coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विकासमा लापरवाही: केही मिटरको अन्तरमा दुई सडक

पाँचथरकाे फिदिम नगरपालिका–४ को सरखण्डे क्षेत्रमा मध्यपहाडी लोकमार्ग र संगै निर्माणकाे चरणामा रहेकाे तमाेर करिडाेर। तस्बिर: गिरिराज/नागरिक

योजना बनाउने बेला लापरवाही गर्दा फिदिम नगरपालिका–४ को सरखण्डे–सालघारी क्षेत्रमा केही मिटरको दुरीमा दुईवटा सडक हुने भएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको फराकिलो सडकनजिकै उस्तै प्रकृतिको सडक बन्न लागेको हो। यसले एकातिर राज्यको ढुकुटी अनावश्यक काममा खर्च हुने देखिएको छ भने अर्कातिर दुवै सडक जोखिममा पर्ने देखिएको छ।

राजधानी उपत्यकामा साबिकको सडकभन्दा निकै अग्लो हुने गरी पुलहरूको डिजाइन भएको विषयमा आलोचना भइरहेका बेला विकासे अधिकारीहरूले त्यस्तै किसिमको गल्ती दोहोर्‍याएका छन्। राजधानीको डल्लु लगायतका स्थानमा साबिकको सडकभन्दा निकै अग्लो हुने गरी पुल बनेपछि डिजाइनमा संलग्न इन्जिनियर र सम्बन्धित अधिकारीहरूको आलोचना भएको थियो।

मध्यपहाडी लोकमार्गको केही मिटरमुनि तमोर करिडोरको सडक बन्न लागेको हो। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले नै हेर्ने तमोर करिडोर मध्यपहाडी लोकमार्गनजिकै समानान्तर हिसाबले बनाउन लागिएको हो। भिरालो क्षेत्र भएकाले सडकको नयाँ ट्र्याक खोल्दा वा स्तरोन्नति गर्दा माथिल्लो सडकलाई असर पार्ने देखिन्छ। दुरीको हिसाब तात्विक फरक नपर्ने भएकाले मध्यपहाडी लोकमार्गकै सडक प्रयोग गर्दा हुने भए पनि त्यसलाई बेवास्ता गरिएको छ।  

यसअघि ट्र्याक खोल्ने काम सुरु हुँदा आलोचना भएको थियो। सामुदायिक वन क्षेत्र भएकाले सो खण्डमा सडक निर्माणमा वनले रोक लगाएको थियो। अब भने यहाँको सडक बनाउने काम अघि बढ्ने भएको छ। वातावरण प्रभाव मूल्यांकन गरेर यो क्षेत्रको बाँकी ट्र्याक खोल्ने काम अघि बढाउन लागिएको छ। 

यो क्षेत्रमा एक किलोमिटर ट्र्याक खोल्न रोकिएकोमा अहिले अनुमति पाएकोले काम अघि बढ्ने तमोर करिडोरको गणेशचोक–चतरा खण्डका आयोजना प्रमुख सुरेश न्यौपानेले बताए। एक किलोमिटरको काम रोकिएको थियो। यसअघि मध्यपहाडी लोकमार्गनजिकै केही मिटर ट्र्याक खोल्ने काम भइसकेको छ। ‘डिपिआर बनिसकेकाले ट्र्याक खोलेर स्तरोन्नति गर्छौं। यो क्षेत्रमा दुई लेनको नभई एक लेनको सडक बनाउने कुरा हुँदैछ,’ न्यौपानेले भने।  

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने तमोर करिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। केही स्थानमा वनले रोकेको थियो। सरखण्डे क्षेत्रमा एक किलोमिटर र रानीगाउँ क्षेत्रमा २.५ किलोमिटर वनले रोकेको थियो। वनबाट अनुमति प्राप्त भएकाले काम अघि बढ्ने बताइएको छ। यही महिनामा ‘ब्रेक थ्रू’ हुने जानकारी दिइएको छ।

‘ट्र्याक खोल्न बाँकी भएबाहेकका क्षेत्रमा ग्रावेलस्तरको सडक बनाउने काम भइरहेको थियो। काम अन्तिम चरणमा पुगेको छ,’ न्यौपानेले भने। तमोर र कोसी नदीको नजिक भएर यो सडक बनाइएको छ। पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटालाई तराईसँग जोड्ने छोटो सडक भएकाले महत्वका साथ लिइएको छ। सुरुमा १ सय४५ किलोमिटर भनिएपछि अहिले यसको लम्बाइ बढेर १५३.६० किलोमिटर पुगेको छ। प्रस्तावित तमोर जलाशययुक्त आयोजनाको प्रभाव क्षेत्रभन्दा माथि सडक सार्दा लम्बाइ बढेको हो।

यो सडकका विभिन्न खण्डमा गाडी चल्न थालेका छन्। विभिन्न ठाँउमा पुल बनाउन बाँकी छ। ग्रावेर स्तरको सडक बनाउन सात प्याकेजमा ठेक्का लगाइएको थियो। यो सडक पाँचथरमा ८० र धनकुटामा ७३ किलोमिटर पर्छ। ६ अर्ब १५ करोड १४ लाख रूपैयाँमा यो सडकको ठेक्का लागेको थियो। गणेशचोकबाट सुभाङखोला, माझीटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ। धनकुटाको चौविसे, साधुरे, मूलघाट, त्रिवेणी बराह क्षेत्र हुदै चतरा पुग्छ। 

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App