७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रम ओलीको फाष्ट ट्र्याक विकास: दुई वर्षमा ४ प्रतिशत काम

कछुवा गतिमा स्तरोन्नती भइरहेको बुटवल–नारायणघाट सडक ।

सरकारले विकास निर्माणमा छलाङ मारेको दावी गरीरहन्छ । केही निर्माणाधीन र केही डिपिआरै नभएका र ठेक्का प्रकृयामै नगएका आयोजनाहरुको उद्घाटन शिलान्यास गरेर विकास प्रेमी सरकार र नेताको छबि बनाउने प्रयत्नमा प्रधानमन्त्री केपि शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेल सुरु देखि नै लागेका हुन्।  

तर विकास प्रेमीको जस बटुल्ने हतारोमा शिलन्यास गरीएका कतिपय आयोजनाको कार्य प्रगति निराशाजनक छ । त्यसकै एउटा उदाहरण हो, बुटवल–नारायणघाट ४ लेन सडक । जुन निकै तामझामका साथ प्रम ओलीले दुई वर्षअघि शिलान्यास गरेका थिए । २०७५ को चैत ८ गते बुटवलमा सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणको काम फाष्ट ट्रयाकमा सम्पन्न हुने दावी गरेका थिए । तर दुई वर्षको कार्य प्रगतिले प्रम ओलीको दावीलाई अहिले गिज्याइरहेको छ । किनकी दुई वर्ष बितिसक्दा बुटवल–नारायणगढ सडक निर्माणको कार्य प्रगति जम्मा ४ प्रतिशत छ ।

बुटवल–नारायणगणघाट १ सय १३ किलोमिटर  सडकलाई ४ लेनमा स्तरोन्नती गर्न सन २०१९ को फेब्रुअरीमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) संग ठेक्का सम्भौता भएको हो । सम्झौता अनुरुप सन २०२२ को अगस्थमा निर्माण गरीसक्नु पर्नेछ । निर्माण पूरा भएपछिको ४ वर्षसम्म मर्मतको जिम्मा पनि ठेक्केदारकै रहनेछ ।  

यो सडक जंगल क्षेत्रमा ४ लेन र बस्ती क्षेत्रमा सर्भिस लेनसहित ६ लेनमा स्तरोन्नती हुनेछ । बुटवल राजमार्ग चौराहदेखि दाउन्नेसम्मको ४८.५ किलोमिटर र दाउन्नेदेखि गैडाकोटसम्मको ६४.४ किलोमिटरका दुईवटा प्याकेज छन् ।  

बुटवल–दाउन्ने खण्डको बर्दघाट र सुनवलका केही स्थानमा सडक चौडा पार्ने काम थालिएको छ । रुपन्देहीको देवदह, भलुही क्षेत्रमा पुल कलर्भड निर्माणका लागि डाइभर्सनको काम चलेको छ । तर ती काम कछुवा गतिमा छ । बाटो भत्काएर लामो समय काम नहुँदा धुलोले सडक किनारका बस्ती र सवारी आवागमनमा निकै समस्या भएको स्थानीयको गुनासो छ ।

आयोजनाको बुटवल– दाउन्ने खण्डमा ९ वटा ठूला र २१ वटा साना पुल बन्नेछन् । ती मध्ये ठूला ६ र साना ९ वटा पुलका लागि बल्ल पाइल्स धसाउन सुरु गरीएको छ । २४६ वटा कल्र्भट मध्ये ६० वटा तयार हुँदैछन् । बर्दघाट–दाउन्ने क्षेत्रमा मर्मतको काम दुई वर्ष बित्दा पनि सुरु भएकै छैन । जसका कारण दाउन्नेमा घण्टौ सवारी जाम लाग्छ । आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी युवराज पाण्डेले दाउन्ने क्षेत्रको सडक मर्मतको काम केही दिनभित्रै सुरु हुने बताए । यो खण्डमा अझै ३ हजार रुख काटन बाँकी छ । १० हजार काटिएको छ । बिजुलीको पोल र खानेपानीका पाइप सार्ने कामै सुरु भएकै छैन ।  

पोल सार्न करिब ३५ करोडका लागत स्टमेट निकालिएको छ । ठेक्का सम्झौतामा पोल र खानेपानीका पाइप ठेक्केदारले नै सार्ने उल्लेख छ । रेट नेगोसियसन अनुरुप इष्टमेट लागत भन्दा करिब १८ प्रतिशत कम मूल्यमा कम्पनीले काम गर्नुपर्ने हुन्छ । तर चिनियाँ कम्पनीले ३५ करोडमा घटेर काम गर्न आनाकानी गरेकाले ढिलाइ भएको आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले बताए ।

गैडाकोट–दाउन्ने खण्डमा पनि सडक निर्माणले गति लिएको छैन । यो खण्डमा चोरमाराको जंगल–थुम्सी क्षेत्रमा रुख काटेर बाटो चौडा पार्ने काम भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सडक क्षेत्रमा रुख कटान भइरहेको छ । पूर्वी खण्डमा कुल ३६ हजार रुख काट्नु पर्ने हो । तर अहिले सम्म १६ हजार रुख काटिएको छ ।  

कल्भर्ड २ सय बनाउनु पर्नेमा ५० वटा निर्माणाधीन छन् । यो खण्डमा साना २३ र ६ वटा ठूला पुल बन्नेछन् । त्यसमध्ये दुई वर्षमा जम्मा २ वटा पुलको काम भएको छ । ८ वटा साना पुलको काम भर्खर सुरु गरीएको छ । यो बाटोको दुवै खण्डमा गरेर करिब ५ हजार बिजुलीका पोल सार्नुपर्ने छ । तर ठेक्का सम्झौताको दुई वर्ष बितिसक्दा पोल सारिएको छैन ।  

यो सडक कुल १६ अर्ब ९९ करोड ५२ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ । कुल लागतको ८५ प्रतिशत एडिविको सहुलियत ऋण हो । बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ । यो सडक निर्माण सम्पन्न भएपछिको ४ वर्षसम्म मर्मत सम्भारको जिम्मा पनि ठेक्का पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन(सिएससीइसी)ले नै गर्ने सम्झौतामा उल्लेख छ । तत्कालिन राजा महेन्द्रले बिक्रम सम्बत २०१८ सालमा शिलान्यास गरेर २०२२ सालमा उद्घाटन गरीएको पूर्व पश्चिम राजमार्गको नारायण–बुटवल सडक खण्ड ५८ वर्षपछि स्तरोन्नती गर्न लागिएको हो ।  

अधिकारीहरुका अनुसार आयोजनाको साइट क्लियरको कामै नगरी हतारमा ठेक्का सम्झौता गरेर आयोजनाको शिलान्यास गरीएको थियो । जसका कारण निर्माणले समयमै गति लिन सकेन । निर्माण कम्पनीकै आन्तरिक समस्या, साइट क्लियरेन्स, रुख कटानको स्वीकृतिमा ढिलाइ र कोभिडका कारण आयोजनाले गती लिन नसकेको दावी दाउन्ने–नारायणगढ खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आर्चायले बताए ।

प्रकाशित: २९ चैत्र २०७७ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App