१५ चैत्र २०८० बिहीबार
अर्थ

सीमा बन्द हुँदा तंग्रिएन पर्यटन : व्यवसायी

कोरोना संक्रमणको महामारीबाट प्रभावित देशको होटल तथा पर्यटन व्यवसाय पुनः तंग्रिन सक्ने सम्भावना प्रचूर भए पनि सीमासम्बन्धी सरकारको नीतिका कारण यसमा बाधा परेको होटल व्यवसायीको ठहर छ।

पहिला औद्योगिक र व्यापारिक पाहुनालाई लक्षित गरी खुलेका होटलले पछिल्लो समय लक्षित सेवाग्राहीको दायरा फराकिलो पार्दै लगेका थिए। यसै क्रममा पछिल्लो पाँच वर्षमा यहाँको होटल तथा पर्यटन व्यवसायमा लगानी झण्डै दोब्बर भएको छ। लक्जरी श्रेणीका होटलहरू यहाँ थपिएका छन्। पुराना होटलहरूले आफ्नो संरचना तथा व्यवस्थापनमा परिमार्जन र स्तरोन्नति गरेका छन्। बैंकेट र पार्टी सेन्टरहरू दर्जनको संख्यामा थपिएका छन्। स्तरीय रेस्टुरेन्ट पनि दर्जनौं थपिए।  

कोरोना कालमा थलिएको यस्ता लगानीका व्यवसाय अहिले अवस्था समान्यतर्फ उन्मुख रहेको बेला पुनः लयमा फर्किन चाहेका बेला सरकारले सीमा नै औपचारिक रूपमा खुला नगरिदिएकोले आफूहरूको आशामा तुषारापात भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त बताउँछन्।

वीरगन्जका होटल तथा व्यवसायी अहिले पुनरुत्थानको वैकल्पिक खोजी रहेका छन्। मुख्य रूपमा लक्षित भारतीय पर्यटक अहिले सीमा बन्द हुँदा आउन पाएका छैनन्। अहिलेसम्म मुस्किलले धानिएका यहाँका होटलहरू अब बन्द हुने अवस्था आउन सक्ने पन्तले बताए। ‘होटलहरूले भारतीय पर्यटक तान्ने योजनामा अघि बढेका छन्। केहीले सीमावर्ती भारतीय क्षेत्रबाट विवाहका कार्यक्रम आयोजना गर्न आउने पाहुनालाई पनि लक्ष्य गरेका छन्,’ टाउन हल पार्टी प्यालेसका एक सञ्चालक भेलाप्रसाद कलवारले भने, ‘वीरगन्जमा अहिले स्तरीय होटल र पार्टी प्यालेसको कमी छैन। उनीहरूको लक्ष्य अनुसार वैवाहिक कार्यक्रमका लागि उपयुक्त पूर्वाधार खोज्दै भारतीयहरू यहाँ आउन थालेका थिए, त्यही बेला कोरोना सुरु भयो। अहिले सरकारले नै सीमा नाकामा औपचारिक प्रवेश रोकेको छ।’

पर्यटन पुनर्उत्थानको लागि साझेदारी

कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई लयमा फर्काउन होटल तथा पर्यटन व्यवसायी संघले स्थानीय तह, प्रदेश सरकार र सम्बद्ध विभिन्न सरोकारवालासँग सहकार्य गर्न साझेदारीको अवधारणा अघि सारेको छ। प्रारम्भिक रूपमा वीरगन्ज महानगरपालिका र पर्यटनसम्बद्ध व्यावसायिक संगठनहरूसँतको सहकार्यमा पर्यटन पुनर्उत्थानका लागि साझेदारी कार्यक्रम सुरु भएको छ। गत बुधबार यस कार्यक्रमको उद्घोष गर्दै नेपाल र भारतका विभिन्न स्थानमा १६ वटा कार्यक्रम सञ्चालन गरिने जनाइयो।  

कार्यक्रम अन्तर्गत भ्रमणका लागि विभिन्न प्याकेज तथा रुट निर्धारण गरिने र नेपालका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रमा गएर त्यसको प्रचारप्रसार गर्ने बताइएको छ। वीरगन्ज आसपास क्षेत्रको पर्यटकीय आकर्षणको समेत प्रचार गरी पाहुना आकर्षित गर्न होटल तथा पर्यटन व्यवसायीले यो कार्यक्रम ल्याएका हुन्।

नेपाल र भारतका सम्भावित क्षेत्र र वीरगन्ज आसपासका पर्यटकीय गन्तव्यहरूबीच सहसम्बन्ध विकास गरेर पर्यटन क्षेत्रलाई उकास्न सकिने महानगरका प्रमुख विजयकुमार सरावगी बताउँछन्।  

‘कोरोनाका कारण बन्द गरिएको सीमा एक वर्षदेखि खुलेको छैन, मान्छे आउँदा कोरोनाको जोखिम नहुने, मालबाहक गाडी आउँदा पनि समस्या नहुने, निजी तथा यात्रुबाहक सवारी आउँदा मात्र कोरोना सर्ने झैं गरी सरकारले गाडी प्रवेश रोकेको छ,’ सरावगीले भने, ‘कोरोना नियन्त्रणको लागि हो भने यसको संक्रमण मान्छेबाट हुन्छ कि गाडीबाट ? यो साधारण सवाल हो।’  

पुनरुत्थान कार्यक्रमले वीरगन्ज र आसपास क्षेत्रको होटल र पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास जनाउँदै उनले सरकारले पनि अब सीमा व्यवस्थापनसम्बन्धी वर्तमान नीतिमा पुनर्विचार गर्नुपर्ने उनको सुझाव छ।

भारतबाट स्थलमार्ग भएर आउने पर्यटकलाई वीरगन्ज क्षेत्रमा केही दिन राख्न सक्ने गरी पर्यटकीय प्याकेज बनाउने योजना व्यवसायीले अगाडि सारेका छन्। तराई–मधेशमा पर्यटकीय सम्भावना रहेको र यसको प्रचारप्रसारमा मात्र कमी रहेको भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफले बताए। पर्यटन यस क्षेत्रकै समृद्धिको आधार बन्न सक्ने उनले दाबी गरे।  

सीमा नाकाबाट अझै पनि सवारी साधनको आवागमन खुला नगरिएकाले भारतीय पर्यटक भित्र्याउन कठिन भएकोे व्यवसायीको गुनासो छ। सिमानामा आवागमन सामान्य जस्तै भइसकेको बेला सवारी साधनमात्र रोक्नुको औचित्य नरहेको होटल व्यवसायीको भनाइ छ।

प्रकाशित: ३ चैत्र २०७७ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App