१६ चैत्र २०८० शुक्रबार
अर्थ

रात्रिकालीन व्यवसायमा पुनः संकटको संकेत

फाइल तस्बिर

‘होटल खोल्यो, बस्ने पाहुना छैनन्। रेस्टुरेन्टमा खान आउने पनि देखिन्नन्। पर्यटक बस गुडायो यात्रु पाइँदैन, पसल खोल्यो ग्राहक आउन्नन्’ राजधानीका अधिकांश पर्यटन व्यवसायीको गुनासो यस्तै सुनिन्छ, अचेल। कोरोना संक्रमण रोक्न भन्दै सरकारले गरेको बन्दाबन्दी (लकडाउन) खुलेको लामो समय बितिसक्दा पनि पर्यटनमा आधारित व्यवसायीको मुहारमा खुसी फर्केको छैन। यसैबीच, आएको स्वास्थ्य मन्त्रालयको निर्णयले व्यवसायीको चिन्ता पुनः बढाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएसँगै लकडाउन सुरु भएको एक वर्षपछि पुनः ती व्यवसायमा सेमी–लकडाउन सुरु भएको छ। देशभर कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधबार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, होटल लगायत बन्द गर्न निर्देशन दिएको हो।  

त्यस्तै, मन्त्रालयले ठूला सहरमा एक हजार र साना सहरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन दिएकाले रेस्टुरेन्ट, होटल व्यवसाय फेरि पोहोर चैतपछिकै अवस्थामा पुगेको हो। छिमेकी भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले भीडभाड हुने स्थानमा कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।  

मन्त्रालयको निर्णयले रेस्टुरेन्ट व्यवसाय पुनः कोमामा जाने हो कि भन्ने चिन्ता थपिएको रेस्टुरेन्ट तथा बार एसोेसिएसन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीको भनाइ छ। लकडाउन खुलेसँगै व्यवसायमा आवद्ध मजदुर तथा कर्मचारीलाई काममा फर्काए पनि पछिल्लो निर्णयले फेरि समस्या सुरु हुने देखिएको उनको भनाइ छ।

‘त्यसै त पोहोरदेखि व्यवसायमा परेको मार अझै निको हुने अवस्था आएको थिएन,’ उनले भने, ‘सरकारले दिएको सहुलियत पनि ठूला लगानीका व्यवसायी र उद्योगीको पहुँच मात्र पुगेकाले यो क्षेत्रका अधिकांश व्यवसायी पुनः चिन्तित भएका छन्।’

विदेशी पाहुनामा मात्रै निर्भर रेस्टुरेन्ट सुनसान रहेको अवस्थामा पछिल्लो प्रतिबन्धले सबै खाले व्यवसायी प्रभावित हुने उनको भनाइ छ। आफूहरू सरकारले तोकेको स्वास्थ्य मापदण्ड मान्न तयार रहे पनि पर्यटकीय गतिविधि नै ठप्प हुने गरी हुँदै आएका पछिल्ला निर्णयले देशभरका ३५ सय हाराहारी रेस्टुरेन्ट तथा बार प्रभावित हुने देखिएको छ।  

रात्रिकालीन व्यवसाय नै बन्द भए ती प्रतिष्ठानमा आश्रित लाखौं श्रमिक र दैनिक करोडौं रूपैयाँमा खपत हुँदै आएको कृषि उपजको खरिदमा समेत समस्या पर्ने उनको अनुमान छ। गत असोजदेखि आर्थिक गतिविधि चलायमान हुन सुरु भए पनि पर्यटनमा आधारित व्यवसायी भने अझै पाहुनाकै बाटो हेरिरहेका थिए। आन्तरिक र बाह्य पाहुनाको अघिल्ला वर्षहरूमा जस्तो चहलपहल नहुँदा साना र मध्यम खालका व्यवसायबाहेक ठूला लगानीका पर्यटकीय पूर्वाधारहरू सुनसान नै छन्। आन्तरिततर्फका हवाई उडानमा यात्रुको चहलपहल देखिए पनि तिनमा विदेशी पाहुना देख्न अझै मुस्किल छ।  

घुमघामको बाटो खुले पनि पाहुना नआउँदा दिन कटाउँदै बसेका व्यवसायी रात्रिकालीन व्यवसायमा पुनः लकडाउन सुरु भएपछि निराश देखिएका छन्। अहिले पर्यटक सिजन चलिरहेको छ। विगतमा यतिबेला राजधानीसहित देशभरका प्रमुख पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिएका हुन्थे। सयौं पर्यटक बस राजधानीबाहिर र राजधानी ओहोरदोहोर गरिरहेका हुन्थे। रङको पर्व फागुपूर्णिमा नजिकिएसँगै पोखरा र काठमाडौंको दरबारमार्ग, बसन्तपुर क्षेत्रमा विदेशी थुप्रै देखिन्थे।

तर विदेशी अनुहारको अभावमा अहिले राजधानी ओहोरदोहोर गर्ने पर्यटक बसहरू रित्तै देखिन्छन् भने पर्यटकीय गन्तव्यहरू सुनसान छन्। उपत्यकाको रात्रिकालीन व्यवसायलाई प्रोत्साहन गर्ने र सम्पदा क्षेत्रको रात्रिकालीन अवलोकनलाई बढावा दिनेतर्फ सरकारले ध्यान दिएको छैन। पछिल्ला महिनामा नेपाल आउने विदेशीको संख्या बढ्दै गए पनि पर्यटकीय क्षेत्रमा भने अझै कोरोना असर कायमै देखिन्छ।  

अहिले राजधानीका बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र पुगेका पर्यटकलाई रातको ८ नबज्दै धपाउने गरिएको छ। कोरोना महामारीको कारण देखाउँदै प्रशासनले कडाइ गरेपछि सम्पदा क्षेत्रमा पर्यटकीय चहलपहल सुनसान छ। विगतमा वसन्त ऋतुको सुरुआतसँगै समूह बनाएर आउने पर्यटक राजधानीका सम्पदा क्षेत्रमा रातिसम्म रमाइरहेका देखिन्थे। 

प्रकाशित: २७ चैत्र २०७७ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App