coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

सुर्खेतमा परीक्षण उडान गर्दै श्री एयर लाइन्स । तस्बिरः नागरिक

श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।

केही सातामै नियमित उडान भर्ने भन्दै श्री एयरलाइन्सले माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । उडानका लागि अनुमति प्रक्रिया भइरहेकाले तत्कालन सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ । जहाज अभावका कारण पनि श्री एयरले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो । ‘अब हाम्रो नयाँ जहाज पनि आउँदैछ,’ श्री एयरलाइन्सका रिजर्भेसन प्रमुख सुरेश मलिकले भने, ‘त्यतिबेलासम्म सुर्खेतका उडानका लागि अनुमति पनि पाइसक्छौं ।’ नयाँ जहाज आइसकेपछि र अनुमति प्राप्त पछि सुर्खेतमा नियमित उडान गर्ने उनले जनाए ।

सुर्खेतमा अहिले कार्यालय व्यवस्थापनको काम सकिएको बताइएको छ । सुर्खेतमा ८० सिटे जहाज उडान गर्ने श्री एयरलाइन्सले जनाएको छ । वैशाखको तेस्रो सातासम्म नियमित उडान गर्ने गरी काम भइरहेको श्री एयरलाइन्सको भनाइ छ । ‘काठमाडौं–सुर्खेत ८० जना यात्रु नै बोक्छौं,’ रिजर्भेसन प्रमुख मलिकले भने, ‘सुर्खेत–काठमाडौं ६० देखि ६५ जनासम्म यात्रुलाई सेवा दिन्छौं ।’ नियमित उडानपछि श्री एयरलाइन्सले दैनिक उडान भर्ने उनको भनाइ छ ।

‘कर्णालीका जनतालाई सहज सेवा दिने उद्देश्यले उडान गर्न लागेका छौं,’ नेपालगन्जस्थित श्री एयर लाइन्सका प्रमुख परसुराम चाधैरीले भने, ‘आशा छ कर्णालीका जनताले यसमा साथ दिने छन् ।’ अहिले सुर्खेत–काठमाडौं बुद्धले मात्र उडान गर्दै आएको छ । बुद्धले दैनिक एउटा मात्र उडान भर्दा टिकट नपाइने समस्याले कर्णालीवासी नेपालगन्ज पुग्नु पर्ने बाध्यता छ । ‘काठमाडौं जान सुर्खेतमा टिकट पाउननै मुस्किल छ,’ सुर्खेतका जितबहादुर घर्तीले भने, ‘नेपालगन्ज गएर जहाजमा काठमाडौं जानुपर्ने बाध्यता छ ।’ अरु निजी विमान कम्पनीहरुले पनि काठमाडौं–सुर्खेत उडान गरे कर्णालीवासीलाई सहज हुने उनको भनाइ छ ।

नियमित उडान

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ । बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ उडान भएका हुन् ।

बिहीबार सुर्खेतबाट आठवटा उडान भए । पाँच वडा सीता एयर लाइन्स, एक बुद्ध एयर लाइन्स र दुईवटा नेपाली सेनाका हेलिकोप्टरले उडान भरे । सीताले सुर्खेत–सिमकोट उडान भर्‍यो भने बुद्धले सुर्खेत–काठमाडौं उडान भरेको थियो । त्यस्तै नेपाली सेनाको हेलिकोप्टरले दैलेखबाट जटिलखालको सुत्केरी बेथा लागेको सुत्केरी महिला र शौचालय जाँदा घाइते भएका कालीकोटका एक युवकको उद्दारका लागि उडान भरेको थियो । साथै सीता एयरले सुर्खेतबाट खाद्यान्न र निर्माण सामग्री हवाइमार्फत ढुवानी गरेको छ । पाँच हजार केजी खाद्यान्न तथा निर्माण सामग्री ढुवानी भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

दुई हजार मिटरभन्दा कम भएको भिजिविलिटी बिहीबार पाँच हजारभन्दा बढी भयो । आकासका क्रमिक सुधार हुँदा बिहीबार पाँचौं दिनमा उडान भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । ‘बुधबार साँझ हावाहुरी लाग्यो,’ उनले भने, ‘हावाले तुवाँलो केही उडाएपछि मौसममा सुधार भएको छ ।’ चार दिनदेखि उडान प्रभावित हुँदा यात्रुहरु अलपत्र परेका थिए । चार दिनदेखि पाँच किलो मिटरसम्म आकास सफा थिएन । पाँचौ दिनमा १० किलोमिटर आकास सफा भएको नागरिक नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७७ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App