५ वैशाख २०८१ बुधबार
अर्थ

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै आयात भएका सामग्री । तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जोडिएको क्षेत्रमा कोरोनाको संक्रमण नरहेको र भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाउने चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ।

चिनियाँ पक्षले गएको जेठबाट दैनिक पाँचवटा गाडीमा सामग्री पठाउँदै आएको थियो। शुक्रबार संख्या बढाएर ७ वटा गाडीमा सामग्री आयात गरेको छ। शुक्रबार बिहान ७ वटा चिनियाँ गाडीमा रेडिमेड सामग्री र मेसिन आयात भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। शुक्रबार आएको सामग्रीमा जुत्ताचप्पल, मेसिन, फर्निचरका सामग्री छन्। रसुवा भन्सार कार्यालयका अनुसार चिनियाँ पक्षले नेपाल पठाउने सामग्रीमा वृद्धि गर्ने जानकारी दिएको छ।  

लामो समयसम्म नाकाबाट आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। दैनिक पाँच वटा चिनियाँ गाडीमा सामग्री आउने र नेपाली व्यापारी तथा व्यवसायी केरुङसम्म जान नपाउँदा आयात प्रभावित हुँदै आएको छ। कोभिड–१९ सुरु हुनुभन्दा अगाडि चीनबाट दैनिक सय वटा भन्दा बढी नेपाली कन्टेनरले सामग्री आयात गर्दै आएका थिए।  

‘रसुवागढी नाकाबाट आउँदो दिनमा चिनियाँ सामग्रीको आयात बढ्ने छ’, उनले भने, ‘शुक्रबार दुई वटा थप गाडीमा सामग्री आयात भएको छ।’ सीमा जोडिएको क्षेत्रमा कोरोना नदेखिएको कारण पनि सामग्री आयात बढ्न आवश्यक रहेको उनले बताए। चीनमा मनाइने बसन्त चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प भएकोमा शुक्रबार बिहानदेखि आयात सुरु भएको हो। चिनियाँ पक्षले मार्च १ बाट सामग्री आयात गर्ने तयारी गरेको थियो। तर आवश्यक तयारीका लागि केही समय लागेकाले केही ढिलो गरी सामग्री आयात भएको हो।  

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्। केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरू बीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो।  

२०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ। कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २१ फाल्गुन २०७७ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App