coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमनः सुधारको संकेत

मार्चमा मात्रै झन्डै १५ हजार विदेशी भित्रिए

कास्कीको मर्दी हिमाल पदयात्रामा रहेका पर्यटक । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस त्रासका बीचपनि यो मार्चमा नेपालमा १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या जनवरीमा ८ हजार ८ सय ७४ र र फेब्रुअरीमा ९ हजार १ सय ४६ थियो । यी सबै हवाई माध्यमबाट नेपाल भित्रिएका विदेशी हुन् ।

अघिल्ला वर्षको तुलनामा यो संख्या निकै नै कम देखिएपनि विश्वव्यापी महामारीका बाबजुत पनि विदेशी पर्यटकको आगमन हरेक महिना थपिँदै जानु सुखद संकेतको रुपमा रहेको पर्यटन क्षेत्रका जानकारको भनाई छ । पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन, ‘अहिलेको अप्ठेरोका बाबजुत पनि विदेशी पर्यटक भित्रिन थालेका छन् । एक वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रका लागि यो सुखद संकेत हो ।’

मार्च महिनामा नेपाल भित्रिएका विदेशीमध्ये पनि ८ हजार ३ सय ८० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका पाहुना छन् । ती मध्येपनि सबैभन्दा बढी भारतीय ७ हजार ६ सय ५८ जना पाहुना रहेका छन् । अघिल्ला महिना पनि नेपाल भित्रिनेमा अधिकांश भारतीय पाहुना रहेको लामिछानेले बताए ।  

‘हुन त अरु विदेशी पनि भित्रिएका छन् । तर, पछिल्लो समय भारतीय पाहुना नेपाल भित्रिने क्रम बढेको छ,’ उनले भने, ‘धेरै भारतीय पाहुना नेपाल घुम्न चाहन्छन् भन्ने यो तथ्यांकले देखाएको छ ।’ लामिछानेका अनुसार अझै धेरै भारतीय पाहुना यो बेला नेपाल आउन चाहेका छन् । तर, आगमनमा सहजता भइसकेको छैन । हवाई मार्गबाट आउन चाहेका भारतीयलाई पनि अप्ठेरो रहेको उनले बताए ।  

‘नेपाल आउन खोज्ने भारतीय पाहुनाको ठुलो आकार देखिएको छ । तर, हवाई उडान कोरोना अघिको जस्तो सहज भइसकेको छैन । सिमित संख्यामा मात्र उडान छन् । त्यस्तै सिमित गन्तव्यमा मात्र उडान भईरहेको छ,’ लामिछानेले भने । लामिछानेका अनुुसार अहिले काठमाडौं–दिल्ली रुटमा मात्र एयर बबलको सम्झौता अनुसार हवाई उडान भईरहेको छ । दिल्लीबाहेक अरु सहरसँग अहिले नै हवाई सञ्जाल कायम भईसकेको छैन । कोरोना त्रास सुरु हुनु अनि काठमाडौंबाट दिल्ली, मुम्बई, कोलकाता, बैंगलोर लगायतका सहरमा सिधा उडान हुने गरेको थियो । तर, दिल्ली बाहेकका गन्तव्यसम्म अझै उडान सुरु हुन नपाएको उनले बताए ।

एयर बबल सम्झौता अनुसार सिमित उडान हुने गर्छ । सिमित उडान हुँदा हवाई भाडा महंगो पर्न जान्छ । त्यसले गर्दा पनि पाहुनाले चाहेर पनि नेपाल आउन नपाएको लामिछानेको भनाई छ । एयर बबलको प्रस्तावअनुसार दुई देशका मात्रै नागरिक हवाईजहाज मार्फत आवतजावत गर्न पाउँछन् । एयर बबल बाहेक नियमित उडानमा भने तेश्रो मुलुकका यात्रु पनि यात्रा गर्न पाउँछन् । तर, अहिले नेपाल र भारतबीच भएको एयर बबल सम्झौतामा नेपाल र भारतका यात्रु मात्र यात्रा गर्न पाउँछन् ।

