१६ चैत्र २०८० शुक्रबार
अर्थ

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।  

‘संस्थाले उपलब्ध गराएका कागजातमा शंका लागेपछि सम्बन्धित वडामा बुझेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले भने, ‘कामै नगरेर नक्कली बिल र कागजात पेस गरेको पाइयो।’ वडाले पेस्की फर्छ्यौटका लागि पटक–पटक पत्र पठाएको छ। नमुना समाजका पदाधिकारी अहिले सम्पर्कमा छैनन्।

गाउँपालिकासँग भएको सम्झौतामा तीन वर्षको अवधिमा वडा नम्बर–१ को सुब्बा टोल, वडा नम्बर–२ को काँडापोखरी, वडा नम्बर–३ को काँडाघुवानी र वडा नम्बर–६ को पुडे टोललाई नमुना गाउँ बनाउने उल्लेख छ। यस अन्तर्गत टोलहरूमा सरसफाइ, नमुना बस्ती निर्माण, होम–स्टेलगायत कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।  

सम्झौताअनुसार काम गर्नुको सट्टा नमुना समाजले पेस्की फर्छ्यौटका लागि स्थानीयको किर्ते हस्ताक्षर र बिल बनाएर गाउँपालिकामा बुझाएको छ। स्थानीयका अनुसार चारमध्ये दुईवटा वडाका दुई टोलमा एक रुपैयाँ पनि नमुना समाजले खर्च गरेको छैन। तर, तालिम सञ्चालन गरेको, गाडी भाडा उपलब्ध गराएको, खाना–खाजालगायत बिल र भपाई पेस गरिएका छन्।

नमुना समाजले कार्यक्रम सञ्चालन गर्ने भनेका टोलमा टोल संयोजक तोकेको छ। वडा नम्वर–३ को काँडाघुवानी टोलका संयोजक जंगबहादुर घर्तीले नमुना समाजका नामबाट टोलमा एक रुपैयाँ पनि खर्च नभएको बताए। संस्थाले गाउँपालिकामा पेस्की फर्छ्यौटका लागि बुझाएको भर्पाइमा भने घर्तीको नाममा ५० हजार ४६० रुपैयाँ बुझेको उल्लेख छ। ‘नमुना समाजका नाममा अहिलेसम्म टोलमा कुनै कार्यक्रम भएका छैनन्,’ घर्तीले भने, ‘मेरो नाममा किर्ते हस्ताक्षर गरेको भरपाई गाउँपालिकामा पेस भएको पत्ता लाग्यो।’  

उनले नमुना समाजबाट एउटा डायरी र रजिस्टरबाहेक केही पनि प्राप्त नभएको बताए। ‘तर, मेरै नामको चार–पाँच ठाउँमा किर्ते हस्ताक्षर गरेर गाउँपालिकामा बिल, भरपाई पेस भएको छ,’ उनले भने, ‘यो विषयमा पटक–पटक संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकसँग बुझ्न खोज्दा उनीहरू सम्पर्कमा आएनन्।’

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले पेस्की फर्छ्यौटका लागि ताकेता गरे पनि अहिलेसम्म संस्थाका कुनै पनि पदाधिकारी सम्पर्कमा नआएको बताए। ‘धेरै पटक पत्र पठायौं, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्, पेस्की पनि फर्छ्यौट भएको छैन,’ उनले भने, ‘अब कारबाही प्रक्रियामा जान्छौं।’ उनले संस्थाले ठगी गरेको पाइएकाले चालु आवका लागि बजेट नछुट्याइएको बताए।  

नमुना समाजका कार्यक्रम संयोजक लालबहादुर जिएमले आफूहरूले पेस्की फर्छ्यौटका लागि गाउँपालिकामा बिल, भरपाई पेस गरेको बताए। ‘अघिल्लो आवको अन्त्यमै बिल र भरपाई पेस गरेका हौं,’ उनले भने, ‘त्यसपछि के भयो थाहा छैन।’

प्रकाशित: २१ फाल्गुन २०७७ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App