४ वैशाख २०८१ मंगलबार
अर्थ

व्यवसायका प्रक्रियागत झन्झट हटाउने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, व्यवसाय सञ्चालन गर्दाको प्रक्रियागत झन्झट हटाई सरलीकृत सेवा प्रवाह गर्ने बताएका छन्। उनले बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत झन्झटकै कारण व्यवसायीले उद्योगधन्दाको योजना बनाउँदा बनाउँदै आधा उमेर जाने बताए।  

‘हामी प्रक्रियाको जञ्जालबाट सरलीकृत सेवातर्फ जान जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकल बिन्दु सेवा केन्द्र सुरु गरिसकेको छ। यो सेवा प्रभावकारी नभएको हुन सक्छ। अब भने प्रभावकारी ढंगले अघि बढाउनेछौं।’ प्रधानमन्त्री ओलीले प्रक्रियागत झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने गरी योजना अघि सारिसकेको पनि दाबी गरे। सो अवसरमा उनले नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सव स्मारिका सिक्का र स्मारिका विमोचन गरे। 

‘अब हरेक कार्यालयको सेवा प्रवाहलाई एकद्वार प्रणालीबाट लागू गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘प्रक्रियागत झन्झटको जञ्जाल हटाउने मात्रै होइन ब्युरोक्रेटिक हर्डल्सलाई पनि सरलीकृत गर्ने योजना छिट्टै कार्यान्वयन गर्दैछौं।’ प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादन बढाउने उद्योगधन्दा स्थापना गर्न आग्रह गरे।

‘हामीले अत्याधुनिक प्रविधि र लगानी मात्रै आयात गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा उत्पादन गर्न नसकिने अत्यावश्यक वस्तु र सेवाबाहेक अन्य सम्पूर्ण वस्तु स्वदेशमै उत्पादन गर्ने हो, आयात गर्ने होइन।’ प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन बढाएर विदेश निर्यात गर्नेतर्फ पनि उद्योगी व्यवसायी अग्रसर हुनुपर्ने सुझाए। मुलुकभित्रै उत्पादन तथा उत्पादकत्व बढाउन सके मुलुकको व्यापार घाटामा समेत कमी आउँथ्यो,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिसमेत बचत भएर मुलुक आर्थिक समृद्धितर्फ अगाडि लम्किन्थ्यो।’  

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड १९ को कारण उद्योगी, व्यवसायी ठूलो संकटमा परेकाले सरकारले कोरोनाबाट पुनस्र्थापना र पुनरुत्थान गर्ने खालका कार्यक्रम अघि सार्नुपर्ने बताए। ‘म यो आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रूपमा नेपालको नाउँ सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छ। सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष श्रेष्ठले भने। उनले अर्थतन्त्र अहिलेसम्म सन्तोषजनक अवस्थामा आइनसकेको पनि बताए।  

‘मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा छैन। कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसके तापनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ,’ उनले भने, ‘पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन।’ अध्यक्ष श्रेष्ठले कोरोनाले मुलुकको अर्थतन्त्र अझैसम्म सुखद हुन नसकेको बताए। ‘विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैन भन्ने देखिन्छ। यतिमात्र होइन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब दुई प्रतिशतले ऋणात्मक भएको देखाएको छ।’  

अध्यक्ष श्रेष्ठले ३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यत्ति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतभन्दा पनि इच्छाशक्ति आवश्यक पर्ने देखिएको बताए। ‘विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहतसम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थपक्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन।’ उनले भने। ‘म चेम्बरको प्रत्यक्ष नेतृत्वमा नरहे पनि चेम्बरभित्रै छु। मेरो जीवनका उर्वर समय चेम्बर अफ कमर्समै बितेको छ र आज मेरो जुन पहिचान बनेको छ, त्यसमा चेम्बर पनि जोडिएको छ,’ उनले भने, ‘त्यसैले यसबाट म कहिल्यै टाढा हुन सक्दिनँ। मलाई झैं नयाँ नेतृत्वलाई पनि पूर्ण सहयोग रहने अपेक्षा गरेको छु।’  

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले सरकारले उद्योग, व्यवसाय प्रवर्धन गर्ने खालका नीति तथा कार्यक्रम अघि सार्नुपर्ने बताए। ‘प्रधानमन्त्रीज्यूले दुई मिनेट समय उपलब्ध गराएर मेरो योजना सुन्ने हो भने,’ उनले भने, ‘वार्षिक एक खर्बभन्दा धेरै बजेट जुटाइदिन्थें।’ पुराना उद्योगी श्रेष्ठले मुलुकमा कार्यकारी राष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताए। ‘अब प्रत्यक्ष जनताबाट निर्वाचत हुने व्यवस्था लागू गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अब राष्ट्रपतिले काम गर्न सक्ने खालको मन्त्री रोज्न पाउने व्यवस्था गरौं।’

प्रकाशित: २७ चैत्र २०७७ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App