coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जयनगर–जनकपुर रेल एक महिनाभित्रै चलाउने तयारी

नेपाल रेल्वे कम्पनीले कानुनी, प्रशासनिक र प्राविधिक सबै प्रक्रिया पूरा गरेर एक महिनाभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी गरेको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले कानुनी तथा प्राविधिक समस्या सल्टाउँदै आगामी एक महिनाभित्रै जयनगर–जनकपुर रेल सञ्चालनमा ल्याउने दाबी गरेका छन्।

‘मेरो नियुक्ति हुँदा कम्पनीमा न कर्मचारी थिए न कानुन नै थियो,’ उनले भने, ‘अध्यादेशबाट रेल सञ्चालन सम्बन्धी कानुन १–२ दिनभित्रै आउनेछ। सामान्य प्रशासन मन्त्रालयले रेल्बे कम्पनीमा खटिने ४५ कर्मचारीलाई पत्र दिइसकेको छ।त्यसैले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउनेछौं ।’  

रेल सञ्चालनको लागि भारतबाट २६ जना कर्मचारी ल्याउन लागिएको छ। ती कर्मचारी जिटुजी माध्यमबाट ल्याउन लागिएको उनले बताए।‘हामीले एक वर्ष रेल सञ्चालनको लागि आवश्यक पर्ने २६ जना प्राविधिक ल्याउन लागेका हौं,’ उनले भने, ‘रेल सञ्चालनको लागि प्राविधिक र अन्य प्रविधिक उपकरणको लागि २२ करोड भारु लाग्ने अनुमान गरेका छौं ।’ कम्पनीले भारतीय प्राविधिकको लागि मात्रै चार करोड भारु खर्च लाग्ने जनाएको छ ।

नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो। तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ। महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन्।

गत असोज २ गते दुई सेट रेल नेपाल ल्याइएको थियो।सरकारले भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेडबाट ८४ लाख ६५ लाख रूपैयाँ खर्चेर दुई सेट रेल खरिद गरेको हो।यो रेल १३ सय यात्रु बोक्ने क्षमताको छ।तर एकैपटक यात्रु चढ्दा भने सात सयजना मात्रै चढ्न मिल्छ। रेलमा अपांग तथा जेष्ठ नागरिकको लागि सीमित सिट भए पनि अन्य यात्रुले उभिएरै यात्रा गर्नुपर्ने हुन्छ।

रेल्वे कम्पनीले भारतबाट रेलका प्राविधिक छिट्टै नेपाल आउने दाबी गरेको छ।‘मन्त्रालयले काजमा पठाएका कर्मचारीलाई भारबाट आएका प्रविधिकले तालिम दिने कार्यक्रम छ,’ महाप्रबन्धक भट्टराईले भने। पहिलो चरणमा जनकपुर–जयनगर रेल्वेको दुरी ३५ किलोमिटर छ।जहाँ आठवटा सबस्टेसन छन्। सबस्टेसनबाट रेलमा चढ्न र झर्न सकिनेछ।रेलका सबस्टेसन, जनकपुर, इनरुवा, कुर्था, बैरेही लगायत आठ स्थानमा छन्।

यो रेल प्रतिघन्टा एक सय किलोमिटरको गतिमा गुड्ने भए पनि अति नै छोटो दुरीका सबस्टेसन भएकाले पूरै स्पिडमा गुडाउन मिल्दैन। रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्ने जनाएको छ। यो रेल ब्रोडग्रेज लिकमा चल्नेछ। कम्पनीले यो रेल्वे सञ्चालनको लागि वार्षिक २२ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।तर यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ।

अस्थायी कर्मचारी नियुक्तिमा लोकसेवा आयोग बाधक

नेपाल रेल्वे कम्पनीले रेल सञ्चालन र व्यवस्थापनको लागि आवश्यक पर्ने १२९ कर्मचारीको दरखास्त आह्वान गरेको थियो।तर लोकसेवा आयोगले अत्यधिक मात्रामा करारमा कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएसँगै अस्थायी कर्मचारी नियुक्ति प्रक्रिया स्थगित भएको छ।

महाप्रबन्धक भट्टराईले अस्थायी कर्मचारी नियुक्ति गर्ने प्रक्रिया स्थगित गरिएको बताए। ‘हामीले १२९ अस्थायी कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएका थियौं, लोकसेवा सेवा आयोगले स्थगित गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘आवेदन दिनेको रकम कसरी फिर्ता गर्ने भन्नेमा छलफल भइरहेको छ ।’ 

महाप्रबन्धक भट्टराईले अस्थायी कर्मचारी नियुक्त नहुने भए आवेदकको आवेदन शुल्क बैकिङ सिस्टम वा भौचर हेरेर फिर्ता गर्न सकिने बताए। रेल्वे कम्पनीले पहिलो चरणमा जयनगरदेखि कुर्तासम्म ३५ किलोमिटर क्षेत्रमा रेल गुडाउन लागेको हो।अहिले कुर्थादेखि डिजेलपुरा महोत्तरीसम्म थप १७ किलोमिटर रेलको लिक निर्माण भइरहेको छ।जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ।हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App