coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तनहुँ जलविद्युत्मा १६ अर्बको ठेक्का सम्झौता

सञ्चार

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध तथा नदी फर्काउने पहिलो प्याकेजको ठेक्का सम्झौता भएको छ। आयोजनाको बाँध तथा नदी फर्काउने कामको ठेक्का सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन जेभीले १६ अर्ब ६२ करोड रूपैयाँमा पाएको छ।  

सम्झौतामा आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ दा–कालिका जेभीका तर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कम्पनीसँग १६ अर्ब ६२ करोड रूपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको छ। ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले बताए।

आयोजनाको प्याकेज १ (हेडवर्क्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डी राभेना, इटालीसँग १५ असोज २०७५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपछि कम्पनीले १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो। कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिकाअनुरूप १६ फागुन २०७६ मा दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो।  

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो। अन्ततः तीनवटा अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेस गरेकामा प्राविधिक बोलपत्रको मूल्यांकनपछि सारभूत रूपमा प्रभावग्राही दुईवटा बोलपत्रदाताको आर्थिक बोलपत्र खोलिएको थियो। आर्थिक बोलपत्रहरूको मूल्यांकनपछि न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही सोङ दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको हो।  

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ। ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App