१६ चैत्र २०८० शुक्रबार
अर्थ

कालीमार्सी धान खरिद अन्योलमा

विश्वकै सबैभन्दा उच्च स्थानमा फल्ने धान कालीमार्सी मापदण्ड अनुसारको नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ। माघ २५ गते सूचना जारी गर्दै शुद्ध कालीमार्सी धान र चामल ल्याउन कम्पनीले किसानलाई आग्रह गरेको थियो। मार्सी चामल र धान खरिद गर्ने कुराले जुम्लाबासी उत्साहित थिए। गाउँमै चामल र धान खरिद हुने भएपछि किसानमा उक्त धानप्रतिको मोह बढेको थियो।  

कम्पनीका जुम्ला प्रमुख तिलक सुनार खरिदयोग्य धान र चाम नआएको बताउँछन्। उनले भने, ‘धान कालो हुनुपर्ने र चामल रातो हुनुपर्ने मापदण्ड थियो। त्यो मिट हुन सकेन। अब यो वर्ष कालीमार्सी खरिद गर्न सकिँदैन होला।’ कम्पनीका अनुसार चामल ९५ प्रतिशत रातो हुनुपथ्र्यो। त्यो आएन। धानमा पनि मिसावट देखियो। प्रमुख सुनार भन्छन्, ‘फलस्वरूप खरिद प्रक्रिया रोकिएको छ।’

कम्पनी परिसरमा खरिद केन्द्र राखेर प्राथमिक खरिद समितिले मूल्य निर्धारण गरिसकेको थियो। मार्सी धानको प्रतिकेजी १ सय २ रूपैयाँ र चामलको प्रतिकेजी १ सय ६२ रूपैयाँ मूल्य तोकिएको थियो।  

शद्ध कालो मार्सी धान ल्याउँदा निफनी, केलाई, सुकाई सफा गरी एकै किसिमको फ्रेस ल्याउन किसानलाई सुझाइएको थियो। तर त्यस्तो भएन।

प्रमुख सुनारले जिल्लाका विभिन्न स्थानमा पुगेर कालीमार्सीबारे जानकारी लिएको बताए। ‘कनिका नमिसिएको चामल हेर्न खोज्यौं। सुक्खा ठाउँमा उत्पादन हुने भएकोले चामलमा कनिका बढी देखिने अवस्था आयो। धानमा एकरूपता देखिएन,’ उनले भने।

जुम्लामा कालीमार्सीको गुणस्तर जाँच्न गुणस्तर विभागको टोली खटिएको थियो। टोलीले अहिलेको अवस्थामा कालीमार्सी र चामल किन्नु उपयुक्त नहुने सुझाव दिएको छ। कम्पनीले मार्सी चामलका नाममा कनिका, गुणस्तरहीन चामल किन्यो भन्ने अपजस आउन सक्ने सम्भावना बढेकोले यो वर्ष मार्सी धान र चामल खरिद प्रक्रिया अघि बढ्न नसक्ने सुनिश्चित भइसकेको प्रमुख सुनार बताउँछन्।  

कम्पनीको मापदण्ड अनुसार धान, चामल आएको खण्डमा खरिद गर्न सकिने अवस्था छ। पछिल्लो समयमा ब्लास्ट रोगको संक्रमणका कारण कालीमार्सी धानको उत्पादनमा गिरावट आएको छ। अहिले मार्सी जस्तै देखिने चन्दननाथ १ र चन्दननाथ ३ जातको धान पनि लगाउन थालिएको छ। तर यो चामलमा मार्सीको जस्तो गुणस्तर पुग्दैन। ‘जुम्लाको चामल खरिदबारे केन्द्रसँग परामर्श लिँदा धान पूरै रातो छैन, याद गर्नुस्, फस्नुहोला’ भनेपछि खरिद रोक्न बाध्य भएको कर्मचारी बताउँछन।  

कम्पनीको टोली मार्सी खोज्न बजारदेखि गाउँसम्म पुगेको थियो। कमैले मार्सी लगाएको देखियो। उन्नत जातको धानमा किसानको आकर्षण बढेको देखियो। कालीमार्सीको गुणस्तरबारे विज्ञसँग पनि परामर्श गरिएको कम्पनीले जनाएको छ।  

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जुम्लामा कालीमार्सी उत्पादन क्षेत्र बर्सेनि बढिरहको बताउँछन्। उनका अनुसार १३ सय हेक्टरमा कालीमार्सी लगाइन्छ। जुम्लाको सिँजा र तातोपानीमा बढी खेती छ। पछिल्लो समयमा मौसमले साथ दिएका कारण रोगको संक्रमण छैन। उनले भने, ‘यहाँ गुणस्तरीय मार्सी धान उत्पादन भइरहेको छ। उत्पादनसँगै मूल्य पनि राम्रै पाइरहेको छ। अब कृषिका कार्यक्रम कालीमार्सी धान केन्द्रित बनाउनुपर्छ। यहाँ ३३ सय मेट्रिक टन मार्सी धान उत्पादन भइरहेको छ। जुम्ली मार्सीप्रति किसान अग्रसर छन्,’ प्रमुख देवकोटा भन्छन्, ‘मार्सीधानको महत्व र मूल्यका विषयमा किसान आफैं सचेत छन्। मार्सीधानमा कुनै मिसावट छैन ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App