coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनको ल्हासामा रोकिएका सामग्रीको आयात सुरु

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस । तस्बिरः हिमनाथ/नागरिक

रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने छ।  

आउँदो बैशाख अन्तिमसम्ममा सबै सामग्री आइसक्ने आयोजना प्रमुख सुदनसिंह महतले बताए। ‘अहिले सामग्री आउने क्रम सुरु भएको छ’, ‘उनले भने, ‘सामग्री आएपछि चिनियाँ कामदारले उपकरण जडानको काम सुरु गर्ने छन्।’

इलेक्ट्रोमेकानिकलको धेरैजसो सामग्री चीनबाट आउने र ति सामग्री उतै रोकिँदा समस्या भएको थियो। कोभिड–१९ का कारण चिनियाँ कामदार नआउँदा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलको उपकरण जडान सुरु नभएको उनको भनाइ छ। ‘चिनियाँ टोली आएपछि उपकरण जडानको काम सुरु हुन्छ’, उनले भने, ‘काम सुरु भएको नौ महिना भित्रमा उत्पादन सुरु हुन्छ।’ आयोजनाले दिएको जानकारी अनुसार २०७८ असोजमा परीक्षण उत्पादन गर्ने र पुसदेखि व्यावसायिक उत्पादन गरिने छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पावरहाउसको रंगरोगन गर्ने काम गरिरहेको छ। आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। जसको कारण आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत् हबमा नै जोडिने छ।

प्रकाशित: २९ चैत्र २०७७ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App