७ वैशाख २०८१ शुक्रबार
अर्थ

धेरै फलाउने किसानको खातामा १ लाख

मिक्लाजुङ गाउँपालिकाको नवौँ गाउँसभामा पुरस्कृत भएका धेरै उत्पादन गर्ने किसानहरु । तस्बिर : नागरिक

दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साह पुरस्कार स्वरुप १ लाख रुपैयाँ दिएको छ। नवौँ गाउँसभाको अवसरमा धेरै फलाउने किसानलाई पुरस्कृत गरीएको छ भने पुरस्कार बापतको १ लाख रुपैयाँ किसानको बैँक खातामा जम्मा गर्ने तयारी गरेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार आइतबार पुरस्कृत किसानको खातामा यो रकम जम्मा हुने छ।  

पालिकाको कृषक प्रोत्साह कार्यविधिमा रहेर पुरस्कृत गरीएको हो। कोरोना भाइरस (कोभिड १९)का कारण गरीएको लकडाउनको समयमा बाहिरबाट खाद्यान्न ल्याउन समस्या भएपछि कृषि उत्पादन वृद्धिका लागि गाउँपालिकाले यो जुक्ति निकालेको थियो। ४० मुरीभन्दा बढी धान फलाउने र २० फिट लम्बाई र ४ फिट चौडाइ भएको मकैको थाङ्ग्रो राख्नेलाई पुरस्कृत गरीएको गाउँपालिका प्रमुख अमरराज माखिले जानकारी दिए। प्रमाणपत्रसहित गाउँसमभामा किसानलाई सम्मान समेत गरीएको माखिले जानकारी दिए।

किसानको खातामा १ करोड २५ लाख रुपैयाँ पुरस्कारको रुपमा जम्मा हुँदै छ। यसले किसानलाई प्रोत्साहित गर्ने अपेक्षा रहेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए। उनका अनुसार कार्यविधि थप परिमार्जित गरी आगामी दिनमा यो कार्यक्रम कार्यान्वय गर्दै लगिने छ। धान खेतीमा ६६ र मकैमा ५९ किसानको खातामा पुरस्कार रकम जम्मा हुँदै छ। ८ जना किसानले दुबै विधामा पुरस्कार पाएका छन्। यो प्रोत्साह पुरस्कारपछि किसानहरु थप उत्साहित हुने अपेक्षा राखिएको छ। ‘हामी कृषि उत्पादनमा आत्मानिर्भर हुन चाहान्छौँ। कृषिलाई प्राथमिकतमा राखेर काम गरीरहेका छौँ। आगामी दिनमा पनि पर्याप्त बजेट छुट्याउनका साथै आवश्यक नीति निर्माण गरेर कार्यान्वयन गर्ने छौँ’ प्रमुख माखिले भने।

गाउँपालिकाले सूचना जारी गरेपछि किसानले आवेदन दिएका थिए। आवेदन प्राप्त भएपछि किसानको घरमै पुगेर अनुगमन गरीएको थियो। जनप्रतिनिधि तथा कर्मचारी किसानको खेत तथा थाङ्ग्रो राखेका ठाउँमा पुगेका थिए। प्रोत्साह पुरस्कार पाउने किसानहरु खुसी भएका छन्। ‘पहिला पनि यसरीनै खेती गथ्र्यौ। यसपाली मकै धेरै फलाएकोमा पुरस्कार नै पाए। गाउँपालिकाले किसानलाई हेर्न थालेको छ’ मिक्लाजुङ–८ का ६८ वर्षीय कृषक मनबहादुर गौतमले भने ‘खेतबारीमा रमाउने हामी किसानलाई यो भन्दा ठूलो कुरा के हुन्छ र?’

गाउँपालिकाका लेखा शाखा प्रमुख दिपेन्द्र चेम्जोङका अनुसार यस अघि ५८ जना किसानले पनि आर्थिक सहयोग पाएका छन्। उनका अनुसार ३५ मन भन्दा धेरै आलु फलाउने किसानले २८ हजार रुपैयाँका दरले १४ लाख रुपैयाँ पाएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७७ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App