४ वैशाख २०८१ मंगलबार
अर्थ

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ।

कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए। “यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन्। यसमा ध्यान दिनुपर्छ”, राजदूतले भने। उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताए।  

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रवर्द्धनका नयाँ योजना अगाडि सारेको बताए। उनले कतारबाट  नेपाल आउन चाहने पर्यटकको आवश्यकताअनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए। “नेपाल आउन चाहने पर्यटकको  स्वागतका लागि नेपाल तयार छ। खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ।” उनले नेपाल र कतारबीच सिधा हवाई सम्पर्कसमेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने बताए।

प्रकाशित: २४ चैत्र २०७७ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App