७ वैशाख २०८१ शुक्रबार
अर्थ

इलामबाट ६१ किलोमिटरमै दमक

इलाम सदरमुकामबाट सबैभन्दा छोटो दुरीमा पूर्व–पश्चिम राजमार्ग जोड्ने द्रुतमार्ग निर्माण भइरहेका बेला सदरमुकामबाटै झापाको दमक जोड्ने अर्को महत्वपूर्ण सडक निर्माण सुरु भएको छ। जिल्लाको दक्षिण–पश्चिमी क्षेत्र भएर जाने सडकले सोझै पूर्व–पश्चिम राजमार्गस्थित झापाको दमक बजार छुनेछ।

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।  

गोलाखर्कबाट बेलासे–चिसापानी–दानाबारी हुँदै ४७ किलोमिटरमा पूर्व–पश्चिम राजमार्गको दुर्गापुर पुगिन्छ। तर, दुर्गापुरबाट दमक पुग्न १९ किलोमिटर जानुपर्दा इलामबाट दमकको दुरी ६६ किलोमिटर हुन्छ। यसरी हेर्दा, विमानस्थलबाट सिद्धिथुम्का–जितपुर हुँदै मार्चेबुङपट्टि नयाँ निर्माण सुरु सडकले ६१ किलोमिटरमै दमक बजार छुनेछ। सदरमुकामबाट मेची राजमार्ग भएर दमक पुग्न एक सय १८ किलोमिटर दूरी पार गर्नुपर्छ।

गोलाखर्कबाट बेलासे–चिसापानी–दानाबारी हुँदै दुर्गापुर छुने कच्ची द्रुतमार्गमा पनि सवारीका साधन भने चल्न थालिसकेका छन्। विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङ पुग्ने सडकका लागि चालु वर्ष संघीय सरकारबाट तीन करोड रूपैयाँ छुट्टिएको थियो। यसमध्ये सिएम माइला ब्रो जेभीले दुई करोड २३ लाख रूपैयाँको काम ठेक्का लिएको डिभिजन सडक कार्यालयले जनाएको छ।

कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले यो ठेक्काको काम सुरु भएको र अर्को ठेक्का पनि प्रक्रियामा रहेको बताए। ‘अहिले माटो कटिङ र स्ट्रक्चरको काममा ठेक्का लागेको छ,’ उनले भने, ‘अर्को ठेक्का पनि लाग्दैछ तर अहिले छुट्टिएको रकम पूरै सडकको माटो कटिङकै लागि पनि पर्याप्त चाहिँ छैन।’  

यो सडकको ट्र्याक खुलिसकेको छ। ठेकेदार कम्पनीका प्रतिनिधि गोविन्द चौहानले माटो कटिङको काम भइरहेको बताए। पुरानै ट्र्याक विस्तार गरी सडकको चौडा आठ मिटरको बनाउने, विभिन्न स्थानमा तारजाली र कल्भर्ट बनाउने काम भइरहेको कार्यालयले जनाएको छ।

‘अहिले लागेको र लाग्दै गरेको ठेक्काबाट करिब २० किलोमिटरमा ट्र्याक खुल्छ र स्ट्रक्चरको काम हुनेछ,’ डिभिजन प्रमुख अविमन मुल्मीले भने, ‘वैकल्पिक राजमार्गका रूपमा विकास गर्ने भनिएको यो सडक निकै महत्वपूर्ण आयोजना हो।’ यो सडक पूरा हुन पुवा, राते, देउमाई, मेवालगायत आधा दर्जन खोला र खहरेमा पुल बनाउनुपर्ने छ। तर, केही पुल निर्माणका लागि ठेक्का लागिसकेको छ भने केहीमा बाँकी छ।

यो सडक बनेपछि इलाम सदरमुकामबाट दमकसहित इटहरी, विराटनगर, धरान, काठमाडौं लगायतका सहर आउजाउ गर्न नजिक त हुने नै छ, जिल्लाका दुर्गम गाउँमा यातायात सुविधा पुग्नेछ। जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले सदरमुकामको दक्षिण–पश्चिमी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सबैभन्दा छोटो सडक नै यही हुने बताए। ‘अहिले जुन ठाउँ भएर यो महत्वपूर्ण सडक निर्माण हुँदैछ, ती क्षेत्र यातायात सुविधाका हिसाबले निकै दुर्गम छन्,’ उनले भने, ‘सडक बनेसँगै स्थानीयको आर्थिक अवस्था सुधार आउँछ। जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्छ।’  

बरालले यी क्षेत्रमा सडक अभावकै कारण किसानले उत्पादन गरेको करोडौं रूपैयाँको सागसब्जी र अन्नबालीले बजार पाउन नसकेको बताए। ‘सडक बनाएरमात्र चाहिँ हुँदैन, बाह्रौंमास सवारीका साधन चल्ने पनि बनाउनुपर्छ,’ उनले भने, ‘सकेसम्म यही वर्ष, नभए २–३ वर्षभित्रै यो सडकको काम पूरा गर्न सडकले छोएका स्थानीय तहका जनप्रतिनिधिसहित हामीले आ–आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छौं।’

प्रकाशित: २३ फाल्गुन २०७७ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App