९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र

उदयपुर र खोटाङ जोड्ने त्रियुगा नगरपालिका–१४, साउने धाब्लाङस्थित सुनकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल निर्माणको म्याद सकिन तीन महिनामात्र बाँकी हुँदा काम भने अलपत्र अवस्थामा छ। नेपाली सेनाको ‘एनए ०५७’ कल साइनको हेलिकप्टर चढेर आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते धुमधामका साथ शिलान्यास गरेको पुलको म्याद आउँदो असारमा सकिन लागे पनि काम भने निराशाजनक अवस्थामा छ।

निर्माण थालेको पौने तीन वर्ष पुग्दा पुलको काम १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन। तीन वर्ष बित्न लाग्दासम्म उत्साहजनक काम नभएपछि निराश उदयपुर र खोटाङे जनप्रतिनिधिले छिटो काम गर्न दबाब दिँदै पटकपटक प्रशासन, पुल सेक्टर कार्यालय, विभाग र मन्त्रालयसम्मको ध्यानाकर्षण गराइसकेका छन्। तर उनीहरूको आग्रहलाई निर्माण कम्पनीले बेवास्ता गरेकाले तीन वर्षमा बनिसक्नुपर्ने पुल अझै ८–१० वर्ष लाग्ने चिन्ता स्थानीयलाई छ। 

सदरमुकाम त्रियुगाको साउने धाब्लाङ र खोटाङको दक्षिणी गाउँपालिका बाराहापोखरीलाई सोझो यातायातले जोड्ने उक्त पुल अत्यन्त महत्वपूर्ण नाका हो। तर निर्माण कम्पनीले लापरबाही गरेकाले काम धेरै ढिला भएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष कुरुङ राईको गुनासो छ। आफ्नो वडामा बन्दै गरेको पुलको काम ढिला भएको विषयमा पटकपटक जनताले प्रश्न उठाएपछि निर्माण कम्पनीलाई चाँडो काम सक्न आग्रह गर्दा चासो नदिएको उनी बताउँछन्।

हालसम्म नदी वारि र पारि २ वटा पिल्लर ठड्याउने काम सकिएको पुलको बीचका दुइटा पिल्लर गाड्न बाँकी छ। पानीभित्र पिल्लर गाड्न वेल (इनार) प्रविधि अपनाउनुपर्ने हुनाले काम ढिला भएको निर्माण व्यवसायीलाई उद्धृत गर्दै पुलको रेखदेख गर्ने जिम्मा पाएको पुल सेक्टर नं. १ धरानका प्रमुख (डिई) कैलाश देवले बताए। काम छिटो गर्न पटकपटक ठेकेदारलाई पत्राचार गर्दै आएको, तर कहिले मेसिन बिग्रेको र कहिले अन्य बहाना गरेर ढिला गर्ने गरेको उनले बताए। १५ दिनअघि मात्र स्थलगत निरीक्षण गर्न जाँदा वेल पिल्लर बनाउने मेसिन बिग्रेको भन्दै केही दिनभित्र काम सुचारु गर्ने कम्पनीले बताएको डिई देवले सुनाए।

पुल बनाउने जिम्मा रसुवा–स्वच्छन्द–पप्पु जेभी काठमाडौंले पाएको छ। मूल्य अभिवृद्धिकर (भ्याट) सहित २५ करोड २५ लाख लागत रहेको उक्त पुल तीन स्पामको बनाउने इस्टिमेट छ। नदी नियन्त्रण क्षमताको दायाँबायाँ पाँच सय मिटर राखेर दुईवटा नदीबीचमा गाड्नुपर्ने कामलाई मुख्य चुनौती ठानेर ठेकेदारले ढिला गरेको डिई देवको भनाइ छ।

अहिलेसम्म तीन करोड हाराहारी भुक्तानी लिइसकेको पुलको काम १५ प्रतिशत मात्र भएको र आउँदो असारमा म्याद सकिने भएकाले अझै कति समय लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्। चाँडो काम गर्न ठेकेदारलाई पटकपटक निर्देशन दाबी गर्ने डिई देवले ठेकेदारले पछिल्लो समय छिटो काम गर्ने प्रतिबद्धता जनाएको बताए।

पुल सम्पन्न भएपछि गाईघाटबाट खोटाङका दक्षिणी भेगका विभिन्न स्थानीय तहहरू सडक यातायात सञ्जालसँग जोडिनेछन्। गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गसँग साउनेमा जोडिएको पाँच किलोमिटर कच्ची सडकले धाब्लाङलाई जोडिसकेको छ। प्रदेश सरकारमार्फत सो सडक ग्राबेल र स्तरोन्नति भइरहेकाले आउँदो वर्षभित्र कालोपत्रे बनाउने योजनासहित निर्माण भइरहेको छ।

उता खोटाङतर्फ बाराहपोखरी गाउँपालिकाको साउनेचौर हुँदै धाब्लाङसम्मको कच्ची सडक यसअघि नै निर्माण भएर सञ्चालनमा आइसकेको स्थानीय मुकेश राईले बताए। उनका अनुसार पुल बनेपछि दुई जिल्लाबासीलाई आउजाउमा धेरै सहज हुनुका साथै गाउँमा उत्पादित कृषि उपज बिक्री गर्न सजिलो हुने भएकाले स्थानीयको आयआर्जनमा टेवा पुग्नेछ। यसले दुवै जिल्लाबासीको आर्थिक र व्यापारिक गतिविधि बढाउने अपेक्षा स्थानीयको छ।

पुल निर्माण समयमा भई नसक्दा उदयपुर र खोटाङ जिल्लावासी जनता झोलुंगे पुल र डुंगा चढेर जोखिम यात्रा गर्न बाध्य भएको बाराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए। उनका अनुसार पुल निर्माण चाँडो गर्न सके उदयपुर हुँदै गाउँपालिका हुँदै सदरमुकाम दिक्तेलसम्मको आउजाउ यात्रा सहज हुनेछ। 

त्यसैगरी, उक्त पुल बनेपछि खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल बाराहापोखरीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने अधिृकत वनले बताए। साथै बाराहापोखरी आसपासका छिमेकी गाउँपालिका र भोजपुरसम्म आउजाउ गर्न सो पुल मुख्य नाका साबित हुने वनको भनाई छ।

प्रकाशित: १८ चैत्र २०७७ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App