१६ चैत्र २०८० शुक्रबार
अर्थ

भारतीय पाहुना भित्र्याउन नयाँ रुट प्रयोग गरिँदै

गोरखपुर, लखनउ, वनारस, बागडोग्रा, पटना, दरभंगाको विमानस्थल हुँदै नेपाल भित्र्याउन सकिन्छः पर्यटन बोर्ड

पाहुना बोकेर पोखरा भित्रिएका भारतीय बस । फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणका कारण नेपाल र भारतबीचको हवाई सेवाको आकार खुम्चिएको लामो समय भइसक्यो । पछिल्लो समय काठमाडौं र दिल्लीबीच मात्र सिमित हवाई सेवा सुचारु छ । काठमाडौं–दिल्ली रुटमा एयर बबलको सम्झौता अनुसार मात्र अहिले हवाई उडान भईरहेको छ ।  

काठमाडौंलाई भारतको दिल्ली बाहेक अरु मुख्य सहरसम्म जोड्नेगरि हवाई उडान सुचारु हुन नसक्दा भारतीय पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन् । नेपाल घुम्न आउन चाहेका भारतीय पर्यटक पनि अन्यत्र डाइभर्ट भएको व्यवसायी बताउँछन् । सिमित उडानका कारण दिल्ली–काठमाडौं रुटमा हवाई टिकट पाउनै कठिन रहेको र पाइहालेमा पनि महंगो भाडादर तिर्नुपरेको गुनासो पर्यटकको छ ।  

हवाई टिकटको त्यही झन्झट र बढी मूल्य पर्दा नेपाल आउन हच्किएका भारतीय पर्यटकलाई आउजाउमा सहज हुनेगरि पर्यटन बोर्डले नयाँ रणनीति तय गर्दैछ । बोर्डका अनुसार यतिबेला नेपाल आउन चाहेका ती पर्यटकलाई आन्तरिक उडानमार्फत नेपालसँगको बोर्डर नजिकका भारतीय विमानस्थलसम्म आउने र त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर उनीहरुलाई गन्तव्यमा पठाउने योजना अघि बढाएको छ ।  

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन, ‘दिल्ली–काठमाडौं रुटमा हवाई टिकट पाउन मुस्किल भएको र पाइहालेमा पनि महंगो भाडादरको गुनासो आएको छ । त्यसैले घुम्न आउन चाहेका तिनै भारतीय पर्यटकका लागि नयाँ र सस्तो रुट खोजेर आउजाउमा सहजता दिलाउने रणनीति तय गर्न थालिएको हो ।’ लामिछानेका अनुसार नेपालको बोर्डर क्षेत्र नजिकको भारतीय सहरमा ठुला आकारका विमानस्थल संचालनमा छन् । ती विमानस्थलसम्म आन्तरिक उडानमार्फत पर्यटकलाई बोलाउने र विमानस्थलबाट नेपाल भित्रिनका लागि स्थलमार्ग प्रयोग गराउने योजना छ । नेपाल भित्रिएका उनै पर्यटकलाई उनीहरुले चाहेका गन्तव्यसम्म हवाइ वा स्थलमार्गबाट आउजाउ गराउन सकिने गरि योजना अघि सारेको लामिछानेले बताए ।

लामिछानेका अनुसार गोरखपुर विमानस्थलसम्म हवाईजहाजबाट आएका भारतीय पाहुनालाई सुनौली नाकाबाट भित्र्याएर भैरहवा हुँदै गन्तव्यमा पठाउन सकिन्छ । त्यस्तै लखनउ र वनारस हुदै आएका पाहुनालाई नेपालगञ्जबाट नेपाल प्रवेश नजिक पर्छ । काकडभिट्टा हुँदै भित्रिने पर्यटकलाई बागडोग्रा विमानस्थल हुँदै आउजाउ गराउन सकिन्छ । पटना हुँदै भित्रिएका पाहुनालाई वीरगञ्ज हुँदै नेपाल छिराएर गन्तव्यमा पठाउन सकिन्छ । त्यस्तै दरभंगा विमानस्थल हुँदै आएका पाहुनालाई जनकपुर हुँनै नेपालका विभिन्न गन्तव्यमा पठाउन सकिन्छ ।  

