coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

म्याद गुज्रेको ७ महिनापछि सव–कन्ट्र्याक्टरलाई जिम्मा

महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको मुख्य निर्माण कम्पनीले बाँकी काम सव–कन्ट्र्याक्टरलाई जिम्मा लगाएको छ । गाइघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार ४९ किलोमिटर सडकखण्डको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि बाँकी काम ग्राइन्ड डिजाइन कन्स्ट्रक्सन प्रालि नेपालगन्जलाई जिम्मा दिएको हो ।  

कालोपत्रेको काममा चरम ढिलासुस्ती भइरहेको तथा गुणस्तरमाथि प्रश्न उठ्दा आलोचित बनिरहेको सिद्धि शाही जेभीले बिचैमा अर्कै निर्माण कम्पनीलाई सव–कन्ट्र्याक्टमा काम छाडेको हो । करिब अढाइ महिनाअघि सव–कन्ट्र्याक्ट गरेको ग्राइन्ड डिजाइन कन्स्ट्रक्सनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतको उपस्थितिमा फागुन २६ गतेदेखि महुरेबाट काम सुरु गरेको छ । सिद्धि शाही जेभीका डाइरेक्टर दीपेन्द्रबहादुर शाहीले कालोपत्रेको बाँकी काम ह्यान्डओभर गरेपछि काम सुरु गरिएको ग्राइन्ड डिजाइनका डाइरेक्टर दिनेशकुमार पुडासैनीले बताए । ‘यो सडक कालोपत्रेको काम क्रोनिक र च्यालेन्जिङ छ,’ पुडासैनीले भने, ‘बाँकी काम १८ महिनादेखि २४ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेको छु ।’

दिक्तेलबाट उदयपुरको गाइघाट हुँदै तराई पुग्ने छोटो दुरीको बाटोमा पर्ने महुरे–राजापानी खण्डको कालोपत्रेको काम गत दसैंअघि देखि नै ठप्प छ । सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा सिद्धी शाहीबाट करिब साढे ६ करोड बैंक ग्यारेन्टी तानिएको गाइघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाइघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

सिद्ध शाहीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने सर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । निर्माण व्यवसायीले भने महुरे–राजापानी सिमपानी सडकखण्डमा ५५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ । सिद्धि शाही जेभीले जिम्मा लिएको उदयपुरतर्फको खण्डमा पनि उस्तै ढिलासुस्ती देखिएको (डिई) खकुरेलले बताए ।

हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । सम्झौता म्याद गुज्रिँदासमेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासी असन्तुष्ट छन् । जिल्लामा हरेक नयाँ डिडियो आउँदा राजनीतिक दलका नेताले समेत महुरे–फोक्सिङटार सडकलगायत विकास निर्माणमा भइरहेका ढिलासुस्तीको अन्त्यका लागि ध्यानाकर्षण गराउने गरेका छन् । दिक्तेल र गाइघाटलाई जोड्ने छोटो मार्गका रूपमा रहेको सडकखण्ड कालोपत्रेको काम अत्यन्तै सुस्त छ । 

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका थिए । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुइपाका युवा नेता मिलन राईले बताए ।

महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत राजापानी (सिमपानी भन्ज्याङ)देखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम भने देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ । सो खण्डको काम पनि सन्तोषजनक छैन । सिमपानी–फोक्सिङटार सडकखण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने सर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो ।

कालोपत्रेको गुणस्तरमाथि प्रश्नै–प्रश्न

महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए ।

प्रकाशित: ४ चैत्र २०७७ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App