८ वैशाख २०८१ शनिबार
अर्थ

सहकारी डिजिटल सेवामा जोडिँदै

सुदूरपश्चिमका सहकारी संस्था अब डिजिटल सेवामा जोडिन थालेका छन् । सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि हब कोपरेटिभ सर्भिस लिमिटेड काठमाडौंले डिजिटल सेवा दिने भएपछि उनीहरु सेवामा जोडिन इच्छुक भएका हुन् ।  

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी सहरकारी संस्थाहरुले डिजिटल सेवामा जोडिन इच्छुक भएका छन् । सहकारी संस्थाहरुले निजी कम्पनीमार्फत् सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए । ‘सहकारीको सेवामा स्तरोन्नति गर्न प्रविधिको प्रयोग गर्नु आवश्यक छ,’ राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष समेत रहेका पौडेलले भने, ‘सम्पूर्ण डिजिटल सेवा दिन हब सोलुसन ल्याएका हौं ।’

मुलुकभर कार्यक्षेत्र रहेको हब कोपरेटिभले प्रारम्भिक सहकारी संस्थालाई सदस्य बनाएर सेवा दिने जनाएको छ । हबको सदस्य बनेका सहकारीले प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्न  सक्ने हब कोपरेटिभका सचिव राजेन्द्र पौडेलले बताए । पौडेलका अनुसार हबको सदस्य बनेका सहकारी संस्थाका सदस्यहरुले एक सहकारीबाट अर्को सहकारीको चेक भुक्तानी लिन तथा जम्मा गर्न सक्नेछन् ।

प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउन लागिएको हब कोपरेटिभ सर्भिसका मेनेजमेन्ट टिम लिडर शिवजी सापकोटाले बताए । डिजिटल प्रविधिको प्रयोगले सहकारी संस्थाको क्षमता अभिवृद्धि भई सदस्यलाई आधुनिक सेवा दिन सक्ने सापकोटाको धारणा थियो । सहकारीलाई प्रतिस्पर्धी र सक्षम बनाउन आधुनिक प्रविधि प्रयोग गर्नुको  विकल्प नभएको बताए ।

कार्यक्रममा बोल्ने सहकारी अभियान्ताले हब कोभरेटिभले समय सापेक्ष सेवा लिएर आएको भन्दै सेवा लिन तत्पर रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक पद्मा गुरुङले सहकारीको स्तरोन्नति गर्नका लागि डिजिटल सेवा लिन आवश्यक भएको बताउँदै सहकारीले हब सोलुसनलाई प्रयोग गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाहरुले डिजिटल प्रविधि प्रयोग नगरे बैंकसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । नयाँ पुस्ताले डिजिटल माध्यमबाट कारोबार गरिरहेकाले सहकारीमा आकर्षित गर्नका लागि पनि डिजिटल सेवा अति आवश्यक भएको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक गणेश चन्द, जिल्ला सहकारी संघ कैलालीका पूर्व अध्यक्ष विश्वप्रकाश पौडेल, बचत तथा ऋण सहकारी संघ कैलालीका अध्यक्ष शिवा थापा, बचत तथा ऋण सहकारी संघ अछामका पूर्व अध्यक्ष नवराज देवकोटा, बहुउद्देश्यीय सहकारी संघ कन्चनपुरका अध्यक्ष प्रेम भाट, जिल्ला सहकारी संघ कैलालीका उपाध्यक्ष भूपेन्द्र थापा, बचत तथा ऋण सहकारी संघ कैलालीका सचिव शैलेन्द्र श्रेष्ठलगायतले सहकारी अब डिजिटल प्रविधि मैत्री बन्नुपर्ने कुरा औंल्याएका थिए ।

प्रकाशित: २२ फाल्गुन २०७७ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App