि कन्याम हुँदै फिक्कलसम्म सयभन्दा बढी होटल/रिसोर्ट छन्। यी होटल/रिसोर्टमा यतिबेला पर्यटकको संख्या बढ्दैछ । अर्को पर्यटकीय क्षेत्र अन्तुमा अहिले दिनहुँ बाक्लो संख्यामा पर्यटक आउँदैछन् । ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको अन्तु क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा धेरै होटल छन्।

गतवर्षको अंग्रेजी नयाँ वर्ष सुरु हुनलाग्दा ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी मेची राजमार्ग आसपासमा मात्रै ३ दर्जनभन्दा बढी नयाँ होटल/रिसोर्ट खुलेका थिए। ती होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूको लगानी डुब्ने अवस्थामा पुगेको थियो । एसोसिएसनका अनुसार जिल्लामा साढे ४ सय होटल तथा रेस्टुरेन्ट छन्। तीमध्ये ठूला ६०, मझौला २ सय र सानाको संख्या १ सय ९० छ। 

प्रकाशित: ३१ चैत्र २०७७ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App