७ वैशाख २०८१ शुक्रबार
अर्थ

मुख्यमन्त्री राईले गरे हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास

हलेसीमा फनपार्क शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राई। तस्बिर : नागरिक

खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ। दर्शनका लागि देशबिदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्नका लागि युवाको सामूहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो। 

करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आइतबार शिलान्यास गरेका छन्। पत्रकार अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य निरजमानसिंह बस्नेत लगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम सुरु गरिएको हो। दर्शनका निम्ति हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरन्जनस्थलका रुपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता एवं पत्रकार खड्काले बताए।

दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने हलेसीमा निर्माण हुने फनपार्कमा टायर गार्डेन, जंगल रिसोर्ट, पाईनापल (भुीईकटहर) गार्डेन, चिडिया घर, मिनि मार्केट, बेम्बो कटेज, नाटक गृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने छन्। यस्तै, पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको ट्री हाउस, बासबाट बन्ने हवाइजहाज, बस तथा अन्य सामाग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृती, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसि प्रयोग गरेर निर्माण गरिने आकर्षक घर टहरा लगायतका संरचना भौतिक निर्माण गर्ने योजना छ। 

यसका अलवा पार्कमा नेपालमा थोरै मात्र पाईने र बिश्वभरबाट संकलन गरिएका पन्छीको संग्रहालय पनि राखिने खड्काले बताए। ‘दर्शनका निम्ति टाढा–टाढाका मानिस पैसा खर्च गरेर हलेसी आउँछन्। तर हलेसीमा दर्शन बाहेक रिफ्रेसमेन्टको अन्य कुनै बिकल्प उपलब्ध छैन,’ खड्काले भने, ‘त्यसैले हामीले यो फनपार्क बनाउन लागेका हौँ। दर्शन गर्ने दर्शनार्थी एवं पर्यटक घुमफिर गर्ने, रमाईलो गर्ने थलोको विकास गर्ने हाम्रो सामूहिक सपना र योजना हो।’  

हलेसी मन्दिरबाट उत्तर–पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुन्डिएको चराको गुड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुईकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी पनि निर्माण गर्ने उद्धेश्य छ। फनपार्क निर्माता समुहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ। फनपार्क निर्माणमा क्रमशः १० देखि १५ जना युवा समेट्ने योजना छ। स्थानीय युवाले लगानी गर्न नचाहेको खण्डमा बाहिरी जिल्लाका लगानीकर्तालाई भित्र्याइने छ। सामूहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तव्य थलोको निर्माण गर्न लागिएकाले ईच्छुक युवा संलग्न हुन सक्ने निर्माता बस्नेतले बताए।  

हलेसीमा निर्माण हुन लागेको हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री राईले देशको बिकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहने भएकाले पर्यटनको बिकासमा स्थानिय युवा अग्रसर हुनुपर्ने बताएका छन्। हलेसीमा केही युवाको सक्रियतामा बन्न लागेको फनपार्कले सिङ्गो समाज र देशमा सामूहिक लगानीको उदाहरण प्रस्तुत गरेको मुख्यमन्त्री राईको भनाई थियो। युवा एकजुट भए असम्भब केही नभएको मुख्यमन्त्री राईले बताएका छन्।  

सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले सरकारले निजी क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाले यसमा हातेमालो गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २४ चैत्र २०७७ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App