८ वैशाख २०८१ शनिबार
अर्थ

सगरमाथा चढ्न ३१ जना तयार

यस वर्ष वसन्त ऋतुमा चीनतर्फबाट सगरमाथा आरोहण नहुने भएपछि नेपालबाट आरोहण गर्नेको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण गत वर्ष कुनै पनि आरोहण हुन नसक्दा ठूलो नोक्सानी भोगेको पर्वतीय पर्यटन क्षेत्रमा अहिलेको स्थितिले आस जगाएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार हालसम्म ११ समूहका ८६ जनाले सगरमाथा सहितका हिमाल आरोहण गर्न अनुमति पाएका छन्।  

बुधबारसम्म सगरमाथा आरोहण गर्न तीन समूहका ३१ जनाले अनुमति पाएका छन्। यो सिजनमा सबैभन्दा बढी सगरमाथा आरोहण हुन्छ। त्यस्तै, अन्नपूर्णमा ४४, लोत्सेमा पाँच, नुप्त्सेमा चार, मनास्लुमा एक र टुकुचेमा एकजनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ। आरोहण अनुमतिबाट विभागले चार करोड ९२ लाख ९९ हजार पाँच सय ६४ रूपैयाँ हिमाली दस्तुर संकलन गरेको छ। आरोहण अनुमति पाउनेमा ६४ पुरुष र २२ महिला छन्।

आरोहण सञ्चालक संघका अनुसार आइसफल डाक्टर (हिमालमा बाटो पहिल्याई डोरी, भर्‍याङ राख्ने शेर्पाहरू) को टोली अहिले बाटो बनाउन खटिएको छ। ६ हजार मिटर उचाइमा रहेको सगरमाथाको पहिलो क्याम्पसम्मको बाटो तयार भइसकेको संघले जनाएको छ। अहिले हिमालमा खटिएको टोली दोस्रो क्याम्प (खुम्बु) सम्म पुग्ने बाटो निर्माणमा लागेको छ। खुम्बुुसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण समितिको र त्यसमाथिको बाटो बनाउने जिम्मा आरोहण सञ्चालक संघको हुने गरेको छ।  

अहिले सगरमाथा जाने क्याम्प २ सम्मको बाटो बनाउन मिग्मातेम्बा, दावाजाङ्बु, निग्मावाङ्छु, पाल्देननामगेल, आङसार्की, फुछेतर र दावानुरु शेर्पाले काम गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ। उक्त टोलीलाई सगरमाथा आधार शिविरमा रहेको टोलीले साथ दिइरहेको समितिले जनाएको छ।

क्याम्प २ बाट माथिको जिम्मा पाएको आरोहण सञ्चालक संघले भने यो वर्ष बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेकलाई दिएको छ। सेभेन समिट ट्रेकका अनुसार आइसफल डाक्टरको टोलीले अहिले खुम्बुसम्मको बाटो बनाइरहेको छ। मौसमले साथ दिए टोलीले यो हप्ताभित्रै बाटो बनाइसक्ने छ। त्यसपछि चुचुरोसम्मको बाटो बनाउन सुरु हुनेछ।

सेभेन समिटका प्रमुख मिङ्मा शेर्पाका अनुसार यस वर्ष चीनबाट सगरमाथा आरोहण गर्ने एकमात्र समूह रहेकाले नेपालबाट चढ्नेको संख्या बढ्न सक्छ। उनका अनुसार यो वर्ष झण्डै तीन सय ५० आरोहीले नेपालबाट सगरमाथाको आरोहण गर्न सक्नेछन्।  

‘आइसफल डाक्टरको टोलीले क्याम्प २ सम्मको बाटो बनाइसकेपछि समान त्यहाँ पुर्‍याउन सहज हुनेछ,’ उनले भने, ‘अनुमति पाएका आरोहीले मे अन्तिमसम्म आरोहण सकेर जुन पहिलो हप्ता काठमाडौं फर्कने गरी बाटो निर्माण हुनेछ।’ हालको तयारी अनुसार वैशाख दोस्रो सातादेखि चुचुरो आरोहण हुन सक्ने उनको भनाइ छ। सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ।

यो सिजनमा सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोली नेपाल आइसकेको छ। सगरमाथा आरोहणका लागि राजकुमार शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो। राजकुमारको टोलीले सेभेन समिटबाट आरोहण तयारी गरिरहेको छ।

आरोहण दलमा बढीमा १५ जनालाई मात्र अनुमति दिन मिल्ने भएकाले राजकुमारको टोली दुई समूहमा बाँडिएर आरोहणको तयारीमा रहेको सेभेन समिटले जनाएकोे छ। सरकारले आरोहणका लागि देशभरका चार सय १४ हिमाल खुला गरेको छ। 

प्रकाशित: १९ चैत्र २०७७ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App