४ वैशाख २०८१ मंगलबार
अर्थ

पाहुनाको बाटो हेर्दै पर्यटन व्यवसायी

विदेशी र घरेलु पर्यटकको प्रमुख गन्तव्य राजधानीको ठमेल क्षेत्र अझै चलायमान हुन सकेको छैन। बाह्य र आन्तरिक पर्यटकको बाक्लो आउजाउ हुने ठमेलको पर्यटन तथा व्यापार, व्यवसाय कोभिड १९ ले लथालिंग अवस्थामा पुगेको थियो। ठमेल आउने पर्यटकमा ८० प्रतिशत बाह्य र बाँकी घरेलु हुने बताइन्छ।  

लामो बन्दाबन्दीको मारमा परेको ठमेलमा नेपाली व्यवसायी र उपभोक्ता बाहेक विदेशी अनुहार देख्न मुस्किल छ। कोरोनाको प्रभाव कम हुँदै गएको र खोप अभियानले गर्दा व्यवसायले पुनः गति लिने समय भइसक्दा पनि विदेशी पाहुनामा भर परेको ठमेल अझै तंग्रिन सकेको छैन। पछिल्लो समय चिनियाँ पर्यटक बाक्लै देखिन थालेको ठमेलमा अचेल विदेशी देख्नै मुस्किल छ। कोभिडकै कारण भाडा तिर्न सक्ने अवस्था नरहेको भन्दै पलायन भएका कतिपय व्यवसायी व्यवसायमा फर्कन थाले पनि पर्यटक लक्षित व्यवसायी विदेशीको बाटो हेर्दै बसेका छन्।

व्यवसायमा परेको मार र घरधनीले मासिक भाडा तिर्न दबाब दिएपछि सटर नै खालि गरेर फर्किएका ठमेलका व्यवसायी कतिपय पुरानै व्यवसायमा फर्किएका छन् भने कतिपयले अनुभवरहित नयाँ व्यवसाय थालेका छन्। पूर्ण रूपमा पर्यटकमै निर्भर ठमेल, पकनाजोल, कालधारा, धोबीचौर, नर्सिङचोक लगायत क्षेत्रमा देखिएको चहलपहलले हौसिएका होटल, रेस्टुरेन्ट, पसल, ट्रेकिङ एजेन्सी र विभिन्न व्यवसायमा आवद्ध व्यवसायी काममा फर्कन थालेका छन्। तर व्यवसाय अझै दिन कटाउने मेसोमात्रै बन्दै गरेको उनीहरूको भनाइ छ।

पर्यटकीय सिजन सुरु भएसँगै बाक्लो आउजाउ र राति अबेरसम्म ननिदाउने ठमेलको रात्रि जीवनमा अझै सुधार देखिएको छैन। पर्यटकले भरिभराउ हुने ठमेल आसपासका होटल तथा रेस्टुरेन्ट अचेल खालि खालि देखिन्छन्। विगतमा शिवरात्रिअघिदेखि नै पर्यटकको बाक्लो चहलपहल हुने ठमेल यस वर्ष अझै शान्त रहेको व्यवसायीको भनाइ छ।  

कोरोना संक्रमणको डर कम हुँदै गए पनि अनअराइभल भिसामा रहेको समस्याका कारण पर्यटक नेपाल आउन चाहेर पनि नपाएको व्यवसायीको तर्क छ। १२ वर्षदेखि ठमेलमा ट्रेकिङ एजेन्सी चलाउँदै आएका दोलखाका हिमाल सिवाकोटी अहिले पनि विदेशीले नेपाल आउन बुकिङ गर्ने तर तर भिसा र होटल क्वारेन्टिन लगायत मापदण्डका कारण रद्द गर्ने गरेको बताउँछन्।  

‘कोरोनाको सबैभन्दा बढी मार भोगेको पर्यटन क्षेत्र चलायमान बनाउन सरकारी निकायले ध्यान दिँदैनन्। व्यवसायीको करोडौं रकम लगानी डुबिसक्दा समेत राज्यले रमिता हेरिरहेको छ,’ उनले भने, ‘हवाई सेवा कम्पनीहरूले आफ्नो उडान संख्या बढाउन तयार रहँदासमेत सरकारले भिसामा सहजीकरण नगर्दा चाहेर पनि विदेशी आउन नसक्ने अवस्था छ।’

अर्का पर्यटन व्यवसायी राजकुमार खड्का पनि विदेशी पर्यटक नआउन्जेल ठमेलमा रमझम नबढ्ने बताउँछन्। सीमा नाकामा कडाइ कायमै रहेकोले पछिल्लो समय भारतीय पर्यटक आगमनमा समेत प्रभाव रहेको उनको भनाइ छ। भूकम्प जानुअघि चिनियाँ र भारतीय पर्यटक बाक्लो देखिने ठमेल क्षेत्रमा भूकम्प र नाकाबन्दीपछिको भन्दा पनि गहिरो प्रभाव परेको छ।

विगतमा शिवरात्रि मनाउन आउने भारतीय तथा श्रद्धालुको संख्या धेरै हुने गरे पनि यसपालि कोरोनाका कारण भारतीयहरू सहजै नेपाल आउन पाएका छैनन्। हवाई मार्गबाट नेपाल आउने भारतीयको संख्या थोरै हुँदा काठमाडौं ओर्लिएका सबै भारतीय ठमेल नपुग्ने गरेको खड्काले बताए।

भारतीय पर्यटकको बाक्लो उपस्थिति रहने राजधानीको गौशाला आसपासका होटल पनि यसपटक सुनसान छन्। पशुपतिनाथको दर्शन गर्न भारतको विभिन्न प्रान्तबाट नेपाल आउने श्रद्धालुको संख्या अघिक रहने गरेकामा अहिले सीमा क्षेत्रनजिकका भारतीयनै धेरै छन्। अध्यागमन विभागका अनुसार यो फेब्रुअरीमा चार हजार सात सय ६३ भारतीय स्थल तथा हवाईमार्गबाट नेपाल आएका छन्। पोहोर फेब्रुअरीमा १४ हजार आठ सय ४० भारतीय नेपाल आएका थिए। यसपालिको भारतीय आगमन पोहोरको तुलनामा ६८ प्रतिशत कम हो।

प्रकाशित: २८ फाल्गुन २०७७ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App