निश्चित गन्तव्यमा मात्र उडान हुने तथा तोकिएको संख्यामा मात्र हवाई उडान हुँदा यात्रुलाई भाडा महंगो पर्न जान्छ । जसले गर्दा चाहेको गन्तव्यसम्म भारतीय पाहुना आउन नपाएको लामिछानेको भनाई छ । ‘अब दिल्ली बाहेक मुम्बई, कोलकाता, बैंगलोर र बनारसका गन्तव्यसम्म पनि हवाई उडान थाल्नका लागि पहल जरुरी छ,’ उनले भने, ‘अरु गन्तव्यमा पनि उडान गर्दा नेपालमा भारतीय पर्यटक प्रयाप्त आउँछन् ।’ एयरबबल प्रावधान अनुसार भारतका अरु गन्तव्यसम्म उडान सञ्जाल बिस्तार गर्न सके पनि थप भारतीय पर्यटकलाई नेपाल भित्रयाउन सहज हुने उनले बताए । ‘सकेसम्म नियमित उडान गर्न सके राम्रो हो । नत्र कम्तिमा दिल्लीबाहेकका सहरलाई पनि एयर बबलमार्फत भएपनि हवाई सञ्जालमार्फत काठमाडौं जोड्न पहल आवश्यक छ,’ उनले भने ।  

पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै जानुमा विभिन्न मुलुकले कोरोना विरुद्धको दोश्रो डोजको खोप पनि लगाईसकेका छन् । त्यस्तै नेपालले पनि पछिल्लो समय विदेशी पर्यटकलाई भित्रिन सहज हुनेगरि क्वारेन्टिन प्रावधान हटाएकोले पनि केही सजिलो बन्दै गएको लामिछानेले बताए । ‘सिधा उडान नहुने, पिसिआरको रिपोर्ट, क्वारेन्टिन, कोरोना बिमा लगायतका प्रावधानलाई केही सहजीकरण गरिएको छ । ७२ घण्टा अघिको पिसिआरले आउन पाउने र क्वारेन्टिन बस्न नपर्ने प्रावधानले आगामि दिनमा पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।  

पोखराका पर्यटन व्यवसायी पनि पछिल्लो समय पर्यटक आगमनमा सुधारका संकेत देखिएको बताउँछन् । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई भन्छन, ‘भारतीय पर्यटक यो बेला प्रयाप्त आउँथे । तर, भारतमै पछिल्लो समय कोरोनाको त्रास बढेकोले समस्या भएको हो । तेश्रो मुलुकका विदेशी पनि नेपाल आउन चाहेका छन् । आउने क्रम बढेको तथ्यांकले पनि देखाएको उनले बताए । उनका अनुसार आगामि सेप्टेम्बरदेखि सुरु हुने अर्काे पर्यटकीय सिजनका लागि विदेशी पाहुनाले सोधपुछ गर्न पनि थालेका छन् ।  

‘यो बेला कतिपय मुलुक लकडाउनकै अवस्थामा छन् । लकडाउनको अवस्था नआउँदो हो त अहिले नेपालमा विदेशी पर्यटक प्रयाप्त आउने रहेछन,’ उनले भने, ‘तर, संक्रमणको त्रासले नेपालमा विदेशी भित्रिने मुख्य श्रोतको रुपमा रहेका मुलुकमा असर परेको छ । तर असर कम हुनासाथ विदेशी पाहुना घुम्न निस्कन्छन भन्नेमा हामी नै ढुक्क छौ ।’ पछिल्लो समय हरेक महिना नेपालमा विदेशी पाहुनाको आकार बढिरहँदा व्यवसायी आशावादी हुनु स्वभाविक रहेको उनले बताए ।  

प्रकाशित: २१ चैत्र २०७७ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App