८ वैशाख २०८१ शनिबार
अर्थ

उडानमा तुँवालोको समस्या कायमै

काठमाडौं लगायत देशभरको आकाशमा बढेको धुलो र धुँवाका कारण हवाई उडान प्रभावित भएको छ। गत शुक्रबारदेखि बढेको तुँवालोले विमानलाई चाहिने भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका उडान प्रभावित भएका छन्। शुक्रबारयता दर्जनौं हवाई उडान रद्द भएका छन्। मंगलबार अन्तर्राष्ट्रियतर्फका दुई र आन्तरिकतर्फका दर्जनौं उडान रद्द भएका छन्।  

विमानस्थल कार्यालयका अनुसार अफगानिस्तानबाट राष्ट्रसंघीय मिसनको र ढाकाबाट विमान बंगलादेशको जहाज भिजिबिलिटी कम हुँदा नेपाल आउन सकेनन्। मंगलबार १६ सय मिटरसम्म भिजिबिलिटी झरेकाले बढी भिजिबिलिटी चाहिने विमान आउन नसकेको कार्यालयले जनाएको छ। विमान बंगलादेशको विमानलाई ३२ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने जनाइएको छ। मंगलबार अन्तर्राष्ट्रियतर्फ २० वटा उडान र त्यत्ति नै संख्यामा अवतरणको तालिका थियो।

 यो समाचार तयार पार्दासम्म दुवैतर्फ १९ उडान भएका छन्। त्यस्तै, १० वटा उडान र दुई अवतरणको तयारीमा रहेको स्रोतले जनाएको छ। आन्तरिकतर्फ मंगलबार ८८ उडान तथा अवतरण भएका छन्। प्रदूषणकै कारण आन्तरिकतर्फका दुई उडान मर्जसहित ३० उडान रद्द भए। स्रोतका अनुसार पोखरा, तुम्लिङटार, भरतपुर र लुक्ला सेक्टरमा उडान हुन सकेको छैन। काठमाडौंस्थित विमानस्थल कार्यालयका अनुसार सोमबार आन्तरिकतर्फका ३९ उडान रद्द भए।  

मंगलबार बुद्ध एयरको १५, यती एयरलाइन्सको ६ र ताराको एक उडान रद्द भए। विमानस्थल कार्यालयका अनुसार मंगलबार दिनभर आन्तरिकतर्फ आठ हजार ६ सय ८७ जनाले हवाई सेवा प्रयोग गरेका छन्। नेपाल एयरलाइन्सको काठमाडौंबाट दाङ, भोजपुर, रुम्जाटार र ताप्लेजुङका उडान रद्द भए। त्यस्तै, बुद्धका पोखरा, भैरहवा र तुम्लिङटारका १५ वटा र यतीका सोही गन्तव्यका नौ उडान रद्द भएका छन्। आकाश धुँवा र धुलोले भरिएपछि आइतबारसमेत आन्तरिकतर्फका ४२ उडान रद्द भएका थिए। शनिबार ४२ उडान रद्द भएका थिए। पछिल्लो समय आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० हाराहारीमा उडान र अवतरण हुँदै आएको छ।

प्रकाशित: २५ चैत्र २०७७ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App