८ वैशाख २०८१ शनिबार
अर्थ

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

सुनकोसीको फोक्सिङटारमा निर्माणाधीन आर्क डिजाइनको पुल । फाइल तस्बिर: नागरिक

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसीको ‘आर्क ब्रिज’ निर्माण जिम्मा लिएको निर्माण व्यवसायी आफ्नै प्रतिबद्धताअनुसारको प्रगति देखाउन चुकेको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएको निर्माण व्यवसायी आफैंले गरेको प्रतिबद्धताअनुसार कामको प्रगति देखाउनबाट चुकेको हो।  

गत माघ २६ गते काठमाडौंमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाहको अगाडि निर्माण व्यवसायी रामकुमार थापाले गत फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याब ढलान गर्ने प्रतिबद्धता जनाएका थिए। तर निर्माण व्यवसायी थापाले आफ्नो प्रतिबद्धताअनुसार कामको प्रगति देखाउन नसकेको गाउँपालिका अध्यक्ष राईले बताए।  

उदयपुरतर्फको बिम र त्यसमाथि स्ल्याब ढलान गरिसकेको निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीलाई खोटाङतर्फको बिममाथि स्ल्याब ढलान गर्न अझै हप्ता/१० दिन लाग्ने अनुमान गरिएको छ। बिम ठडिए पनि हाल ढलानका लागि भने फर्मा ठड्याउने काम भइरहेको छ। ‘आज पुनः फोक्सिङटार पुगें। माघ २६ गते गरेको प्रतिबद्धताअनुसारको प्रगति भएन तर कामको रफ्तार बढेको देखिएको छ,’ शुक्रबार पुल निर्माणस्थल पुगेर फर्किएका गाउँपालिका अध्यक्ष राईले भने, ‘यही गतिमा काम भयो भने खोटाङतर्फको बिम र स्ल्याब ढलान हप्ता दिनमा पूरा गर्ने अनुमान गर्न सकिन्छ।’  

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए। सोही छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र खोटाङतर्फको बिम र स्ल्याब ढलान गर्ने, वर्षायाम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुइन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।  

पुल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउन दबाब सिर्जना गर्ने प्रयासस्वरूप गत माघ २४ गते स्थलगत निरीक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठमाडौं पुगेका थिए। दिक्तेलबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने तथा खोटाङलाई पूर्वी सहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनुपरेको गाउँपालिका अध्यक्ष राईले बताए। 

पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भएको र भोलिपल्टै निर्माण व्यवसायी थापा फोक्सिङटार पुगेका थिए। ‘खोटाङ पछि परेको होइन, पारिएको हो। फोक्सिङटारमा बन्दै गरेको पुल निर्माणलाई निरन्तर दबाब र निगरानी गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलको काम सोचे जति र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएअनुसार भइरहेको छैन। फेरि पनि भन्छु, हामी खोटाङेको सुख र खुसी खोस्ने अधिकार कसैलाई छैन।’  

कोभिड–१९ को महामारीका कारण काममा अवरोध पुगेको भन्दै जोगिएको निर्माण व्यवसायीले महामारी सामान्य बनिसक्दासमेत पुलको कामलाई सन्तोषजनक रूपमा गति दिन सकेको छैन। फोक्सिङटारमा हरेक हिउँदमा बेलिब्रिज राख्ने गरिएको छ। तर वर्षायाममा बेलिब्रिज हटाइँदा नाकाबन्दी लाग्ने गरेको छ। पुल अभावमा निर्माण सामग्री भित्र्याउन कठिन हुँदा विकास निर्माणका ठूला योजना प्रभावित हुने गरेको छ। पहिलोपल्ट थप भएको म्याद पुस १३ गते नै सकिइसकेको छ। सार्वजनिक खरिद (नवौं संशोधन) नियमावलीअन्तर्गत सो पुलको पहिलोपल्ट म्याद थप भएको थियो। कोभिड–१९ महामारीका कारण पुल निर्माणको काम ६ महिना थप हुने जनाइएको छ।  

करिब १९ करोड ६० लाख रूपैयाँमा पूरा गर्नेगरी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यन्तै सुस्त छ। २०६९ चैत २३ गते ठेक्का लागे पनि २०७३ साल कात्तिकमा डिजाइन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ साल चैतमै गुज्रिएको थियो। पुल निर्माणको काममा चरम ढिलासुस्ती भएकामा जिल्लावासी असन्तुष्ट छन्। मुग्लिनको आर्क पुलको शैलीमा निर्माण हुने पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ। पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए।  

सुरुमा २०७३ चैत २४ गतेसम्ममा पूरा गर्नेगरी फोक्सिङटारमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि २०६९ चैत २३ गते ठेक्का लागेको थियो। तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो। फोक्सिङटार खोटाङ र पूर्वी सहर जोड्ने प्रमुख नाका हो। फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको थियो।

दोस्रो पटक डिजाइन स्वीकृत नहुन्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन। हाल ढिलासुस्तीको कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ। तर पुलको नयाँ डिजाइन स्वीकृत भएयताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बताउँछन्। बाढीका कारण पुलको काम हरेक वर्षायाममा ठप्प हुने गरेको छ।  

ठेक्का लागेको लामो समय बित्दासमेत फोक्सिङटार पुललायत भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोध गर्दै आएका छन्। ढिलासुस्तीविरुद्ध २०७२ माघ २४ गते सडक विभागमा धर्ना दिएका जिल्लावासीले चैत २३ गते घेराउ गरेका थिए। सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लावासीमाथि प्रहरी हस्तक्षेप भएको थियो। २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर सदरमुकाम दिक्तेलमा विरोध र्‍याली निकालेको थियो।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App