‘भारतीय पाहुनाले आन्तरिक उडानमा सस्तो दरमा यात्रा गरेर नेपालसँग नजिक पर्ने भारतीय विमानस्थलमा उत्रिन सक्नेछन । त्यसपछि नेपाल भित्रिएका ती पाहुनालाई हवाई वा स्थलमार्गबाट गन्तव्यमा पठाउन सकिन्छ,’ लामिछानेले भने, ‘त्यसले गर्दा यात्रा सहज र सस्तो हुनेछ । भारतीय सहरमा आन्तरिक हवाई उडानको भाडादर निकै नै सस्तो पनि छ ।’ अहिले सिमित हवाई उडानका कारण काठमाडौं–दिल्लीको भाडादर दुईतर्फी ५७ हजार रुपैयाँम्म उक्लेको छ । अरुबेला यो रुटमा १५ हजार हाराहारीमा दुईतर्फी उडान गर्न सकिन्थ्यो ।

‘सिमित उडानका कारण काठमाडौं–दिल्ली हवाई भाडा निकै नै महंगो बनेको छ । त्यसैले पनि आन्तरिक उडानमार्फत पाहुनालाई बोर्डर सिटी नजिकका विमानस्थलसम्म बोलाउँदा सहज हुन्छ,’ लामिछानेले भने, ‘कि त पहिले झै नियमित उडान हुनुपर्छ । नत्र अब विकल्प सोच्न जरुरी छ ।’ कोरोना त्रास सुरु हुनु अनि काठमाडौंबाट दिल्ली, मुम्बई, कोलकाता, बैंगलोर लगायतका सहरमा सिधा उडान हुने गरेको थियो । एयर बबलको प्रस्तावअनुसार दुई देशका मात्रै नागरिक हवाईजहाज मार्फत आवतजावत गर्न पाउँछन् । एयर बबल बाहेक नियमित उडानमा भने तेश्रो मुलुकका यात्रु पनि यात्रा गर्न पाउँछन् । तर, अहिले नेपाल र भारतबीच भएको एयर बबल सम्झौतामा नेपाल र भारतका यात्रु मात्र यात्रा गर्न पाउँछन् ।

निश्चित गन्तव्यमा तोकिएको संख्यामा मात्र हवाई उडान हुँदा यात्रुलाई भाडा महंगो पर्न जान्छ । जसले गर्दा चाहेको गन्तव्यसम्म भारतीय पाहुना आउन नपाएको लामिछानेको भनाई छ । बोर्डर क्षेत्रबाट भारततर्फका विमानस्थल कति टाढा छन् भनेर पनि अहिले अध्ययन भईरहेको उनले बताए । ‘अहिले पनि मुम्बइबाट नेपाल आउन चाहने पाहुना नयाँदिल्ली आउनैपर्छ । त्यसपछि बल्ल काठमाडौं आउने हो,’ उनले  भने, ‘अब आउन चाहेका ती पाहुनालाई दिल्लीको साटो नेपालको बोर्डर नजिकको विमानस्थलमा आउने माहोल मिलाउन खोजिएको छ । त्यसपछि स्थलमार्ग हुँदै नेपाल भित्र्याउन सकिन्छ ।’  

नेपाल भित्रिएका ती भारतीय पर्यटकलाई हवाई सेवामार्फत काठमाडौं, पोखरा सहितका गन्तव्यमा आउजाउ गराउन सकिन्छ । अहिले नेपालगञ्ज, भैरहवा, सिमरा, विराटनगर, जनकपुरबाट काठमाडौं नियमित हवाई सेवा चलिरहेको छ । नेपालगञ्ज, भैरहवाबाट पोखरासम्म नियमित उडान छन् ।  

