८ वैशाख २०८१ शनिबार
अर्थ

इजरायल रोजगारी कार्यविधि मन्त्रालयमा

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः सुरु गर्न वैदेशिक रोजगार विभागले कार्यविधि तालुकवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि स्वीकृति हुनेबित्तिकै इजरायल रोजगारी सुरु हुने बताए।

‘इजरायल रोजगारी सुरु गर्न हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘मन्त्रालयले कार्यविधि स्वीकृत गरेको केही दिनमै छनोट प्रक्रिया सुरु हुन्छ ।’ कार्यविधिमा रोजगारीका लागि इजरायल जाने सूचना प्रकाशन गर्देदेखि प्रतिस्पर्धीलाई छनोट गर्ने आधारसम्मका विषय उल्लेख छन्।कार्यविधि स्वीकृत भएलगत्तै पहिलो चरणमा पाँच सय केयरभिगर पठाउनेबारे यसअघि दुई देशका अधिकारीबीच सहमति भइसकेको छ।

इजरायल कामदार पठाउने प्रोटोकलमा डेढ महिनाअघि विभागका महानिर्देशक दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए।प्रोटोकलमा इजरायलमा केयरगिभरका लागि श्रमिक पठाउने उल्लेख छ। पारिश्रमिक र बसोबासको दृष्टिकोणले निकै आकर्षक मानिए पनि सरकारी निकायले चासो नदिँदा पाँच वर्षदेखि इजरायल रोजगारी ठप्प थियो।रोजगारीका लागि इजरायल जान पाउने आशामा उल्लेख्य संख्याका बेरोजगारले केयरगिभर सम्बन्धी तालिम लिएका थिए।

त्यतिखेर तीन सय केयरगिभरलाई इजरायलमा रोजगारी दिने भनिए पनि करिब एक सय मात्र गएका छन्।खासगरी योग्य श्रमिक छनोट गर्न नसक्दा इजरायलका रोजगारदाताले श्रमिक मागलाई बेवास्ता गरेका थिए। निर्धारण गरिएको कोटा अनुसार पठाउन नसकेपछि अनेकाैं प्रयास गर्दा पनि इजरायली अधिकारीले चासो दिन छाडेका थिए।

दाहालका अनुसार नयाँ सम्झौतापछि पुरानो प्रक्रिया र सहमतिको औचित्य सकिएको छ।‘पहिला बिटुबी (निजी क्षेत्र र निजी क्षेत्र) अनुसार श्रमिक पठाउने भनिएको थियो,’ उनले भने, ‘अब जिटुजी (दुबै मुलुकका सरकारी निकाय) प्रक्रियाबाट श्रमिक पठाइनेछ ।’  

प्रोटोलकमा हस्ताक्षर हुनुअघि असोज १४ गते श्रमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो।सोही सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकल हुँदै कार्यविधिसम्म आवश्यक परेको विभागका कर्मचारी बताउँछन्।केयरगिभरमा जान एसएलसी उत्तीर्ण भई १५ महिने स्वास्थ्य सम्बन्धी तालिम लिएको हुनुपर्नेछ। दस जोड दुई उत्तीर्णको हकमा तीन महिनाको केयरगिभरसम्बन्धी तालिम लिए पुग्छ।

त्यस्तै, इजरायल जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुको साथै शरीरको उचाइ कम्तीमा पाँच फिट एक इन्च हुनुपर्नेछ।बोलचालका लागि अंगे्रजी भाषा आवश्यक पर्ने केयरगिभरमा छनोट भइसकेकाले इजरायली श्रम कानुन अनुसार सेवा र सुविधा पाउनुको साथै कम्तीमा मासिक पारिश्रमिक एक हजार पाँच सय अमेरिकी डलर पारिश्रमिक पाउने बताइएको छ।

नयाँ सम्झौता अनुसार केयरगिभरका लागि ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई कोटा निर्धारण गरिएको छ।मापदण्ड पूरा गरेर सम्झौता अनुसार पाँच सय इजरायल गइसकेपछि मात्र थप संख्याबारे टुंगो लाग्ने दाहालले बताए।योग्य श्रमिक छनोट गर्ने अधिकार विभागलाई दिइएको छ।

सम्झौता अनुसार इजरायल जाने श्रमिकले भिसा, मेडिकल शुल्क, टिकट, बिमा लगायतका खर्च आफैंले ब्यहोर्नुपर्नेछ।यो सम्झौता अनुसार श्रमिकले पुनः आर्थिक भार बेहोर्नुपर्ने भन्दै कतिपयले विरोध गरेका छन्। सरकारले खाडी लगायतका केही मुलुकमा निःशुल्क भिसा र टिकटको निर्णय लागू गरिसकेको बेला पुनः हवाई टिकट लगायतका शुल्क श्रमिकलाई तिराउँदा निःशुल्क भिसा र टिकटको नीतिमा प्रश्न उठेको उनीहरूको तर्क छ।

त्यस्तै, निःशुल्क भिसा र टिकटको निर्णय गरेको सरकारले कोरियामा पनि श्रमिक पठाउँदा पनि हवाई टिकट लगायत शुल्क लिने गर्छ।कोरिया जानेको हकमा पनि निःशुल्क भिसा र टिकटको निर्णय हुनुपर्ने आवाज उठ्दै आएको छ।हाल इजरायलमा करिब तीन हजार नेपाली रोजगारीमा रहेको अनुमान छ।अधिकांश गन्तव्य मुलुकमा रोजगारीका लागि जाने श्रमिकको करार अवधि दुई वर्ष हुने गरेकोमा इजरायल जानेको पाँच वर्षको हुनेछ।जिटुजीबाट कोरिया जानेको करार अवधि चार वर्ष १० महिना हुने गर्छ।

इजरायल बुझ्न विभागमा भीड

यसैबीच, केही दिनयता इजरायल रोजगारीबारे बुझ्न विभागमा दैनिक दर्जनौं युवायुवती पुग्ने गरेका छन्। खासगरी इजरायल रोजगारी कहिले सुरु हुन्छ र यसको मापदण्ड बुझ्न ठूलो संख्याका युवायुवती आउने गरेको एक कर्मचारीले बताए ।

‘इजरायल रोजगारीबारेका सूचना दिँदा दिँदा हैरान भइसकेका छौं,’ ती कर्मचारीले भने, ‘हुल बाँधेर आउने युवायुवतीका कारण दैनिक काममा समेत अप्ठेरो परेको छ।’ उनले मन्त्रालयले चाँडोभन्दा चाँडो कार्यविधि स्वीकृत गरिदिए कर्मचारी र इजरायल जान खोज्नेलाई सहज हुने बताए।

प्रकाशित: १६ फाल्गुन २०७७ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App