८ वैशाख २०८१ शनिबार
अर्थ

वायु प्रदूषणः २८ हजार हवाई यात्रुको उडान रोकियो, होटलको अकुपेन्सी घट्यो

पोखराबाट हुने झन्डै दुई सय उडान प्रभावित

तुँवालोले ढाकिएको पोखरा । तस्बिरः उमेश पुन/नागरिक

अहिलेको वायु प्रदूषणले मानव स्वास्थ्यमा असर पर्ने चिकित्सकले बताईरहेका छन् । त्यसैले सकेसम्म बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन पनि उनीहरुको सुझाव छ । वायु प्रदूषणले मानव स्वास्थ्य असर त पर्छ नै यसले आर्थिक रुपमा पनि नोक्सानी पुर्‍याएको छ । तर, वायु प्रदूषणका कारण आर्थिक रुपमा परेको नोक्सानीको भने चर्चा कमै हुने गरेको छ ।  

अघिल्लो हप्ता पाँचदिनसम्म पोखराबाट कुनैपनि गन्तव्यमा हवाई उडान हुन सकेन् । पाँचदिनपछि जसोतसो खुलेको मौसम पुन बिग्रँदा सोमबारदेखि यहाँबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ । चारदिनदेखि पोखराको हवाई सेवा दिनहुँ प्रभावित छ । त्यसले गर्दा हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन् । पोखराबाट काठमाडौ, भरतपुर, भैरहवा, जोमसोम र नेपालगञ्जसम्म नियमित उडान हुने गरेका थिए । दैनिक रुपमा पोखराबाट हुने दुईदर्जन (एकतर्फी) हाराहारी को उडान वायु प्रदूषणका कारण भिजिविलिटी अपुग हुँदा प्रभावित छन् ।  

पोखरा विमानस्थलका प्रमुख बिक्रमराज गौतमका अनुसार हवाई उडान अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नेबाहेक आर्थिक रुपमा पनि नोक्सानी पुगेको छ । अहिलेसम्म पोखराबाट हुने झन्डै दुईसय उडान प्रभावित भईसकेका छन् । यो अवधिमा झन्डै २८ हजार यात्रुको आउजाउमा अवरोध आएको गौतमले बताए । ‘पोखरा विमानस्थलले मात्र अहिलेसम्म झन्डै ६० लाख रुपैयाँ नोक्सानी भोग्नुपरेको छ । जहाज उडान, अवतरण, पार्किङ गराउँदाको शुल्क एयरलाईन्सले विमानस्थललाई तिर्नुपर्छ,’ गौतमले भने, ‘जहाज नै आउन नसकेपछि शुल्क लिने कुरै भएन ।’

गौतमका अनुसार सबैभन्दा ठुलो आर्थिक मार एयरलाइन्सले बेहोरेका छन् । उनका अनुसार यतिबेला पोखराका उडानमा आन्तरिक पाहुनाको अकुपेन्सी निकै नै राम्रो थियो । उडान अवरुद्ध हुँदाका यी दिनमा मात्र करिब २८ हजार यात्रुको ओहोरदोहोर रोकिँदा एयरलाइन्सले मार खेपेको गौतम बताउँछन् । ‘४ हजार रुपैयाँका दरले २८ हजार यात्रुको भाडाको हिसाब गर्दा पनि ११ करोड रुपैयाँको नोक्सानी एयरलाइन्सले गुमाएका छन,’ गौतमले भने, ‘यात्रु नै आउजाउ गर्न नपाएपछि विमान थन्काएर राख्नुपरेको छ । आर्थिक रुपमा यो घाटा नै हो ।’  

त्यसबाहेक पोखरा आउने हवाई यात्रुमध्ये अहिले आन्तरिक छन् । कोरोना भाइरस त्रासले गर्दा विदेशी पाहुना यो बेला आउन पाएका छैनन । त्यसैले आन्तरिक यात्रु मात्र उडाएर एयरलाइन्सले व्यवसाय धानेका थिए । तर, जहाज नै उडाउन नपाएपछि नोक्सानी खेपेको उनले बताए । ‘पोखरा भित्रिएका हवाई यात्रुमध्ये कम्तिमा ३० प्रतिशत यात्रु पर्यटकको रुपमा घुमघामका लागि आउने गर्दथे । ती सबै पाहुना रोकिएका छन,’ उनले भने,’ पाहुना भित्र्याउन नपाउँदा पोखराको पर्यटन क्षेत्रमा पनि मार परेको छ ।’  

नेपाली नयाँवर्ष नजिकिँदै गर्र्दा कहिलेदेखि हवाई उडान नियमित हुन्छ भन्ने भन्न सकिने अवस्था नरहेको गौतमको भनाई छ । ‘यो बेला पाहुना घुमघामको सिजन हो । नेपाली नयाँवर्षको रमझममा पोखरामा यो बेला आन्तरिक पाहुना आउने तयारीमा हुन्छन । तर त्यो बेलासम्म उडानको निश्चितता नहुँदा थप आर्थिक नोक्सानीको सम्भावना रहेको उनले बताए । ‘बिदाको बेला पाहुना घुम्न आउँछन् । पछिल्लो समय हवाई उडानमा आन्तरिक पाहुनाको आकर्षण थियो । तर, अहिले वायु प्रदूषणले सबैलाई मार पारेको छ,’ उनले भने ।  

