८ वैशाख २०८१ शनिबार
अर्थ

हवाई सञ्जालले जोडिँदै तराई–तराई

पोखरा–सिमरा–पोखरा रुटमा आगामी चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाइन्सको बुझाई छ ।

पोखरा–नेपालगञ्ज रुटमा केही दिनअघिदेखि हवाई उडान सुरु भएको छ । नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्जसहित पश्चिम क्षेत्रका गन्तव्यमा घुमघाममा पठाउने पहलस्वरुप दुई सहरबीच हवाई सेवा थालिएको हो । सीता एयरको डोर्नियर जहाजबाट यो रुटमा चार्टर उडान थालिएको छ । यो उडान सातामा दुईदिन (आइतबार र शुक्रबार) भइरहेको छ ।  

पोखरा–विराटनगर पनि बुद्ध एयरले उडान थालेको थियो । सातामा तीन दिन भइरहेको यो उडान कोरोना भाइरस संक्रमणको त्रासले लकडाउन गरिएसँगै रोकिएको थियो । बुद्धले पोखरा–विराटनगर रुटमा पिकअप लिँदै गर्दा लकडाउन भएपछि उडान रोकिएको भएपनि अब कहिले सुरुवात हुने भन्ने यकिन छैन । तर, पोखरा–विराटनगरको हवाई उडानमा पनि यात्रुको खासै अभाव त्यो बेला थिएन । पोखरा–विराटनगर रुटमा उडानको अर्काे तालिका नबने पनि यात्रुको माग रहेको सुरुवाती चरणको उडानले पुष्टि गरिसकेको छ ।  

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन्, ‘पोखरालाई तराईका सहरसम्म जोड्नेगरी हवाई उडान सञ्चालन गर्दा यात्रु अभाव हुने अवस्था छैन । किनकी तराईका अधिकांश विमानस्थलनजिक भारतीय सहर छन् । ती सहरबाट भारतीय पाहुना आउन थाल्ने र त्यसैमा आन्तरिक पाहुना पनि थपिँदा उडान नियमित हुने उनले बताए । ‘हालै सुरु भएको पोखरा–नेपालगञ्जको उडानले आगामी दिनमा अरु सम्भावना रहेको बुझाउँछ । नेपालगञ्जका स्थानीय बढी नै खुसी छन्,’ सिग्देल भन्छन्, ‘भारतको नाका खोल्ने हो भने भारतीय पाहुना आउनेछन्, र त्यसमा आन्तरिक पनि थपिँदा यात्रु अभाव नहुने प्रष्ट हुनेछ ।’  

तराईका अधिकांश गन्तव्यमा गर्मी हुने हुँदा सितलको खोजीमा पनि पाहुना पोखरा आउने उनले बताए । ‘पोखराको मौसम घुमघामका लागि उपयुक्त छ । कुनै पनि मौसममा यहाँ घुम्न आउन सकिन्छ,’ उनले भने, ‘त्यसैले पनि तराईका गन्तव्यमा उडान गर्दा पाहुना आउजाउ बढ्ने पक्का छ ।’

एयरलाइन्सका पदाधिकारी पनि पोखरालाई तराईका गन्तव्यमा जोड्दा पर्यटनमा लाभ पुग्ने बताउँछन् । पोखराबाट बिराटनगर, सिमरा, नेपालगञ्ज, भैरहवा, भरतपुरसम्म नियमित उडान गर्न सक्ने हो भने पोखरालाई आन्तरिक पर्यटनबाटै लाभ पुग्ने उनीहरूको भनाइ छ । बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजगर गौतम बराल भन्छन, ‘कोरोनाले गर्दा केही अप्ठेरो पारेको हो । नत्र पोखरा –विराटनगर रुटमा हवाई उडानले पिकअप लिँदै थियो । यस्तै अवसर अन्यत्रका गन्तव्यमा पनि छ ।’

बरालका अनुसार पोखरा–भैरहवा सुरुवाती चरणमा बुद्धले दिनमा एउटा मात्र उडान राखेको थियो । त्यो उडान अहिले बढेर सातामा १० वटामा उक्लेको छ । भारतीय पाहुना आउन थाल्दाको दिन दैनिक दुईवटाको दरले उडान गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको बरालले बताए । ‘पोखरा–भैरहवा चल्तीकै रुटमा पर्न थालेको छ । अहिले भारतीय पाहुना रोकिएकोले मात्र अप्ठेरो भएको हो, भारतीय पाहुना आउन थालेको दिन उडान थपिनेमा हामी विश्वस्त छौ,’ उनले भने, ‘अहिले आन्तरिकको भरमा त सातामा १० वटा उडान भइरहेको छ भने भारतीय पाहुना थपिँदा उडान पनि बढ्नेछन् ।’  

