८ वैशाख २०८१ शनिबार
अर्थ

केबलकार निर्माणमा तीव्रताः आइएमई चन्द्रागिरिपछि लुम्बिनीमा

कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु आफैंमा चुनौती हो। अझै त्यसबाट सफलता हासिल गर्ने बाटो झनै कठिन छ। यही चुनौतीलाई हेरेर होला, नेपालमा सफलता मिलेको व्यवसायमा हात हाल्ने प्रचलन बढी छ। एउटा व्यापारिक घराना चुनौती मोलेर व्यवसायमा सफल भएपछि त्यही प्रकृतिको व्यवसायमा लगानी गर्ने धेरै देखिन्छन्।

मुलुकमा पहिलो पटक चितवन कोई समूहले मनकामना केबलकार निर्माण गर्‍यो। २०५५ सालमा सञ्चालनमा आएको मनकामना केबलकार परियोजना सफल भए पनि यो समूहले अहिलेसम्म अर्को परियोजना बनाएको छैन। पोखराको विश्व शान्ति स्तुप जोड्ने केबलकारमा चितवन कोईको लगानी छ। तर मनकामना केबलकारको सफलताबाट प्रेरणा लिएर व्यवसायी चन्द्र ढकालले चन्द्रागिरि केबलकार निर्माण गरे। यो परियोजना थोरै समयमै लोकप्रिय बनेपछि चितवन कोई जस्तै ढकाल निष्क्रिय भएर बसेको देखिएन। पछिल्लो समय ढकाल आक्रामक रूपमा केबलकार परियोजना विस्तारमा अघि बढेका छन्।

चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढाएको छ। आइएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालिका केबलकार परियोजना अघि बढेको छ।

ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केबलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।

वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमा लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए। ‘लुम्बिनीमा केबलकार निर्माण सुरु गरेका छौं,’ ढकालले नागरिकसँग भने, ‘एक वर्षमा सम्पन्न गर्ने योजनामा छौं।’ गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि छिट्टै निर्माण अघि बढाउने उनले बताए।

व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे तीन अर्ब रूपैयाँको लगानीमा निर्माण अघि बढाएको ढकालले जानकारी दिए। ‘केबलकारसहित तारे होटल पनि निर्माण गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’ खासगरी भारतीय र लुम्बिनी आउने विश्वका अन्य पर्यटकलाई लक्ष्य गरेर यो परियोजना अगाडि बढाइएको हो। औद्योगिक नगरी बुटवल, भैरहवालगायत त्यस आसपासका क्षेत्रमा जनघनत्व बढेकाले आन्तरिक पर्यटकलाई पनि लक्षित गरिएको छ।

केबलकारको बटम स्टेसन रूपन्देहीको बुटवल उपमहानगरपालिका ३ बमघाटमा छ। त्यहाँबाट तीन किलोमिटरको दूरीमा पाल्पाको तिनाउँ गाउँपालिका ३ वसन्तपुर डाँडामा टप स्टेसन हुनेछ। बटम स्टेसनबाट टप स्टेसनमा पुग्न १० मिनेट समय लाग्नेछ। दैनिक ६ हजार यात्रु ओसार्न सक्ने क्षमताको केबलकारमा २४ वटा गोन्डोला हुनेछन्। लुम्बिनी केबलकार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेगरी निर्माण अघि बढेको छ।

चन्द्रागिरि केबलकारको अनुभवबाट नै नयाँ परियोजना अघि बढाएको ढकालले बताए। ‘चन्द्रागिरिबाट हामीले धेरै सिक्यौं,’ उनले भने, ‘अबका परियोजना सहज रूपमा अघि बढ्छन्।’ चन्द्रागिरि केबलकार १८ महिनामा निर्माण सम्पन्न गरेकाले लुम्बिनी केबलकार एक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा छ। भारतीय सीमाबाट नजिक भएकाले भारतीय पर्यटक आकर्षित हुने विश्वास लगानीकर्ताको छ।

गर्मी ठाउँबाट आएका पर्यटकलाई नौ सय ४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ। पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउने ढकालले बताए। ‘भारतको बोर्डरबाट तीस मिनेटमा आउन सकिन्छ,’ उनले भने, ‘गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने विश्वास हाम्रो छ।’ प्रधानमन्त्री ओलीले पनि केबलकारले स्वदेशीमात्र नभएर विदेशी पर्यटक आकर्षित हुने शिलान्यासका क्रममा भनेका थिए।

आइएमई समूहले पर्यटन प्रवद्र्धनमा अर्को विशेषता जोडेको छ। केबलकारसँगै होटल, बाल उद्यान र धार्मिक स्थललाई प्राथमिकतामा राखिएको छ। चन्द्रागिरि केबलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर टप स्टेसनमा पुगेपछि दुर्गा माताको मन्दिरमा दर्शन गर्न पाइनेछ। केबलकारसँगै तारे होटल पनि निर्माण गरिने भएको छ। एक सय ५० कोठाको होटल निर्माण गर्ने कम्पनीले जनाएको छ। पर्यटकको मनोरञ्जनका लागि पार्क, वनभोज स्थल, बाल उद्यान, होटल निर्माण गर्ने कम्पनीले जनाएको छ। त्यहाँ पुग्नेले तराई, हिमाल र पहाडको हावापानीको अनुभव गर्न पाउनेछन्।

केबलकार निर्माणका लागि आवश्यक पर्ने जंगल सरकारले लुम्बिनी केबलकार प्रालिलाई उपलब्ध गराएको छ। केबलकारको बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्दा बीचमा पर्ने तीन किलोमिटर वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि परियोजना निर्माण चरणमा प्रवेश गरेको हो। सरकारले रूपन्देही र पाल्पा जिल्लामा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्रको भोगाधिकार २५ वर्षका लागि कम्पनीलाई दिएको छ।

यो परियोजनामा केबलकार उत्पादक तथा परामर्शदाता अन्तर्राष्ट्रिय कम्पनी डोपलमेयर हुनेछ। लुम्बिनी केबलकारले उक्त कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको हो। केबलकारमा पछिल्लो पटक प्रयोगमा आएको अत्याधुनिक प्रविधि प्रयोग गर्ने कम्पनीको दाबी छ। परियोजनामा आइएमई समूहले नेतृत्व गरेको भए पनि स्थानीयसहित अन्य लगानीकर्तालाई पनि सहभागी बनाउने जनाएको छ।

पहिलो पटक निर्माण भएको केबलकार मनकामना मन्दिरसम्म पुर्‍याइएको थियो। चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकार भालेश्वर मन्दिर, दोलखाको केबलकार कालिन्चोक भगवतीसम्म निर्माण गरिएको छ। निर्माणाधीन लुम्बिनी केबलकारको टप स्टेसनमा पनि दुर्गा माताको मन्दिर छ। आइएमई समूहकै नेतृत्वमा निर्माण गर्ने तयारी गरेको मौलाकालिका केबलकार पनि मौलाकालिका मन्दिरसँग जोडिएको छ।

मुलुकमा अहिलेसम्म मनकामना, चन्द्रागिरि र कालिन्चोक केबलकार सञ्चालनमा छन्। अहिलेसम्म सञ्चालनमा आएका तीनवटा केबलकारको सफलता देखेर लगानीकर्ताको मनोबल उच्च देखिएको छ। पोखराको सराङकोट र विश्व शान्ति स्तुपसम्म पुग्ने दुई केबलकार निर्माण भइरहेका छन्। विश्व शान्ति स्तुप जोड्ने केबलकारमा चितवन कोई समूहको लगानी छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App