७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्टरनेटको मूल्य घट्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इन्टरनेटको मूल्य कम गराउन सरकार प्रतिबद्ध व्यक्त गरे।  

इन्टरनेट सेवा महँगो र कम प्रभावकारी भएको बताउँदै उनले त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको बताए। इ–कमर्स, इ–एजुकेसन, इ–हेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको भन्दै मन्त्री गुरुङले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने दाबी गरे।  

गाउँपालिकाका आफ्नै मोबाइल एप र वेबसाइट छन्। आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समय वचत तथा सेवाग्राही तथा आम जनतालाई सुविधा दिन पनि डिजिटल विकासको विकल्प नरहेको मन्त्री गुरुङको भनाइ छ। उनका अनुसार दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको छ। दूरसञ्चार र इन्टरनेटको विकाससँगै सूचना प्रविधिका अन्य आयाम दूरदराजका गाउँसम्म पनि पुग्ने उनको धारणा छ।  

‘अप्टिकल फाइबरलाई दुर्गम जिल्लामा पुर्‍याउन सरकारले हालै नीतिगत निर्णय गरेको छ। ‘हरेक स्थानीय निकायका वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी सक्दो चाँडो इन्टरनेट सञ्जालमा जोडने हाम्रो नीति हो। यसले विकासका लागि पूर्वाधार खडा गर्नेछ भने पहाडी तथा हिमाली जिल्लामा पनि लगानी तथा व्यवसाय विस्तारका सम्भावनाको ढोका खोल्ने छ,’ मन्त्री गुरुङले भने।  

सरकारलाई त्यस्ता कार्यमा सघाउन र आवश्यक परामर्श दिन क्यान महासंघ सदैव तयार रहेकोे पनि उनले बताए। तत्कालका लागि बैंकिङ, यातायात, राजस्व लगायत क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्नुपर्ने र यसले लागत र भ्रष्टाचार दुवै कम गर्ने उनको भनाइ छ। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सूचना प्रविधि क्षेत्र अझै सरकारको प्राथमिकतामा नपरेको बताए। काभ्रेस्थित आइटी पार्कको उपयोग हुन नसक्नु एवम् आइटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति नआउनुले त्यस्तो संकेत गरेको उनको भनाइ छ।  

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि क्षेत्रको विकास र त्यसको प्रयोगबिना शिक्षा, स्वास्थ्य र अन्य व्यवसायले गति लिन नसक्ने बताए। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले ७७ जिल्लाका ६ सय ५४ स्थानीय तहसम्म फोरजी प्रविधि विस्तार गर्न टेलिकमले काम गरिरहेको बताए। साधारण सभाको अवसरमा क्यान महासंघले संस्थाका उत्कृष्ट जिल्ला कमिटीहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेमा पर्सा, झापा र रूपन्देही छन्। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App