आन्तरिक यात्रुको भरमा पर्यटन क्षेत्र चलायमान भएको अर्काे प्रमाण हो–पोखरा–भरतपुर हवाई उडान । निजी गाडीमा यात्रा गर्नेले पोखरा–भरतपुर तीन घण्टामा सहजै पुरा गर्छन । तर, यो छोटो रुटमा पनि अहिले दैनिक एउटा उडान भईरहेको छ । ‘पोखरा–भरतपुर तीनघण्टाको स्थलयात्रा भएपनि आन्तरिक यात्रुकै कारण दैनिक एउटा उडान सम्भव भएको हो,’ बुद्धका बराल भन्छन, ‘त्यसैले पोखरालाई तराईका ठुला सहरका गन्तव्यलाई हवाईयात्राले जोड्दा पर्यटनमा राहत मिल्नेछ ।’

यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्ताैला पनि पोखरालाई सुगम गन्तव्यका सहरमा हवाई सञ्जालले जोड्ने प्रयासमा निजी हवाई कम्पनि लागिपरेको बताउँछन् । किनकी अहिले तत्काल तेश्रो मुलुकका विदेशी पाहुना आउने सम्भावना नरहेको र आन्तरिक तथा भारतीयको भरमा मात्र चलायमान हुनुपर्ने बाध्यताले पनि हवाई सञ्चाल जोड्नु आवश्यक रहेको उनी बताउँछन् । ‘हामीले पनि पोखरा–भैरहवा उडान थालेको हौ, तर, रोकियो, अबपनि योजना बनाएका छौ । पोखरामा जेटस्ट्रिम जहाज राखेर नियमित उडानको योजना छ,’ बर्ताैलाले भने, ‘भरतपुरसम्मको योजना बनाएका छाैं ।’

बर्ताैलाका अनुसार भारतीय पर्यटकलाई आउजाउमा सहज हुने अवस्था हुँदाका दिन तराईका गन्तव्यका रुटमा यात्रु अभाव हुनेछैन । ‘अहिले नाका बन्द भएर मात्र हो, नत्र भारतीय पर्यटन बजार भने नियमित हुन्छ । बरु, आन्तरिक बजार सिमित हुन्छ,’ उनले भने, ‘तराईका अधिकांश विमानस्थल नजिक भारतीय सहर छन् । ती भारतीय सहरका पाहुनालाई नेपाल भित्र्याएर पोखरा पुर्‍याउनका लागि पनि हवाई सञ्जाल चाहिन्छ ।’  

‘पोखरालाई तराईका गन्तव्य जोड्दा पर्यटनमै लाभ पुग्ने हो । तराईका सबै गन्तव्यमा पोखरालाई जोड्न सके पर्यटकको आउजाउ बढाउन सकिन्छ । तराईका धेरै गन्तव्य कुनै न कुनै रुपमा भारतीय सहरसँग नजिक छन्,’ उनले भने, ‘त्यसैले अब एयरलाइन्सले नयाँनयाँ गन्तव्यमा जानैपर्छ । अबको बजार भने भारतीय र आन्तरिक हुन् । तेश्रो मुलुकका विदेशीको तत्काल सम्भावना छैन ।’ उनले हवाई उडानमा निरन्तरता चाहिने पनि बताए । ‘एकैदिनको उडानले प्रयाप्त यात्रु पाइने होइन, सम्भावनायुक्त सहरका लागि केही समय नियमित उडान गरेर यात्रुलाई उडानबारे जानकारी दिनुपर्छ,’ उनले भने ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी पोखरालाई सम्भावना भएका तराईका सबै गन्तव्यसम्म जोड्ने प्रयास भईरहेको बताउँछन् । ‘बिराटनगर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, भद्रपुर यात्रुले माग गरेका रुट हुन् । ती रुटसम्म पोखरालाई पुर्‍याउने प्रयासको थालनी भएको छ,’ सुवेदी भन्छन्, ‘तराईका गन्तव्यसम्म उडान सहज छ भन्ने पोखराबाट भरतपुर र भैरहवासम्मका उडानले पुष्टि गरेको छ । नेपालगञ्जमा पनि सम्भावना देखिएको छ ।’ पश्चिम नेपालका पर्यटकीय क्षेत्र जोड्न सकिने भएकोले नेपालगञ्ज धेरै नै सम्भावना रहेको उनले बताए ।  

‘तराईका रुटमा भारतीय पाहुना आउनासाथ अझै राम्रो चल्नेछ । तराईका रुटमा अहिले नेपालीको भरमा त माग छ, भने भारतीय थपिँँदा त पक्का सहज हुनेछ । अहिले नेपालीले मात्र धानेका छन्,’ सुवेदीले भने, ‘केही समय आन्तरिक यात्रुको भरमा थेग्ने हो भने पोखरासँग हवाई सञ्जाल जोडिएका तराईका गन्तव्यका उडानले यात्रु अभाव खेप्नुपर्ने छैन ।’

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App