५ वैशाख २०८१ बुधबार
अर्थ

रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरू

लाङटाङ जान लागेका स्वदेशी पर्यटक । तस्बिर : हिमनाथ/नागरिक

पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।

पछिल्लो समय जिल्लाको गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गमा विदेशी पर्यटकको चहल पहल देखिन थालेको छ। अहिले विदेशी पर्यटकहरूको चहलपहलसँगै गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रका होटल व्यवसायीहरू समेत हर्षित भएका छन्। गएको असोज महिनादेखि नेपाली पर्यटकको आगमन सुरु भएपनि विदेशी आउने क्रम ढिलो गरी सुरु भएको हो।  

फागुनबाट लागेपछि निकुञ्जको पर्यटकीय क्षेत्रहरूमा विदेशी पर्यटकको आगमन सुरु भएपनि चैत लागेपछि संख्या बढ्दै गएको छ। दैनिक ३/४ जना पर्यटक आइरहेका छन्। आएका विदेशी पर्यटकमध्ये लाङटाङ जानेको संख्या बढी छ।  

रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार कोरोनाका कारण लामो समयदेखि विदेशी पर्यटकको आगमन नभएको र बिस्तारै आउने क्रम बढ्दा व्यवसायीमा केही आसा पलाएको छ।  

गत आर्थिक वर्ष २०७६/७७ मा ८ हजार १ सय ३८ विदेशी र सार्क राष्ट्रका १ सय ४ पर्यटक आएका थिए। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुस महिनादेखि नै पर्यटक आउने क्रम घटेको थियो। कोरोनाको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि पर्यटक आउने क्रम शून्यमा झर्‍यो। निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि २० हजारसम्म पर्यटक आउने गरेका छन्। यो निकुञ्जले प्रवेश शुल्क लिएको आधारमा राखिएको तथ्यांक हो। शुल्क नतिरी आउने नेपाली पर्यटकको संख्या उच्च छ।  

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।  

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ। 

प्रकाशित: २६ चैत्र २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App