७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्वतारोहणमा सुधारको संकेत

कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको हिमाली पर्यटन क्षेत्रमा यस वर्ष भने केही सुखद संकेत दखिन थालेको छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको जारी सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्याले आरोहण चलायमान हुन सक्ने संकेत देखिएको छ।  

नेपाल पर्वतारोहण संघका अनुसार हाल दैनिक रूपमा आरोहणको लागि विदेशबाट बुकिङ गर्न चाहनेको संख्या बढ्दै गएको छ। संघका अनुसार विदेशी नागरिक अझै नेपाल आउँदा क्वारेन्टिन बस्नुपर्ने प्रावधान कायम रहेकाले पोहोर–परारको जस्तो संख्या नभए पनि सुधारको संकेत भने देखिन थालेको छ।  

सरकारले समेत आरोहण क्षेत्र चलायमान बनाउन क्वारेन्टिनको समय हटाउने र स्वास्थ्य परीक्षणको आधारमा नेपाल प्रवेश दिने वातावरण बनाउँदै लगेकोले अझै यो संख्या बढ्दै जाने संघको विश्वास छ।

हालसम्म यो सिजनमा (मार्च–मे) सगरमाथा आरोहण गर्न चाहनेको संख्या चार सय पुग्न लागेको संघले जनाएको छ। सगरमाथा मार्च १ देखि मेको अन्तिम दिनसम्म आरोहण गर्न पाउने नियम छ। सर एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले मे २९ मा सगरमाथा आरोहण गरेका थिए।

संघका अनुसार अन्य हिमाल आरोहणमा समेत विदेशीको चासो आइरहेको छ। आरोहण सुरु गर्ने वातावराण् तयार गर्न आइसफल डक्टरको टोली सगरमाथा आधार शिविर पुगिसकेको छ। शेर्पाहरूको उक्त टोलीले हिमालमा डोरी टांग्ने (रोप फिक्सिङ) काम थालेको छ। पर्यटन विभागले आरोहण व्यवस्थित गर्न कार्यविधि बनाएको छ।

आरोहणको लागि मात्र नभई ट्रेकिङ र भ्रमणको लागि नेपाल आउन चाहनेको संख्या पनि बढ्दै गएको सम्बद्ध व्यवसायीको भनाइ छ। होटल व्यवसायीले होटलसम्बन्धी इन्क्वायरी बढ्दै गएको जनाएका छन्।

पर्वतारोहणका लागि लामो समय नेपाल बस्न विदेशी आउन चाहेका बेला भिसा र क्वारेन्टिनको समस्या समाधान भएलगत्तै विदेशी पहिलेकै दरमा आउन सक्ने व्यवसायीको भनाइ छ।  

सरकारले कोरोना संक्रमणकै अवस्थामा मन्त्रिपरिषदको निर्णयबाट बहराइनका राजकुमार सहितको टोलीलाई मनास्लु हिमालको आरोहण गर्न अनुमित दिएको थियो। उक्त आरोहण दलले मनास्लुको सफल आरोहण गरेर फर्किएको थियो। उक्त टोली सगरमाथा आरोहणको लागि पुनः नेपाल आउन सक्ने पर्वतारोहण स्रोतले बताएको छ। कोरोना संक्रमणकै बीचमा भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो।

त्यसपछि कतारका राजकुमार सहितको टोलीले अमादब्लम आरोहण गरेको थियो। विदेशी राजपरिवारका सदस्यले नेपालको हिमाल आरोहणमा चासो देखाउनाले पनि आरोहणबारे अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचार हुन थालेको देखिन्छ।  

मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँद यामका लागि अनुमति खुला गरेको थियो। विभागको पछिल्लो तथ्यांक अनुसार हिउँद यामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन्। यसबीचमा लुजा पिक, क्युंग्या रिप टू, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

यता पर्यटन विभागले आरोहणलाई व्यवस्थित गर्न मापदण्ड तोकेको छ। विभागका अनुसार पर्वतारोहण दलले पर्वतारोहण बाहेकका गतिविधि गर्न विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। पर्वतारोही वा दलका सदस्यलाई आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मसम्बन्धी काम गर्न निषेध गरिएको विभागले जनाएको छ। आरोहण दलका सम्पूर्ण सदस्य तथा आरोहीको स्वास्थ्य अवस्था पेस गर्दा आरोहणको लागि फिट रहे, नरहेको समेत उल्लेख गर्नुपर्ने जनाएको छ। विभागले आरोहणमा जाने दलसम्बद्ध एजेन्सिले ब्रिफिङ गरेपछि मात्रै आरोहण अनुमित जारी हुने जनाएको छ।

प्रकाशित: १ चैत्र २०७७ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App