८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

रसुवागढी नाका जोड्ने सडक खण्डमा निर्माण भइरहेको पुल । तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।  

सडक खण्डमा अहिले १६ वटा पुल निर्माण भइरहेका छन्। चालु आर्थिक वर्ष २०७७/७८ भित्र बाँकी १६ वटा पुलको डिजाइन गर्ने, ठेक्का लगाउने र सम्झौता गर्ने तयारी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। १६ वटा पुल निर्माणको काम करिब ५५ प्रतिशत सकिएको छ। योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार आर्थिक वर्ष २०७८/७९ भित्रमा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ।  

गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर सडकको स्तरोन्नति हुँदै छ। जसमा पहिलो र दोस्रो खण्डमा नेपाली पक्षले पुल निर्माण पनि गर्नुपर्ने हुन्छ। ‘केही पुलमा डिजाइनको रिभ्यू गर्नुपर्ने भएको छ’, उनले भने, ‘बाँकी पुल निर्माणमा अहिलेसम्म समस्या आएको छैन।’ कालिका टुन्दि रसुवा जेभी र अन्जना आर्डि जेभीले पुल निर्माणको काम गरिरहेका छन्।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा निर्माण हुने पुलमध्ये ११ वटा पुलको लागि छुट्टै बजेट आएको छ। बाँकी २१ वटा पुल सडक शीर्षक अन्तर्गत बजेट आएको छ। योजनाका अनुसार तीनवटा पुल कलात्मक खालको बनाइने छ। जसमा बट्टार, विदुर र त्रिशूली थ्रिए जलविद्युत् आयोजना क्षेत्रमा कलात्मक पुल बन्ने छ। जलविद्युत् आयोजना क्षेत्रमा फ्लाई ओभर पुल निर्माण हुने छ।  

योजनाले गल्छी–मैलुङ र मैलुङ स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम गर्ने छ। जसमा हालसम्म ६५ प्रतिशत काम सकिएको छ। पहिलो खण्ड अन्तर्गत गल्छी मैलुङ क्षेत्रमा सडकको कालोपत्रे गर्ने, भीर काट््ने लगायतका काम सञ्चालन भइरहेको छ।  

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक खण्डमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ। सडक चौडा बनाउने काम पनि ६५ प्रतिशत सकिएको छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्नु पर्दैन।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App