coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साझालाई फेरि विद्युतीय बस किन्न प्रस्ताव

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रूपैयाँ फिर्ता गर्ने निर्णय उल्टाउँदै फेरि उसैलाई बस खरिद गर्न प्रस्ताव गरेको छ। ६ माघ २०७६ को मन्त्रिपरिषद्को बैठकले बिजुली बस किन्न साझा यातायातलाई दिएको तीन अर्ब रूपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको थियो।  

त्यो बेला सरकारले साझाले निर्धारित समयभित्र बस सञ्चालन गर्न नसकेको भन्दै त्यसअघि आफूले उपलब्ध गराएको तीन अर्ब रूपैयाँ ब्याजसहित फिर्ता गर्ने निर्णय गरेको थियो। त्यसको एक वर्ष बित्दा पनि सरकारले बस ल्याउन नसकेपछि फेरि साझालाई नै प्रस्ताव गरेको हो। हालसालैको मन्त्रिपरिषद् बैठकले साझा यातायातलाई फेरि विद्युतीय बस किन्न प्रस्ताव गर्ने निर्णय गरेको हो।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दिपक भट्टराईले साझा यातायातलाई नै विद्युतीय बस खरिद गर्न लगाउने बताए। ‘सरकारले साझालाई उपयुक्त स्पेसिफिकेसन तयार पारेर विद्युतीय बस खरिद गर्न प्रस्ताव गरेको हो,’ उनले भने, ‘अब विद्युतीय बस खरिद गर्ने वातावरण बनेको छ।’  

२०७६ असार २४ र २९ गतेको मन्त्रिपरिषद् बैठकले साझा यातायात सहकारी लिमिटेडलाई तीन सयवटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्न सरकारबाट सेयर लगानीबापत तीन अर्ब रूपैयाँ उपलब्ध गराएको थियो।  

२०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थ मन्त्रालयले तीन अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो। साझा यातायात सहकारी संस्थाका कार्यकारी निर्देशक भूषण तुलाधरले सरकारले साझा यातायातलाई फेरि विद्युतीय बस खरिदको आवश्यक प्रक्रिया अघि बढाउन पत्र लेखेर अनुरोध गरेको बताए। ‘केही समयअघि सरकारले पत्र लेखेर विद्युतीय बस खरिदको प्रक्रिया अगाडि बढाउन भनेको छ,’ उनले भने, ‘सरकारले लिखित रूपमा प्रस्ताव गरेसँगै साझा यातायातले आवश्यक तयारी थालिसकेको छ।’  

साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधारको संयोजकत्वमा सात सदस्यीय समितिले बस खरिदको लागि आवश्यक स्पेसिफिकेसन र बोलपत्र तयार पार्न आवश्यक काम गरिरहेको छ। ‘डेढ वर्षअघि गठन भएको समितिलाई फेरि ब्युताँएर छलफल गरिरहेका छौं,’ उनले भने, ‘समितिले स्पेसिफिकेसन तथा बोलपत्र डकुमेन्ट तयार पारेर साझा यातायातको बोर्डमा सिफारिस गर्नेछ।’ कार्यकारी निर्देशक तुलाधरले एक महिनाभित्र विद्युतीय बसको स्पेसिफिकेसन तथा बोलपत्र डकुमेन्ट तयार हुने बताए। साझाले २० देखि ५० वटा विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ। ती विद्युतीय बसको लम्बाइ कम्तीमा नौ मिटर हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App