६ वैशाख २०८१ बिहीबार
अर्थ

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग्दै दबाब समूह

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वर्षौैंदेखि जीर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल गर्न स्थानीयले दबाब समूह गठन गरेका हुन्।

दिगो मर्मत र स्तरोन्नतिका लागि सरोकारवाला निकायको धेरैपटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएर दबाब समूह गठन गर्नुपरेको कटारी नगरपालिका ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्रीले बताए। अघिल्लो दिन भएको स्थानीय उपभोक्ताको भेलाले वडाध्यक्ष क्षेत्रीको संयोकजत्वमा ५७ सदस्यीय ‘सिद्धिचरण लोकमार्ग स्तरोन्नित दबाब समूह’ गठन गरी आन्दोलनको घोषणा गरेको हो।  

कटारी ११ को बेतेनीमा सम्पन्न भेलाले सहसंयोजकमा अम्बर मगर र सचिवमा क्षेत्रबहादुर खड्कालाई चयन गरेको छ। समूहमा कटारी ८, ९, १०, १३ र १४ का वडाध्यक्ष क्रमशः कमल श्रेष्ठ, बेगबहादुर आलेमगर, लिलानाथ भट्टराई, नेत्र श्रेष्ठ र तेजबहादुर आलेमगर पनि सदस्य छन्। सडक स्तरोन्नतिका लागि यसअघि पनि स्थानीयले पटकपटक नगर, सडक डिभिजन, भौतिक तथा पूर्वाधार मन्त्रालय, सडक विभागलगायत सरोकारवाला निकायमा लिखित र मौखिक अनुरोध गर्दै आएका थिए।  

पत्राचार तथा प्रतिनिधिमण्डल गएर लिखित तथा मौखिक अनुरोध गर्दा लोकमार्गको स्तरोन्नति नभएपछि बाध्य भएर संघर्ष गर्न दबाब समूह गठन गर्नुपरेको कटारी ८ का वडाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार समूहले सडकको दिगो स्तरोन्नति र मर्मतका लागि छिट्टै नगरपालिका, प्रदेश तथा संघीय सरकार, सडक विभाग तथा डिभिजनमा प्रतिनिधिमण्डल जाने योजना बनाएको छ।  

सिद्धिचरण लोकमार्ग सिरहाको मिर्चयासँग जोडिएको सीमा नाका कटारी १ चुरेदेखि वडा नं. १४ घुर्मीसम्म ४६ किलोमिटर खण्डले उदयपुरलाई छोएको छ। तर वर्षौंदेखिको जीर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै जनधनको क्षति भइसकेको छ। साँघुरो, भिरालो र समयमा मर्मत नहुँदा खाल्टैखाल्टा सडक बर्खामा पहिरो जाने, भत्काउने गरेर जीर्ण भए पनि दीर्घकालीन मर्मत र स्तरोन्नतिप्रति सरकारले चासो नदिएको वडा नम्बर १४ का वडाध्यक्ष मगरले बताए। उपभोक्ताको मागप्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासीन रहँदै आएपछि दबाब समूह गठन गरेर आन्दोलन गर्न बाध्य भएको उनले बताए।  

कटारी नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११, १३ र १४ वडालाई छोएको लोकमार्गमा दिनहुँ हजारभन्दा बढी यात्रुबाहक र मालबाहक सानाठूला गाडी गुड्ने गरेका छन्। खासगरी सिराहाको चन्द्रोदयपुरमा सञ्चालित मारुती सिमेन्ट उद्योगको चुनढुंगा खानी सिन्धुलीको ककुरठाकुरबाट ढुवानी गर्नुपर्दा २४सै घन्टा टिपर आउजाउ गर्दा सडक जीर्ण भएको हो। त्यस्तै कटारी नगरपालिकाभित्रै सौर्य र कसमस सिमेन्टका चुनढुंगा खानीबाट ढुवानी गर्ने सयौं टिपर दैनिक ओहोरदोहोर गर्नाले पनि थप जीर्ण हुने गरेको छ।  

नवगठित समितिका संयोजक क्षेत्रीले लोकमार्ग स्तरोन्नतिका लागि पहिलो चरणमा कटारी नगरपालिकामा ज्ञापनपत्र बुझाउने जनाएको छ। त्यसपछि इलाका प्रशासन कटारी, डिभिजन सडक लहान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा ज्ञापनपत्र बुझाउने कार्यतालिका बनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App