कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताईन्।
उनले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिनेसमेत स्पष्ट पारिन्। ‘मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिनेछ’, उनले भनिन्।
मन्त्री अर्यालले दीर्घकालीनरूपमै मलको समस्या समाधान गर्ने तयारीसमेत भइरहेको जानकारी दिईन्। उनले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताईन्। ‘अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौँ’, उनले भनिन्, ‘कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिष्दमा उद्योग खोल्नका लागि प्रस्ताव लगिने छ ।’
चालु आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल ९युरिया मल दुई लाख ८२ हजार ५००, डिएपी दुई लाख दुई हजार ५०० र पोटास १५ हजार० आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताईन्। सोमध्ये चालु आवमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको तथा एक लाख ६२ हजार मेट्रिक टन मौज्दात र दुई लाख ६९ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा छ ।मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो ।रासस
प्रकाशित: २० फाल्गुन २०७७ ०९:४६ बिहीबार