८ वैशाख २०८१ शनिबार
अर्थ

मेलम्चीको पानी पुरानो वितरण प्रणालीले थेग्न सकेन

मेलम्ची खानेपानी आयोजनाले गत चैत १५ गतेदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै वितरण प्रणालीमार्फत मेलम्चीको पानी सीमित उपभोक्ताको घरघरमा पठाउन थाल्यो। वर्षौंदेखि मर्मतसम्भार नभएर माक्किएको वितरण प्रणालीले एक्कासि मेलम्चीको पानी हाल्दा थेग्न सकेन र ठाउँठाउँमा चुहावट देखिन थालेको छ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी पुरानो वितरण प्रणालीबाट पठाउँदा केही स्थानमा चुहावट भएको बताए। ‘पुरानो वितरण लाइनबाट मेलम्ची पानी पठाउँदा केही स्थानमा लिकेजको समस्या आइरहेको छ,’ उनले भने, ‘लिकेज भएको खबर आएको २४ घन्टाभित्रै समाधान गर्ने प्रयास गरिरहेका छौं।’ प्रवक्ता राईले खासगरी काठमाडौंको भित्री बस्तीमा चुहावट अत्यधिक देखिएको बताए।  

ठमेल, लाजिम्पाट, वीर अस्पताल, त्रिपुरेश्वर, न्युरोड, टेबहाल, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर लगायत क्षेत्रमा समस्या देखिएको हो। ‘काठमाडौंको भित्री बस्तीको घरसँगै जोडिएको पाइपलाइनमा धेरै लिकेज देखिएको छ,’ उनले भने, ‘खानेपानी र ढलको पाइप सँगसँगै भएकाले पनि लिकेज धेरै देखिएको हो। केयुकेएलले लिकेज समाधानको लागि काम गरिरहेको छ।’  

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली मेलम्चीको खानेपानी पुरानै वितरण लाइनबाट पठाउँदा धेरै सडकमा चुहावट भएको बताउँछन्। ‘मेलम्ची पानीको चुहावट नियन्त्रण गर्ने नाममा जथाभावी रूपमा सडक खन्न पाइँदैन,’ उनले भने, ‘सडक विभाग तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरेर मात्रै चुहावट भएको स्थानको सडक खन्न अनुरोध गर्दछु।’

प्रमुख नेपाली खानेपानीको चुहावट नियन्त्रण गर्ने नाममा जथाभावी सडक खन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँछन्। ‘धेरै मेहनत गरेर उपत्यकाको सडक केही राम्रो बनाएका छौं। कसैले पनि जभाभावी खनेर अलपत्र पार्नु भएन,’ उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक वस्तु चुहावट नियन्त्रणमा अवरोध त गमर्न सकिन्नँ। तर सडक खनेपछि जस्ताको तस्तै बनाइदिने प्रतिबद्धता गरेपछि मात्रै खन्न अनुरोध गर्दछौं।’  

प्रमुख नेपालीले केयुकेएलले कीर्तिपुर, बानेश्वरको भित्री इलाकामा खानेपानीको पाइप बिछ्याउन तथा मर्मतसम्भारको लागि अनुमति लिएको बताए। ‘अनुमतिबिना कसैलाई पनि सडक नखन्न अनुरोध गरेका छौं,’ उनले भने, ‘अनुमतिबिनै सडक खन्नेलाई कानुनबमोजिम कारवाही गर्नेछौं।’  

केयुकेएलले अनामनगरको सात सय २२ धाराबाहेक अन्य स्थानमा केयुकेएलको पुरानै वितरण प्रणालीबाट पानी वितरण गर्दै आइरहेको छ। केयुकेएलका अनुसार पुरानै साबिकको नौ करोड लिटर र मेलम्ची खानेपानी आयोजनाको साढे आठ करोड लिटर गरेर अहिले कुल साढे १७ करोड लिटर पानी वितरण गर्दै आइरहेको जनाएको छ।  

केयुकेएलका प्रवक्ता राईले कम्पनीको मुख्य वितरण लाइनमा भन्दा पनि जनताको घरसँग जोडिएको इलाकामा चुहावट देखिएको बताए। ‘कतिपय ठाउँमा हाउस कनेक्सन एरियामा चुहावट देखिएको छ,’ उनले भने, ‘सकेसम्म सडक विभागसँग समन्वय गरेरै चुहावट नियन्त्रणको काम गरिरहेका छौं।’  

केयुकेएलले पानीको चुहावट भएको ठाउँमा मात्रै खाल्डो खनेर चुहावट नियन्त्रण गर्दै आइरहेको उनको भनाइ छ। ‘पानीको चुहावट भएसँगै एकातर्फ सडक बिग्रिने अर्कोतर्फ जनताले पानी उपयोग गर्न नपाइने त्यसै खेर जाने गर्छ। त्यसैले पनि चुहावट नियन्त्रणको काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पानी खेर नजाओस् भनेर नै काम गरिरहेका छौं।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले अहिलेसम्म ११ सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको छ। अहिलेसम्म करिब दुई सय किलोमिटर मात्रै पाइपलाइनको परीक्षण सम्पन्न गरेको छ। निर्देशनालयले एकपछि अर्को गर्दै पाइप परीक्षण कार्यलाई तीव्रता दिइरहेको जनायो।

प्रकाशित: ३० चैत्र २०७७ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App