८ वैशाख २०८१ शनिबार
अर्थ

पदमार्गमा सञ्चालित होटलका लागि दररेट निर्धारण

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसल तथा निर्धारण गरिएको दररेट । तस्बिरः हिमनाथ/नागरिक

गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलका लागि पहिलो पटक दररेट निर्धारण गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको लागि नयाँ दररेट निर्धारण गरेको हो।  

यसअघि जनैपूर्णिमा मेलाको लागि मात्रै दररेट निर्धारण गर्ने गरिएको थियो। गोसाइँकुण्ड जाने तीर्थयात्रीले होटलहरूले बढी मूल्य लिएको गुनासो गरेपछि दररेट निर्धारण गरिएको हो। अहिले निर्धारण गरिएको दररेट २०७८ चैतसम्म लागू हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्।  

धुन्चे गोसाइँकुण्ड पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको निकुञ्जले जनाएको छ। निकुञ्जले दालभात, चाउचाउ सुप, दूध चिया, कालो चिया, टिबटेन रोटी, पेनकेक, पकाएको अण्डा, अण्डा अमलेट, चाउमिन, लसुन सुप तथा अज्य सुप, तातोपानी, बोतलको पानी, कोक फेन्टा र कफीको मूल्य निर्धारण गरेको छ। साथै बास बस्नका लागि प्रतिवेडको मूल्य राखिएको छ।  

धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन्। जसमा क वर्गको २, ख वर्गको ८ र ग वर्गको ३ वटा छन्। साथै निजी जग्गामा समेत होटलहरू निर्माण भएका छन्।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन्। उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनु पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘ग’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ। चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ।  

भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए। भूकम्पपश्चात् निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो। लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन्। पर्यटकीय क्षेत्रहरूमा विदेशी पर्यटक आउने क्रम सुरु भएको छ। स्वदेशी पर्यटकको आगमन विस्तारै बढ्दै गएको छ। आएका पर्यटक गोसाइँकुण्ड गइरहेका छन्।

प्रकाशित: २५ चैत्र २०७७ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App