एयरलाइन्सका पदाधिकारी पनि लामो समयसम्म हवाई उडान गर्न नपाउँदा मार खेप्नुपरेको बताँछन् । बुद्ध एयरका पोखरा प्रमुख गौतम बराल भन्छन्, ‘विमानस्थलको कमाई आफैमा घाटामा छ । सबैभन्दा बढी नोक्सानी त हवाई कम्पनिले बेहोरेका छन्,’ बरालले, ‘विभिन्न गन्तव्यमा हुने दैनिक दुईदर्जन बढी उडान ठप्प हुँदा असरै असर छ ।’ एयरलाइन्सको दैनिक खर्च भईरहेको छ, तर आम्दानी गुमेको उनले बताए । ‘टिकट काटेका यात्रुलाई दिनहुँ उडान गर्न नपाउँदा टिकटको रकम फिर्ता गराउनुपरेको छ,’ उनले भने, ‘हामीले त नोक्सानी खेपेका छौ, जहाजले बोकेर ल्याएका यात्रुलाई सेवा दिएर कमाई गरेका ट्याक्सी देखि पोखराको पर्यटन क्षेत्रलाई नै मार परेको छ ।’ अब पनि कहिलेदेखि नियमित उडान हुन्छ भन्न नसकिने उनले बताए ।  

पर्यटन व्यवसायी पनि अहिलेको वायु प्रदूषणका कारण पर्यटन क्षेत्रमा समेत नोक्सानी पुगेको बताउँछन् । ‘वायु प्रदूषणले स्वास्थ्यमा असर पर्ने कुरा बढि चर्चामा छ । तर यसले आर्थिक रुपमा पनि नोक्सानी गरेको छ । आर्थिक नोक्सानीको त लेखाजोखा नै छैन,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष धर्मराज पन्थी भन्छन, ‘कोरोनाले गर्दा लामो समय नोक्सानी खेपेका पर्यटन व्यवसायी अहिलेको प्रदूषणको पनि शिकार बनेका छन् ।’

पन्थीले लेकसाइडमा होटल एशिया चलाएका छन् । उनले मात्र यो प्रदूषणको अवधिमा झन्डे डेढदर्जन कोठाको बुकिङ गुमाएका छन् । हवाईजहाज चढेर आउने तयारीमा रहेका पाहुना जहाज नउड्दा पोखरा आउन नपाएको उनी बताउँछन् । ‘जहाज नै नचलेपछि पोखरा आउने तयारीका पाहुनाले बुकिङ रद्द गरे । त्यसबाहेक आएका पाहुना पनि प्रदूषणले कतै देख्न नपाएको भन्दै फर्किएका छन,’ पन्थी भन्छन, ‘आएका पाहुना पनि घुम्न जान सकेका छैनन ।’  

उनका अनुसार पाहुनाले बिहानको समयमा सराङकोट जाँदा सवारी प्रयोग गर्दथे, ती पाहुना अहिले कतै दृष्य देख्न नसकिने भन्दै होटलमै बस्ने गरेका छन् । ‘आउजाउदेखि घुमघामका गतिविधि पनि पाहुनाले गरेका छैनन,’ उनले भने, ‘पाहुना घुमघाममा नजाँदा पनि हामीलाई नै मार पर्ने हो ।’ कोरोना त्रासले आर्थिक रुपमा नोक्सानी खेपेको बेला प्रदूषणका कारण पनि घुमफिरमा निस्कन नपाउँदा आर्थिक रुपमा व्यवसायीलाई नोक्सान पुगेको उनले सुनाए ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार भिजिविलिटीको समस्याले एयरलाइन्स ठप्प हुँदा पाहुना आउजाउ गर्न नपाएको र त्यसको मार होटलको बुकिङमा परेको छ । ‘हवाई उडान नहुँदा झन्डै ३० प्रतिशत पाहुना रोकिए । बुकिङ गरेका पाहुना पनि आउन सकेनन,’ पराजुली भन्छन, ‘सबै पाहुना गाडीमा हिड्न रुचाउँदैनन । पछिल्लो समय आन्तरिक यात्रुकै कारण हवाई सेवाले लय लिएको थियो । तर एकाएक त्यो लय बिग्रेको छ ।’  

कोरोना त्रासले लामो समय घरभित्र थुनिएका पाहुना यो बेला घुम्न निस्कन थालेको भएपनि ती पाहुना नआउँदा व्यवसायीलाई असर परेको उनले बताए । ‘जसोतसो आएका पाहुना पनि घुमफिरमा निस्कन चाहेका छैनन् । घुमघाम नै असहज बनाएको छ,’ उनले भने । उनका अनुसार केही समयअघिसम्म पोखराका होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेकोमा अहिले उडान अवरुद्ध हुँदा आधामा झरेको छ ।

प्रकाशित: २६ चैत्र २०७७ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App