त्यसबाहेक नेपालसम्मको दूरी पहिचान गरेर भारतीय सहरमा प्रवद्र्धनात्मक अभियान चलाउने तयारी पनि बोर्डको रहेको लामिछानेले बताए । ‘भारत लक्षित रणनीतिक बजारीकरण नगरि अब भारतीय पर्यटक नेपाल आउँदैनन,’ उनले भने । लामिछानेका अनुसार नेपाल–भारत बोर्डरबाट भारतको २५० किलोमिटरभित्रका सहरको जनसंख्या करिब ३० करोड छ । त्यही दूरीभित्र भारतीय सहरमा विमानस्थल पनि छन् । बोर्डरदेखि २५० किलोमिटरभित्रका सहरका र अरु सहरबाट आन्तरिक उडान हुँदै भित्रिएका भारतीयलाई नेपाल भित्र्याउन सकियो भने नेपालमा अहिलेको अप्ठेरोमा पर्यटन क्षेत्र केही उकास्न सकिने अनुमान रहेको उनले बताए ।  

‘सबै सहरका भारतीयलाई स्थलमार्गबाट आउ भन्दा पनि सहज छैन । त्यसैले हवाई सेवामार्फत बोर्डरका सहरसम्म आउने र त्यहाँबाट नेपाल प्रवेश गराउने गरि प्रर्वद्धनात्मक गतिविधि गर्नु जरुरी छ । त्यसबाहेक बोर्डर सहरको जनसंख्यालाई लक्षित गरि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बोर्डको छ,’ लामिछानेले भने ।

पर्यटन व्यवसायी नेपाल–भारत नाकाबाट भारतीय पाहुनालाई सहज आउजाउको माहोल बनाईदिने हो भने भारतीय पाहुना आउन सक्ने बताउँछन् । होटल व्यवसायी ओमप्रकाश पाण्डे भन्छन, ‘बोर्डरबाट सहज आउजाउ गर्न पाउने गरि व्यवस्था मिलाउन सक्ने हो भने सहज हुन्छ । अहिले हिडेर आउजाउ गर्न त पाइएको छ । भारतीयले निजी सवारी ल्याउन  पाएका छैनन । आफ्ना गाडि पनि सहजै ल्याउन पाउने हो भने थप पाहुना भित्रिन्छन ।’  

बोर्डको रणनीति अनुसार पाहुना बोलाउँदा पनि सहज हुने उनले बताए । तर त्यसका लागि बलियो बजारीकरण आवश्यक रहेको पाण्डेको भनाई छ । ‘गोरखपुर विमानस्थलबाट भारतका सबै ठुला सहरमा हवाई उडान हुन्छ । अब भारतीय पाहुनालाई गोखरपुर हुँदै नेपाल आउ भनेर बोलाउन त सकिन्छ । तर नाका सहजता पनि बनाउनुपर्छ,’ पाण्डेले भने ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि बोर्डले तयार गरेको नयाँ रणनीति अनुसार पाहुनालाई बोलाउँदा सहज र सस्तो पर्ने बताउँछन । ‘बोर्डको योजना सस्तो र झन्झटमुक्त त देखिन्छ । मुल्यका हिसाबले सस्तो पनि पर्छ । तर, नयाँ रुटबारे पर्यटकलाई जानकारी दिन प्रयाप्त प्रचारप्रसार पनि चाहिन्छ,’ सापकोटाले भने, ‘त्यसो गर्दा पर्यटक आगमन बढाउन सकिन्छ । अहिलेको संक्रमणबाट जोखिम भएकोले भारतीय पाहुना घुमघाममा हच्केकोले केही सतर्कता पनि चाहिन्छ ।’

प्रकाशित: २३ चैत्र २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App