६ वैशाख २०८१ बिहीबार
अर्थ

विमानस्थलमा व्यस्तता बढ्यो

फाइल तस्बिर

कोरोना भाइरस नेपाल भित्रिएसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। महामारीका कारण लामो समय सुनसान विमानस्थलमा एक वर्षपछि यात्रुको ओहोर–दोहोर बाक्लिँदै गएको हो। यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन्। उक्त संख्या हवाई सेवा प्रयोग गर्दै नेपाल आउने र जानेको हो।

अध्यागमन विभागका अनुसार मार्चमा पोहोर चैतयताकै सबैभन्दा धेरै विदेशी नेपाल भित्रिएका छन्। एक महिनामा नेपालसहित एक सय ३९ देशका यात्रुले विमानस्थल प्रयोग गरेका छन्। विभागका अनुसार मार्चमा विश्वभरका एक सय ३८ देशबाट १४ हजार नौ सय ७७ विदेशी नेपाल आएका छन्।  

नेपाल भित्रिने विदेशी नागरिकमा ११ हजार दुई पुरुष र तीन हजार नौ सय ६३ महिला छन्। सोही अवधिमा नेपालबाट ६ हजार ६ सय ६३ विदेशी पुरुष र दुई हजार नौ सय १३ विदेशी महिला अध्यागमनबाट बाहिरिएका छन्। त्यस्तै, १२ जना अन्य नागरिक समेत हवाई मार्गबाट नेपाल आएको र ११ बाहिरिएको अभिलेख छ।

सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५६ हजार दुई ९३ नेपाली भित्रिएका छन् भने ४९ हजार पाँचजना बाहिरिएको विभागले जनाएको छ। गत फेब्रुअरीमा एक लाख एक हजार सात सय ११ जनाले त्रिभुवन विमानस्थलप्रयोग गरेको देखिन्छ। फेबु्रअरीमा नौ हजार एक सय ४६ जना विदेशी र ६ हजार आठ सय ८९ विदेशी नेपाल आएका थिए।

विभागका अनुसार पछिल्लो एक वर्षमा विदेशीलाई नेपाल आउन सहज नरहेकाले सन् २०२० मा अन्तर्राष्ट्रियतर्फ एक लाख ८३ हजार एक सय ३० यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलप्रयोग गरेका थिए। सन् २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार नौ सय १३ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थलको प्रयोग गरेका थिए। सन् २०१८को सोही अवधिमा ४३ लाख ४२ हजार चार सय ८६ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेको विभागको तथ्यांकले देखाउँछ।

मार्चमा सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, चीनबाट एक हजार दुई सय सात, फ्रान्सबाट एक सय ७०, जर्मनीबाट दुई सय १३, नेदरल्यान्ड्सबाट एक सय १८, म्यानमारबाट एक सय एक, पाकिस्तानबाट एक सय एक, फिलिपिन्सबाट एक सय, पोर्चुगलबाट एक सय ३०, रसियाबाट दुई सय ११, दक्षिण कोरियाबाट एक सय १५, टर्कीबाट २४, ब्रिटेनबाट ६ सय ६५, बंगलादेशबाट पाँच सय ६८, अमेरिकाबाट १७ सय तीन नेपाल भित्रिएका छन्। अन्य देशबाट भने एक सयभन्दा कम विदेशी नेपाल भित्रिएको देखिन्छ।

प्रकाशित: २० चैत्र २०७७ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App